भोजपुर- सिँचाइका लागि पानीको समस्या भएपछि भोजपुरको पूर्वी अरुण गाउँपालिका-७ सिक्रेटारले पोखरी निर्माण सुरु गरेको छ। वडाले अहिले एक टोल एक सिँचाइ पोखरीको अवधारणाअनुसार काम गरिरहेको वडाध्यक्ष कुमार थापाले बताए।
उनले भने, 'सिँचाइका लागि पानी अभाव भएपछि पानी संकलनका लागि पोखरी प्रभावकारी हुने देखिएको छ, यो अभियान एक टोल एक सिँचाइ पोखरीको अवधारणाअनुसार भइरहेको छ।'
पोखरी निर्माणले किसानको सिँचाइ आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य वडाले राखेको छ। पोखरीको लम्बाई १५ मिटर, चौडाई ८ मिटर, र गहिराई दुई दशमलब ३० मिटर तोकिएको छ।
पोखरी निर्माण उपभोक्ता समितिमार्फत भइरहेको छ। अबको केही दिनभित्रमा नै निर्माण पूरा गर्ने गरी काम भइरहेको जनाइएको छ।
स्थानीय स्रोतसाधनको दिगो उपयोगलाई प्रोत्साहन गर्ने र सिँचाइ प्रणालीलाई प्रभावकारी बनाउने बताउँदै वडाध्यक्ष थापाले पानीको अधिकतम उपयोगका लागि पूर्व तयारीस्वरूप पाइपहरूको समेत व्यवस्था गरिएको बताउनुभयो।
पानी संकलनमा समस्या भइरहेको अवस्थामा बन्दै गरेको सिँचाइ पोखरीले सहयोग मिल्ने भएपछि स्थानीय वडावासीमा समेत उत्साह देखिएको छ। रासस