शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

चालु आवको अर्धवार्षिक समीक्षाअगावै काठमाडौं महानगरले थाल्यो बजेट संशोधन

images
आइतबार, पुस १४ २०८१
images
images
चालु आवको अर्धवार्षिक समीक्षाअगावै काठमाडौं महानगरले थाल्यो बजेट संशोधन

संशोधित प्रस्तावअनुसार आर्थिक विकासको क्षेत्रमा बजेट घटाएर ७२ करोड ४३ लाख ७१ हजार रूपैयाँ बजेट कायम गर्न लागिएको छ। सो क्षेत्रमा यसअघि ७२ करोड ९९ लाख ७१ हजार रूपैयाँ विनियोजन भएको थियो।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षाअगावै काठमाडौं महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ। काठमाडौं महानगरपालिका नगरसभाको १६ औँ अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले चालु आवको बजेटको कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव पेस गरेकी हुन्।

images
images
images

'महानगरपालिकाको वार्षिक खरिद योजना र चौमासिक प्रगति विवरणअनुसार चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रमअनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रमहरु हेरफेर गर्न जरुरी देखिएको छ', उपप्रमुख डंगोलले भनिन्, 'विनियोजित बजेटमा कुनै योजना सञ्चालन गर्न नसकिने, कतिपय आर्थिक कार्यविधिअनुसार समय लाग्ने, कतिपय बहुवर्षीय योजनाअन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएका र केही अत्यावश्यक योजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले यो संशोधन प्रस्ताव पेस गर्नुपरेको हो।'

images
images

संशोधन बजेट प्रस्ताव गर्दा विषय विज्ञ, महानगरपालिकाका विषयगत समिति एवं अन्य विभिन्न समितिहरुमा छलफल तथा विश्लेषण गरी बजेट तथा कार्यक्रम तर्जुमा समिति र कार्यपालिका बैठकबाट सर्वसम्मत रुपमा पास गरी नगरसभामा पेस गरिएको उपप्रमुख डंगोलले बताइन्। आर्थिक वर्षका लागि विनियोजित कुल बजेट रकम, चालुगत तथा पुँजीगत खर्च रकममा कुनै थपघट नगरी क्रियाकलापमा मात्र संशोधनको प्रस्ताव पेस गरेको नगरसभामा उनले स्पष्ट पारिन्।

images
images
images

संशोधित प्रस्तावअनुसार आर्थिक विकासको क्षेत्रमा बजेट घटाएर ७२ करोड ४३ लाख ७१ हजार रूपैयाँ बजेट कायम गर्न लागिएको छ। सो क्षेत्रमा यसअघि ७२ करोड ९९ लाख ७१ हजार रूपैयाँ विनियोजन भएको थियो।

कार्यालय सञ्चालन तथा प्रशासनीक क्षेत्रमा तीन अर्ब ७० करोड ५३ लाख ८ हजार रूपैयाँ विनियोजन भएकोमा त्यसलाई बढाएर तीन अर्ब ७२ करोड ६८ लाख ४२ हजार रूपैयाँ कायम गर्ने प्रस्ताव गरिएको छ। 

त्यस्तै, पूर्वाधार विकासको क्षेत्रमा १२ अर्ब एक करोड ९३ लाख ९१ हजार पाँचसय रूपैयाँ बराबर वार्षिक विनियोजन रहेकोमा त्यसलाई घटाएर ११ अर्ब ८७ करोड ५१ लाख ३८ हजार ५ सय रूपैयाँ कायम गर्ने प्रस्ताव गरिएको छ।

सामाजिक विकासका क्षेत्रमा यसअघि पाँच अर्ब ४८ करोड ८६ लाख ६९ हजार पाँचसय रूपैयाँ विनियोजन भएकोमा त्यसलाई घटाएर पाँच अर्ब ३५ करोड ३३ लाख ८८ हजार ५ सय रूपैयाँ कायम गर्ने प्रस्ताव गरिएको छ।

त्यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा चालु आर्थिक वर्षका लागि दुई अर्ब २२ करोड ६५ लाख ८५ हजार रूपैयाँ बराबर बजेट कायम गर्ने प्रस्ताव महानगरले गरेको छ। उक्त क्षेत्रमा यस अघि दुई अर्ब ९६ करोड २९ लाख ८५ हजार रूपैयाँ विनियोजन भएको थियो।

पाँच महिनामा १६ प्रतिशत बजेट खर्च

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट खर्च कार्यान्वयनमा भने कमजोर देखिएको छ। चालु आर्थिक वर्षका लागि महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रूपैयाँ बराबरको बजेट ल्याएकोमा पुस ११ गतेसम्म चार अर्ब एक करोड चार लाख ५६ हजार रूपैयाँ बराबर खर्च भएको उपप्रमुख डंगोलले नगरसभालाई जानकारी गराइन्। हालसम्मको बजेट खर्च कुल विनियोजनको १६ दशमलव १० प्रतिशत हो। 

महानगरपालिकाले हालसम्म चालु शीर्षकमा २३ दशमलव ५८ प्रतिशत र पुँजीगत खर्च १० दशमलव ९२ प्रतिशत खर्च भएको छ।

'हालसम्म पूर्वाधार विकासमा १२ दशमलव १३ प्रतिशत, आर्थिक विकासमा २४ दशमलव १८ प्रतिशत, सामाजिक विकासमा १२ दशमलव २३ प्रतिशत खर्च भएको छ', उपप्रमुख डंगोलले भनिन्, 'त्यसैगरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ सात दशमलव ९२ प्रतिशत खर्च भएको देखिएको छ। कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा वढी ३६ दशमलव ५४ प्रतिशत खर्च भएको देखिन्छ।'

महानगरपालिकाले चालु आर्थिक वर्षमा १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रूपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो। यही पुस ११ गतेसम्म कुल चार अर्ब नौ करोड ८९ लाख ३६ हजार बराबर राजस्व प्राप्त भएको महानगरपालिकाले जनाएको छ। जसमा आन्तरिक राजस्वतर्फ कुल दुई अर्ब ६१ करोड ५५ लाख ४३ हजार संकलन भएको छ भने राजस्व बाँडफाँटबाट ५९ करोड ८९ लाख ४१ हजार रूपैयाँ र संघ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान ८८ करोड ४४ लाख ५१ हजार रूपैयाँ रहेको छ। हालसम्मको कुल राजस्व संकलन वार्षिक लक्ष्यको ३१ दशमलव ०७ प्रतिशत हुन आउँछ भने आन्तरिकतर्फ कुल लक्ष्यको ३२ दशमलव ५५ प्रतिशत प्रगति भएको देखिन्छ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको प्रारम्भिक नतिजामा काठमाडौं महानगरपालिकाले ८२ दशमलव ७५ अंक प्राप्त गरेको पनि उपप्रमुख डंगोलले बताइन्। यो अंक काठमाडौं महानगरपालिकाले पाएको हालसम्मकै उच्च अंक हो। रासस


प्रकाशित : आइतबार, पुस १४ २०८११६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend