काठमाडौं- संसारका लागि सन् २०२४ लोकतन्त्रको अधिकतम उपयोग भएको वर्षका रुपमा रह्यो। संसारधा ठूला देशका एकै वर्ष जनताले निर्वाचनबाट ताजा जनमत दिने अवसर पाए। पछिल्ला केही वर्षदेखिको आर्थिक शिथिलता र मूल्यवृद्धिले थला परेका जनताले सत्तारुढलाई चुनावमा हराए। सन् २०२४ मा भएका अधिकांश चुनावमा सत्तारुढ दल र नेता हार्न पुगे भने कतिपय सरकार ढले।
बेलायत, पोर्चुगल, फ्रान्स, जापान जस्ता मुलुकमा भएका चुनावबाट सत्तारुढहरू हारे भने भारतमा पनि सत्तारुढको समर्थन सीमित भयो। सन् २०२४ को सबैभन्दा चर्चित चुनाव भने सयुक्त राज्य अमेरिकाको भयो। सन् २०२५मात्र होइन आगामी चार वर्षलाई विश्व व्यवस्थामै प्रभाव पार्नसक्ने भएकाले अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पले चुनाव जिते।
मूल्यवृद्धि र उच्च ब्याजदरको मुख्य मुद्दा लिएर चुनाव भएका अधिकांश विकसित र शक्तिशाली मुलुकमा सन् २०२४ मा चुनाव भयो। आर्थिक संकटका परकम्प संसारका विकसित अर्थतन्त्रमा अझैसम्म देखिएका छन्। जर्मनीको सरकार ढलेको छ भने अन्य कयौं मुलुकमा उथुलपुथल भएको छ।
सन् २०२४ मा मध्यपूर्वमा युद्ध शिथिल हुनुको साटो अझै चर्किने जोखिम बढेको छ भने रुस युक्रेन युद्ध पनि जारी रह्यो।
सन् २०२४ मा अर्थतन्त्र पूरै संरक्षणवादतर्फको यात्रामा निरन्तर रह्यो। अमेरिका चीन व्यापारयुद्ध झन चर्कियो भने रसियामाथिको पश्चिमा प्रतिवन्धले निरन्तरता पायो। मध्यपूर्वमा अशान्तिका बाबजुद विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्न पाएन। सयुक्त राज्य अमेरिका पेट्रोलियम पदार्थको निर्यातकर्ताका रुपमा झन् बलियो भएर आयो।
मूल्यवृद्धि, ब्याजदर र बेरोजागरीले संसारका विकसित तथा शक्तिशाली मुलुक समस्यामा परिरहे। व्यापारमा अवरोध तथा बढ्दो लागतले गरिब तथा विकासोन्मुख मुलुक पनि यसबाट प्रभावित भएका छन्।
प्रविधिको क्षेत्रमा भने सन् २०२४ को अन्त्यसम्म आगामी भविष्यकया लागि युगान्तकारी केही कदम अघि बढे। डिसेम्बरमा आएर गुगलले क्वान्टम चिपको घोषणा गरेको छ। यसले कम्प्युटिङमा क्रान्ति ल्याउनसक्ने विश्वास गरिएको छ। आर्टिफिसियल इन्टेलिजेन्सको व्यापकता, अन्तरिक्ष अन्वेषण र साइबर आक्रमणको श्रृखला पनि बढेका छन्।
सन् २०२४ मा संसारका हटस्पटमा भएका युद्धले जल र थलमार्गमात्र होइन हवाइमार्गलाई पनि संकुचित बनाइदिएका छन्। यसले गर्दा ढुवानी महंगियो भने यात्रा असुरक्षित भयो। सन् २०२४ मै संसारमा ठूला हवाइ दुर्घटना भए।
मूल्यवृद्धि र बेरोजगारीको मुद्दा लिएर संसरका धनी देशमा भएका चुनाव सकिएका छन्। तर पनि निर्वाचित सरकारहरूले भने त्यो समाधान गर्ने सम्भावना न्यून छ।
ट्रम्पको उदयले विश्व अर्थव्यवस्थामै उथलपुथलको जोखिम!
सन् २०२५ मात्र होइन आगामी केही वर्ष विश्व अर्थव्यवस्थामा तनाव बढ्ने जोखिम झन बढेको छ। अहिलेसम्मका विश्व अर्डरलाई चलाइरहेका संघस्थादेखि कयौं कुरामा प्रभाव पर्नसक्ने विश्लेषण हुन थालेको छ।
अमेरिकामा निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन घोषणा गरेका छन् यसले अमेरिकाको प्रतिद्वन्दी देशमात्र होइन स्वयम् अमेरिकालाई पनि प्रभाव पार्नेछ। ट्रम्पले चीनबाट अमेरिका हुने आयातमा सय प्रतिशतसम्म महसुल लगाउने घोषणा गरेका छन्। अमेरिकी प्रविधाथिको चिनियाँ पहुँचलाई अझै कडाइ गर्ने उनको घोषणा रहेको छ। यदि यो कार्यान्वयन भएको अवस्थामा यसले चीनलाई त प्रभावत पार्ने नै छ सँगै अमेरिकालाई पनि प्रभावित पार्ने छ।
यस्ता नीतिले नेपाल जस्ता गरिब मुलुकसम्म प्रभाव विस्तार हुन्छ। जस्तो विद्युतीय गाडीमाथिको कर बढ्दै गयो भने पश्चिमा बजार चिनियाँ उत्पादनका लागि सीमित हुनेछ। चीनले नयाँ बजार खोज्न तथा पश्चिमा बजारमै ठाउँ बनाउनका लागि मूल्य सस्तो बनाउनसक्ने छ। यसो हुँदा नेपाली बजार पनि लभान्वित हुनसक्छ।
अमेरिका र चीनबीचको व्यापार युद्धले विश्वमा ध्रवीकरण अझ तीव्र बनाउनेछ।
अमेरिकालाई राम्रो बनाउने नाममा अवैध आप्रवासीलाई लखेट्ने ट्रम्पको नीतिले अमेरिकी अर्थतन्त्र नै झन सानो हुने विश्लेषण गरिएको छ। कम्तिमा ३० लाख मान्छेलाई अमेरिकाबाट निकाल्दा सन् २०२८ सम्म अमेरिकी अर्थत्नत्र अहिलेको तुलनामा ४ प्रतिशतसम्मले सानो हुनसक्ने प्रक्षेपण गरिएको छ।
अमेरिकाले विश्वमा प्रभाव विस्तार गर्ने विश्व बैंक जस्ता संस्थाको अहिलेसम्मको नीतिमा परिवर्तन हुनसक्ने अनुमान गरिएको छ। जलवायु परिवर्तन लक्षित लगानीलाई जोड दिन थालेको विश्व बैंककव नेतृत्वसम्म नै परिवर्तन हुने र नीति पनि परिवर्तन हुने अनुमान गरिएको छ। ट्रम्पले जलवायु सम्बन्धि अहिलेको सहुलियत नीतिको विरोध गरेका छन्। यदि विश्व बैंकको नीति परिवर्तन भयो भने नेपाल जस्त मुलुक पनि त्यसबाट प्रभावित हुनेछन्।
ट्रम्पको उदयसँगै क्रिप्टोकरेन्सीको स्वर्णकाल सुरू हुने अनुमान गरिएको छ। अमेरिकालाई धर्तीकै क्रिप्टो राजधानी बनाउने घोषणा गरेका ट्रम्पले त्यस अनुसारका केही नियुक्तिको सिफारिस पनि गरेका छन्। उनकै परिवारले क्रिप्टो क्याम्पियन पनि सुरू गरिसकेको छ।
सन् २०२४ को अमेरिकी चुनावमा प्रभावशाली भूमिका खेलेका संसारकै धनाढ्य एलन मस्क धेरैको चसाो हुनेछन्। यसअघि ट्विटर किनेर त्यहीबाट प्रभाव विस्तार गरेको अनुमान गरिएका मस्कले राष्ट्रपति ट्रम्पसँग मिलेर के कस्तो लाभ लिन्छन् र नियन्त्रित अल्गोरिौमबाट उनले विश्वका अन्य व्यसव्थामा कसरी प्रभाव विस्तार गर्छन् भनेर धेरैको ध्यान जाने छ।
रूस युक्रेन युद्ध साम्य हुने, इरानमाथि थप आक्रमण हुनसक्ने कतिपययको भविष्यवाणि रहेको छ।