काठमाडौं- खनिज पदार्थ भण्डारण गर्ने तथा जम्मा गर्ने स्थलमा खनिज कार्यको परिमाणको नाप गर्ने यथोचित यन्त्रहरू (तौलपुल) जडान नगर्नेले खनिज उत्खनन् गर्न नपाउने भएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत खानी तथा भूगर्भ विभागले खनिज पदार्थ भण्डारण गर्ने तथा जम्मा गर्ने स्थलमा खनिज कार्यको परिमाण नाप गर्ने यथोचित यन्त्र (तौलपुल) नराख्ने उद्योगलाई खनिज उत्खनन् गर्न प्रतिबन्ध लगाएको हो।
विभागले पुस ७ गते सूचना जारी गर्दै खनिज कार्यको परिमाणको नाप गर्ने यथोचित यन्त्रहरू (तौलपुल) जडान नगर्नेहरूले अर्को निर्देशन नभएसम्म कुनै उत्खनन्/खानी सञ्चालन नगर्न नगराउन र खनिज कार्य स्थगन गर्न भन्दै सूचना जारी गरेको हो।
गत असार १० गते विभागले खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को नियम १९ को देहाय (ङ) बमोजिम खनिज पदार्थ भण्डारण गर्ने तथा जम्मा गर्ने स्थलमा खनिज कार्यको परिमाणको नाप गर्ने यथोचित यन्त्रहरू (तौलपुल) जडान गरी सञ्चालन आएको जानकारी नगराएका खानीहरूको उत्खनन्/सञ्चालन स्थगन गरिएको भन्दै सूचना जारी गरेको थियो।
तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संघीय संसद प्रतिनिधि सभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति निर्देशन बमोजिम उद्योग स्थलमै रहेको तौलपुल प्रयोग गरी उत्खनित खनिजको परिमाण मापन गर्ने गरी ६ महिना समय थप गर्न निर्देशन दिएको थियो। सोहीअनुसार विभागले समय थप गरेको थियो।
तर ६ महिनाको थप भएको समयमा पनि कतिपय खानी सञ्चालकहरूले तौलपुल राखेको जानकारी नगराएको भन्दै विभागले उत्खननमा नै प्रतिबन्ध लगाएको हो।
विभागले खनिज पदार्थको अनियन्त्रित दोहन रोक्नका लागि उत्खनन् गर्न लाइसेन्स लिएका कम्पनीहरूले अनिवार्यरुपमा मापन गर्ने तौलपुल राख्नुपर्ने व्यवस्था कार्यान्वयनमा लैजान लागेको हो।
उत्खनन् अनुमतिपत्र प्राप्त गरी नियमानुसार खनिज पदार्थ उत्खनन कार्यको स्वीकृति प्राप्त गर्ने व्यक्ति/कम्पनीहरूले विद्यमान खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को नियम १९ को (ङ) बमोजिम खनिज पदार्थ भण्डार गर्ने तथा जम्मा गर्ने स्थलमा खनिज कार्यको परिमाणको नाप गर्ने यथोचित यन्त्रहरू राख्नुपर्ने कानूनी व्यवस्था छ।
तौलपुल तथा मापन गर्ने यन्त्र राख्नुपर्ने कानूनी व्यवस्था भए पनि कतिपय कम्पनीहरूले मापन यन्त्र नराखेको अनुगमनबाट फेला परेको समेत विभागले जनाएको छ। विभागबाट उत्खनन् अनुमतिपत्र जारी गर्दाको समयमा नै अनिवार्यरुपमा तौलपुलको व्यवस्था गर्नुपर्ने समेतको सर्त तोकिने गरेको छ। तर कतिपय उद्योगहरूले त्यसको पालना गरेका थिएनन्।
उत्खनन् अनुतिपत्र जारी गरिएका खानी क्षेत्रमा विभागीय अनुगमनको क्रममा कतिपय खानी सञ्चालकहरूले सम्पूर्ण प्रक्रिया पूरा गरी उत्खनन्/उत्पादन गरी उत्खनित खनिज पदार्थको परिमाण यकिन गर्न खानीद्वारमा तौलपुलको व्यवस्था नगरेको पाइएको विभागले जनाएको छ। अनिवार्य रुपमा तौलपुलको व्यवस्था गर्न र सोको जानकारी विभागलाई गराउन पटकपटक निर्देशन दिइएता पनि कम्पनीहरूले पालना नगरेको विभागको ठहर छ।
विभागको निर्देशन हालसम्म पालना नगरेको तथा कतिपय खानी सञ्चालकहरूले खानीद्वारमा तौलपुलको व्यवस्था नगरी अन्य स्थानमा लगेर तौल यकिन गरी सोबमोजिम रोयल्टी दाखिला गरेको पाइएको समेत विभागले जनाएको छ।
विभागको निर्देशन तथा कानूनअनुसार काम नभएको अवस्थामा प्रचलित खानी तथा खनिज पदार्थसम्बन्धी कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने विभागले चेतावनी दिएको छ।