शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो, आनुवंशिक स्रोतसमेत नष्ट हुने खतरा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २५ २०८१
images
images
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो, आनुवंशिक स्रोतसमेत नष्ट हुने खतरा

पर्वतमा कुन जडीबुटी कति परिमाणमा पाइन्छ भन्ने यकीन नभए पनि चोरीनिकासीकै कारण जडीबुटीको आनुवंशिक स्रोतसमेत नष्ट हुने खतरा बढेको जनाइएको छ।

images
images

पर्वत- आवश्यक संरक्षण र उपयोग गर्न नसक्दा पर्वतका वन क्षेत्रमा पाइने करोडौँ मूल्यका जडीबुटीको चोरीनिकासी बढ्दै गएको पाइएको छ। 

images
images
images

जडीबुटी संरक्षण, प्रवर्द्धन, संकलन र निकासी गर्ने आधिकारिक निकायको बेवास्ताका कारण दैनिकजसो चोरीनिकासी बढ्दै गएको हो। जिल्लाका उच्च पहाडी भेगमा रहेका जंगलमा बहुमूल्य औषधीय गुणयुक्त जडीबुटी प्रशस्तमात्रामा रहेको छ।

images
images

पर्वत जलजला र मोदी गाउँपालिकामा पर्ने हम्पाल क्षेत्र, मोदी र कुश्मा क्षेत्रमा पर्ने पञ्चासे, डहरे, चिसापानी, गोल्र्याङ ठूला जंगल क्षेत्र हुन्। यी क्षेत्रमा अल्लो, सत्तुवा, नागबेली, पाखनभेद, रक्तमूल, भूतकेश, चिराइतो, पदमचाल, बज्रदन्ते, लोठसल्ला प्रशस्तमात्रामा पाइन्छ।

images
images
images

यसैगरी सुनाखरी, चिराइतो, अर्गेली, टिमुर, ढकायो, चुत्रो, लोक्ता, सिल्टिमुर, धसिङ्ग्रे, खोटो, हर्रोबर्रोलगायत सयौँ प्रकारका जडीबुटीसमेत प्रशस्तै पाइन्छ। डिभिजन वन कार्यालय पर्वतका अनुसार जडीबुटी पकेट क्षेत्र तोकेर संरक्षण गर्न नसक्दा ठूलोमात्रामा नोक्सानी भइरहेको छ। 

पर्वतमा कुन जडीबुटी कति परिमाणमा पाइन्छ भन्ने यकीन नभए पनि चोरीनिकासीकै कारण जडीबुटीको आनुवंशिक स्रोतसमेत नष्ट हुने खतरा बढेको जनाइएको छ।

पर्वतको उत्तरी भेगमा पर्ने तीन हजार मिटर उचाइसम्म फैलिएका सामुदायिक वन सहस्रधारा सामुदायिक वन, खर्सुबास सामुदायिक वन, रेसापातल सामुदायिक वन, ठूला टाउका गैँडाखर्क सामुदायिक वन, छिपछिपे सिलिङ्गे सामुदायिक वनमा औषधीय जडीबुटी प्रजातिका वनस्पति पाइन्छ। 

पर्वतको मोदी-४ लेस्पारका ७३ वर्षीय वृद्ध टेकबहादुर पुनले जडीबुटीको प्रयोग गरी गाउँलेको उपचारसमेत गर्दै आएका छन्। पुनले चिन्ता व्यक्त गर्दै भने, 'पर्वतका सामुदायिक वनमा धेरै प्रकारका जडीबुटी पाइने भए पनि अहिले उचित संरक्षणको अभावले कतिपय नासिँदै गाएका छन् भने चोरी हुनेक्रम पनि बढेको छ।'

पहिले प्रशस्तै पाइने धेरै प्रकारका जडीबुटी अहिले थोरैमात्रामा देखिने गरेको उनको भनाइ छ। गाउँमा बस्ने मानिसको सङ्ख्या घट्दै जानु र भएकालेसमेत चासो नदिएका कारण बहुमूल्य जडीबुटी जोखिममा पर्दै गएको उनको गुनासो छ। 

खर्सुबास सामुदायिक वन उपभोक्ता समूह मोदी-४ क्याङका अध्यक्ष नरसिं पुनले जडीबुटीको उचित संरक्षण हुन नसक्दा धेरै प्रकारका जडीबुटी चोरीनिकासी हुने र जंगलमै खेरजाने तर गाउँलेलाई कुनै लाभ नहुने गरेको बताए। 

डिभिजन वन कार्यालय पर्वतका सहायक वन अधिकृत रामबहादुर विकले जिल्लामा वनजन्य जडीबुटी प्रशस्तै पाइने भएर पनि बजेट र कार्यक्रम नहुँदा यस क्षेत्रमा कुनै कार्य हुन नसकेको बताए।

वनजन्य जडीबुटीबाट आर्थिक लाभ लिन सबैभन्दा पहिले कुन स्थानमा कुन जातिको प्रजाति कतिमात्रामा पाइन्छ सोहीअनुसार पहिले पकेट क्षेत्र तोकिनु पर्दछ विकले भने, 'जडीबुटीको विस्तृत स्रोत सर्वेक्षण गरिनुहुन सकेको छैन।' 

डिभिजन वन कार्यालय, पर्वतमा चालु आर्थिक वर्षमा जडीबुटी संरक्षण र प्रवद्र्धनसम्बन्धी एउटै कार्यक्रम नसमेटिएको उनको भनाइ छ। जिल्लामा वन उपभोक्ता समूह गठन भइ १४ हजार चार सय २२ हेक्टर वन क्षेत्रमा करिब ४४ हजार एक सय चार घरधुरीका स्थानीय समुदाय वनसँग जोडिएको भए पनि अहिलेसम्म समुदायस्तरबाट जडीबुटी संरक्षण र प्रवर्द्धनमा प्रत्यक्ष जोडिएर आम्दानी गर्न नसकेको उनको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , पुस २५ २०८११०:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend