काठमाडौं- साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण गर्न र उद्यमशीलता विकास गर्नका लागि नेपाली कांग्रेसले नेपाल स्टार्टप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ। नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आगामी माघ १६ र १७ गते सम्मेलन गर्न लागेको हो।
आर्थिक रुपान्तरणलाई प्रवर्द्धन गर्न, लगानी प्रोत्साहन गर्न, डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्न, युवा उद्यमीलाई प्रोत्साहित गर्दै उद्यमशीलता विकासमा सहयोग पुर्याउन सम्मेलन आयोजना गरेको नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागका संयोजक तथा केन्द्रीय सदस्य उर्मिला थपलीयाले बताइन्।
‘साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको हो,’ थपलियाले भनिन्, ‘सम्मेलनमा उद्यमीले के कस्ता समस्या झेलिरहेका छन् र सम्भावना तथा अवसरको बारेमा पनि छलफल हुनेछ।’
विभागले आयोजना गरेको सम्मेलनमा नेपालमा उत्पादन गरेका वस्तुको प्रर्दशनी गर्नका लागि नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागका र नेपाल घरेलु तथा साना उद्योग महासंघकाबीच सहमति पत्रमा हस्ताक्षर गरेको छ। कांग्रेसकोतर्फबाट विभागकी संयोजक थपलिया र महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले हस्ताक्षर गरे।
सम्मेलनमा ८० वटा स्टल राख्ने आयोजकले जनाएको छ। स्टलमा महासंघले मुलुकभर उत्पादन भएका लघु तथा साना उद्योगले उत्पादन गरेका हस्तकला लगायतका वस्तुहरु प्रर्दशनीमा राख्ने सहमति भएको छ। कांग्रेसले नेपाली वस्तुको प्रवर्द्धन गर्नु सकरात्मक भएको महासंघका अध्यक्ष सिंहले बताए।
‘सम्मेलनले वस्तुलाई बजारसम्म पुर्याउन सघाउ पुग्नेछ,’ सिंहले भने, ‘मेड इन नेपाल अन्तर्गत उत्पादित वस्तुलाई निःशुल्क स्टल उपलब्ध गराउने कार्य सकरात्मक छ।’ राजनीतिक दलले उद्यमीलाई हौसला प्रदान गर्ने कार्यले उद्यमशीलता विकासमा सहयोग पुग्ने उनले बताए।
सम्मेलनमा नेपाली उद्यमशीलताको भविष्य र आर्थिक रुपान्त्रणका सम्भावनाका बारेमा समूहगत छलफल समेत आयोजना गरिएको थपलियाले बताइन्।
नेपालको आर्थिक संरचनामा सुधार ल्याउन, नवीनतम दृष्टिकोण र उद्यमशील रणनीतिको अन्वेषण गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। नवप्रवर्द्धन र उद्यमशीलताका माध्यमबाट अर्थतन्त्रलाई कसरी सवल बनाउने भन्नेमा विचार आदान प्रदान गर्ने थपलियाले बताइन्।
कार्यक्रममा समूह छलफलका लागि प्राथमिकताका क्षेत्र पनि तोकिएको छ। नवप्रवर्द्धन र उद्यमशीलता, नेपालमा लगानी, स्टार्टप र एसएमईको भविस्य, कृषि उद्यमशीलता अवसर र चुनौतीहरु, शिक्षा र जनशक्ति विकास आइटी क्षेत्रको लागि तयारी, महिला उद्यमशीलता समतामूलक आर्थिक विकासको दिशामा, गैरआवासीय नेपाली नेपालमा लगानी र आर्थिक वृद्धिको सम्बन्ध अवसर र चुनौतीहरु लगायतका विषयमा छलफल गर्ने नेपाली कांग्रेसले जनाएको छ।