काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन्।
आज सिंहदरबारस्थित मन्त्रालयमा नेपालका लागि इजरायलका राजदूत स्मुलिक वाससँग भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र इजरायलबीच ६५ वर्षदेखिको मैत्रीपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै दुई मुलुकबीच भएको कृषि क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता नवीकरणका लागि पहल गर्न राजदूतसमक्ष आग्रह गरे।
मन्त्री अधिकारीले नेपाल र इजरायलबीच सम्झौता भइ कार्यन्वयनमा आएको ‘कमाउ र सिक’ कार्यक्रमले नेपाली युवाहरुलाई अवसर सृजना गरेको भन्दै यसलाई पुनः निरन्तरता दिन आग्रह गरे।
इजरायलले नेपाली विधार्थीहरुलाई उपलब्ध गराउँदै आएको छात्रवृत्तिले नेपालको कृषि क्षेत्रमा महत्वपूर्ण सहयोग पुगेको भन्दै मन्त्री अधिकारीले नेपालको कृषिको विकासका लागि इजरायल सरकारसँग भएको सम्झौताअनुरुप सेन्टर फर एक्सिलेन्स स्थापनाका लागि क्षेत्रहरुको छनौट भइसकेकाले सेन्टर स्थापनाका लागि पहल गर्न राजदूतसमक्ष आग्रह गरे।
करिब ५ हजार नेपालीहरु हाल इजरायलमा कार्यरत रहेको र यसबाट उनीहरुको जिवनस्तरमा समेत सुधार आएको भन्दै मन्त्री अधिकारीले आगामी दिनमा देश र जनताको पारस्परिक हितका लागि बहुपक्षीय सहयोग जारी रहने अपेक्षा व्यक्त गरे।
त्यस क्रममा राजदूत वासले इजरायलले नेपालको कृषि क्षेत्रमा प्रविधि हस्तान्तरणमार्फत आगामी दिनमा थप सहकार्य गर्न चाहेको बताए। राजदूत वासले यसै वर्ष नेपालले छनौट गरेका क्षेत्रमा कृषिका लागि सेन्टर फर एक्सिलेन्स स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
कृषि क्षेत्रमा नेपाली कामदार लैजान सकिने सम्भावना रहेको भन्दै राजदूत वासले कृषि क्षेत्रको विकासका लागि विगतमा दुई देशबीच भएका सहमतिहरुको कार्यन्वयनमा आफूले ध्यान दिने पनि राजदूत वासले बताए।