काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरुलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन्।
सडक बोर्ड नेपालको २२औँ स्थापना दिवसको अवसरमा सोमबार बोर्डमा आयोजित कार्यक्रममा उनले सडक तथा पूर्वाधारलाई आर्थिक समृद्धिसँग जोड्न आवश्यक रहेको बताए। अब बन्ने संरचनाहरुले देशको समृद्धि यात्रामा कति महत्व राख्छन् भन्ने विषयलाई ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो।
नेपाल अझै पनि निर्माणकै चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले अब बन्ने संरचनाहरुलाई दिगो, सुरक्षित र उपयोगी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए।
जनजीविका, राजश्व संककल, आर्थिक क्रियाकलाप तथा वृहत जनसंख्या र भूगोललाई प्रत्यक्ष फाइदा पुर्याउने योजनाहरुमा मन्त्रालयले प्राथमिकता दिएको भन्दै मन्त्री दाहालले अब कुनै पनि संरचना निर्माण गर्दा प्राथमिकता निर्धारण गर्नुपर्ने समेत बताए। कार्यक्रममा मन्त्री दाहालले सडक बोर्डअन्तर्गत रहेका रुग्ण ठेक्काहरुको शीघ्र व्यवस्थापन गर्न निर्देशन दिँदै सडक मर्मतसँगै अनुगमनलाई समेत प्रभावकारी बनाउन आग्रह गरे।
बोर्डका अध्यक्ष मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले आर्थिक वृद्धिको प्रमुख आधार सडक समेत भएकाले आर्थिक विकास र वृद्धिलाई सहयोग पुग्नेगरी सडक सञ्जाल विस्तार गर्नु पर्ने बताए। पूर्वाधारमा गरिएको लगानीले दीर्घकालीन प्रतिफल दिने भएकाले कुनै पनि पूर्वाधार तथा संरचना निर्माण गर्दा स्थायित्व र गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए।
बोर्डका कार्यकारी निर्देशक गणेश केसीले बोर्डलाई स्वायत्त बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका थिए।
कार्यक्रममा बोर्डका पूर्वसदस्यहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा बोर्डको गत आर्थिक वर्षको प्रतिवेदनसमेत सार्वजनिक गरिएको थियो। रासस