शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

फास्ट ट्रयाक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने

images
मंगलबार, पुस १६ २०८१
images
images
फास्ट ट्रयाक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना सञ्चालनमा नआएसम्मका लागि ढोर्सिङ्ग सबस्टेसनमा पावर ट्रान्सफर्मर थप्ने र ढोर्सिङ्ग-माण्डु लाइनलाई ११ केभीमा चार्ज गरी फास्ट ट्रयाकलाई विद्युत् आपूर्ति दिनु तत्कालका लागि उपयुक्त विकल्प भएको बताए।

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८ माण्डु माल्टाबेँसी र इन्द्रसरोबर गाउँपालिका-३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिने भएको छ।

images
images
images

विद्युत् अभावमा फास्ट ट्रयाकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको छ। उक्त क्षेत्रका बासिन्दाको विद्युत् आपूर्तिमा भने कुनै समस्या छैन।  

images
images

फास्ट ट्रयाकको माण्डु माल्टाबेँसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङ, सुरुङलगायतका संरचना निर्माणका लागि आवश्यक विद्युत् अभावमा निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको छ। फास्ट ट्रयाकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट विद्युत् आवश्यक पर्नेछ। त्यस क्षेत्रमा चार प्याकेजमा निर्माण भइरहेको छ।

images
images
images

विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाअन्तर्गत कुलेखानी पहिलो जलविद्युत केन्द्र ढोर्सिङ्गबाट माण्डुसम्मको पहिले चालू रहेको ६६ केभी लाइनलाई ११ केभीमा सञ्चालनमा ल्याइने छ। काठमाडौंमा जगेडामा रहेको २२.५ एमभिएको पावर ट्रान्सफर्मरलाई ढोर्सिङ्ग सबस्टेसनमा लगेर त्यहाँ जडान गरी सोहीमार्फत फास्ट ट्रयाकका लागि आवश्यक विद्युत् आपूर्ति दिइनेछ।

ढोर्सिङ्ग सबस्टेसनमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि हाल ५ एमभिए क्षमताको पावर ट्रान्सफर्मर पूर्ण भारमा चालु रहेकाले थप विद्युत् प्रवाह गर्न नसकिने हुँदा अर्को ठूलो क्षमताको ट्रान्सपर्मर थप्न लागिएको हो।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले माण्डु हाइड्रोपावर लि.ले सञ्चालन गरेको २२ मेगावाटको बागमतीखोला साना जलविद्युतको विद्युत गृहलगायतका संरचनामा ठूलो क्षति पुर्‍याइ विद्युत विद्युत् उत्पादन बन्द हुँदा त्यसपछि फास्ट ट्रयाकअन्तर्गत उक्त खण्डमा विद्युत आपूर्ति हुन सकिरहेको छैन। बागमती नदीमा आएको बाढीले आयोजनाबाट उत्पादित विद्युत प्रवाह गर्ने स्वीचयार्ड र त्यहाँ प्राधिकरणले राखेको पावर ट्रान्सफर्मरलगायतका उपकरणसमेत बगाइदिएको थियो।

आयोजनाबाट उत्पादित विद्युत् ६६ केभी प्रसारण लाइनमार्फत ढोर्सिङ्ग र ३३ केभी लाइनमार्फत ललितपुरको माल्टा सबस्टेसनतर्फ प्रवाह गरिएको थियो। माल्टा सबस्टेसनबाट ११ केभी लाइनमार्फत फास्ट ट्रयाकलाई आपूर्ति दिइएको थियो। माल्टा सबस्टेसनमा ललितपुरमै सञ्चालनमा रहेको अर्को २ मेगावाटको खानीखोला जलविद्युत आयोजना पनि जोडिएको थियो।

तर, बाढीपहिरोले खानीखोलामा पनि क्षतिपुगेपछि माल्टा सबस्टेसन विद्युत् स्रोतविहीन बनेको थियो। जसका कारण फास्ट ट्रयाकको विद्युत् आपूर्ति बन्द भएको थियो। अहिले दुवै आयोजनाहरको पुनर्निर्माण चलिरहेको छ। 

विद्युत आपूर्ति नहुँदा फास्ट ट्रयाक निर्माणमा समस्या भएको नेपाली सेनाले जानकारी गराएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाललगायत सम्मिलित उच्चस्तरीय टोलीले सोमबार माण्डु माल्टाबेँसी क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो।

टोलीले पुनर्निर्माण भइरहेको बागमतीखोला साना जलविद्युत आयोजना र ढोर्सिङ्ग सबस्टेसनको भ्रमण गरी तत्काल विद्युत् आपूर्ति गर्न सकिने विभिन्न विकल्पकहरुमा सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरेको थियो। आयोजनाको पुनर्निर्माण आगामी चैत्रभित्र सक्ने गरी काम भइरहेको छ। उक्त आयोजना सञ्चालन आएपछि पुरानै व्यवस्थाअनुसार विद्युत् आपूर्ति दिइनेछ। 

कार्यकारी निर्देशक घिसिङले आयोजना सञ्चालनमा नआएसम्मका लागि ढोर्सिङ्ग सबस्टेसनमा पावर ट्रान्सफर्मर थप्ने र ढोर्सिङ्ग-माण्डु लाइनलाई ११ केभीमा चार्ज गरी फास्ट ट्रयाकलाई विद्युत् आपूर्ति दिनु तत्कालका लागि उपयुक्त विकल्प भएको बताए।

‘हाम्रो कारणले राष्ट्रिय गौरवको आयोजनाको काम प्रभावित हुनु हुँदैन, अहिले यहाँ आपूर्ति दिन विद्युत् स्रोतको अभाव हो, बाढीले क्षति पुर्‍याएका जलविद्युत आयोजनाहरुबाट विद्युत् उत्पादन सुरु नभएसम्मका लागि वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिनुपर्छ, यसका लागि तत्काल काम सुरु गरौ,’ घिसिङले उल्लेख गरे। 

उपकार्यकारी निर्देशक सिलवालले लाइन पुनर्स्थापनाका लागि स्थानीयरुपमा गर्नुपर्ने आवश्यक काम तत्काल अगाडि बढाउन पालुङ र हेटौँडा वितरण केन्द्र प्रमुखहरुलाई निर्देशन दिए। 


प्रकाशित : मंगलबार, पुस १६ २०८११२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend