काठमाडौं- अंग्रेजी नयाँ वर्ष २०२५ को सुरुवातसँगै प्रभु बैंक लिमिटेडले स्वचालित काउन्टर प्रभु डिजिटल क्युब सञ्चालनमा ल्याएको छ। विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
उक्त काउन्टरमार्फत क्यास डिपोजिट, क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटीएम तथा विभिन्न किओस्क मेसिनको माध्यमबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लियरिङ चेक जम्मा गर्न, खाताको स्टेटमेन्ट प्रिन्ट गर्न सकिनेलगायतका सेवाहरु ग्राहक आफैले प्राप्त गर्नसक्ने व्यवस्था मिलाइएको छ।
यस सेवाको सुरुवातसँगै कार्यालय समय कुरेर काउन्टर लाइन लागि बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको बैंकले जनाएको छ।
बैंकका अनुसार हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकताअनुसार अन्य स्थानमा समेत विस्तार गरिनेछ।
साथै यस नवीनतम सेवाबाट ग्राहकले पर्याप्त लाभ उठाउन सक्ने बैंकको विश्वास छ।