काठमाडौं- बिजनेस भेन्चर मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन न्युज पोर्टल 'बिजनेस न्युज डटकम' पाठकहरूको चाहनाअनुसार अंग्रेजी भाषामा पनि सुरू भएको छ। अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर बिजनेस न्युजले अंग्रेजी संस्करण सुरू गरेको हो।
आर्थिक नीति निर्माता, निजी क्षेत्र र उपभोक्ताका मुद्दा समेटेर अर्थतन्त्रका विविध पक्षमा विश्वसनीय समाचार सम्प्रेषण गर्दैगर्दा भाषागत फराकिलोपनले अझै व्यापकरुपमा आम प्रयोगकर्तासम्म पुग्न सकिने विश्वास बिजनेस न्युजले लिएको छ।
प्रतिस्पर्धामा आधारित आर्थिक नीति, उपभोक्ता हित र अर्थतन्त्रको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर अंग्रेजी भाषामा समेत समाचार, आलेख, विचार तथा अन्य सामग्री प्रकाशन तथा प्रसारण सुरु गर्नु वृहत सुरुवात भएको बिजनेस न्युजका कार्यकारी सम्पादक केदार दाहालले बताए।
'हामीले उठान गरेर निचोडमा पुर्याएका विषयवस्तुका साथै समग्र समाचार सामग्रीमा पाठकहरूको साथ र हौसलाले बिजनेस न्युजलाई नेपालको आर्थिक पत्रकारितामा मूलधारका रुपमा उभ्याउन सफल भएको अनुभव गरेका छौँ, अंग्रेजी संस्करणले यसमा थप ईंटा थपिनेछ' उनले भने।