काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ।
बैंक पुस १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको १८औँ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गर्दैछ। १८औँ वार्षिकत्सवको अवसरमा बैंकले प्रत्येक प्रदेशको विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दैछ।
उक्त सचेतना कार्यक्रममा बैंकले आधारभूत बैंकिङ सेवा, डिजिटल/नवीनतम बैंकिङ सेवाहरु, बैंकिङ विवरण सुरक्षित राख्ने उपायलगायत विभिन्न बैंकिङ शिक्षाको बारेमा जानकारी प्रदान गर्नेछ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको जनाएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।
ग्लोबल आईएमई बैंकले मुलुकको ७७ वटै जिल्लामा रहेका ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २ सय ३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।
बैंकले विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको जनाएको छ।