काठमाडौं- गत असोजको १० गते पछिको अविरल वर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीनसय ३१ रूपैयाँ बराबरको बीमा दाबी भएको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार, कुल तीन हजार छ सय ८६ वटा दाबीको आवेदन परेको छ। सोमध्ये हालसम्म एक हजार आठ सय नौ वटा दाबीको एक अर्ब ७८ करोड ८१ लाख ३८ हजार एकसय ५४ रूपैयाँ बराबर भुक्तानी भएको छ।
प्राधिकरणका अनुसार सम्पत्ति बीमामा एक हजार सात सय ७४ वटा दाबी परेको छ। नौ अर्ब २२ करोड २५ लाख ५६ हजार दुईसय २८ रूपैयाँ बराबरको दाबी सम्पत्ति बीमामा परेको छ।
यस्तै, इञ्जियिरिङ तथा ठेकेदार जोखिममा तीनसय २४ वटा दाबी परेको छ। त्यसमा दुई अर्ब ८४ करोड १९ लाख २६ हजार पाँचसय ९२ रूपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ। मोटर बीमा निजीतर्फ नौ सय ५४ वटा आवेदन परेको छ। त्यसमा ४१ करोड ५३ लाख ४४ हजार रूपैयाँ बराबरको दाबी रकम माग गरिएको छ।
मोटर बीमा सार्वजनिकतर्फ तीन सय ९३ वटाको आवेदन परेको छ। त्यसमा २८ करोड ९९ लाख १६ हजार रूपैयाँ बराबरको दाबी रकम माग भएको छ। सामुन्द्रिक बीमामा २३ वटा आवेदन परेको छ। त्यसमा चार करोड चार लाख ९७ हजार रूपैयाँ बराबरको रकम माग भएको छ।
पशुपक्षी बीमातर्फ ६० वटा आवेदन पर्दा तीन करोड ८२ लाख ५५ हजार दुईसय ६७ रूपैयाँ बराबरको रकम माग भएको छ। कृषि बाली बीमातर्फ एकसय ३७ वटा आवेदन पर्दा एक करोड पाँच लाख ९१ हजार छ सय ९५ रूपैयाँ बराबरको माग दाबी भएको छ। विविधतर्फ २१ वटा आवेदन पर्दा ७५ लाख ९९ हजार सात सय ६७ रूपैयाँ बराबरको माग दाबी भएको छ।
प्राधिकरणका अनुसार कोशीमा दुई सय ६७ दाबी परेकामा एक सय ५८ वटाको भुक्तानी भएको छ। मधेशमा एक सय आठ वटामा ३७ को मात्रै भुक्तानी भएको छ। वर्षा र बाढी प्रभावित बागमती प्रदेशमा तीन हजार दुई सय १३ माग दाबी रहेकामा एक हजार पाँच सय ८५ वटाको भुक्तानी भएको छ।
गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ। कर्णालीमा आठ वटा आवेदन पर्दा चार वटाको भुक्तानी भएको छ। त्यस्तै, सुदूरपश्चिममा छ वटा आवेदन पर्दा तीन वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ। रासस