सोमबार, पुस १५ गते २०८१    
images
images

एकै महिनामा सवा ३८ अर्बको लागत अनुमानसहितका ६ आयोजना निर्माणका लागि वातावरणीय मूल्यांकन प्रतिवेदन, कुनमा कति लगानी?

images
आइतबार, पुस १४ २०८१
images
images
एकै महिनामा सवा ३८ अर्बको लागत अनुमानसहितका ६ आयोजना निर्माणका लागि वातावरणीय मूल्यांकन प्रतिवेदन, कुनमा कति लगानी?

वन तथा वातावरण मन्त्रालयले दुईवटा रंगशाला, एउटा अस्पताल, दुईवटा सडक र एउटा जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझाव माग्दै सार्वजनिक गरेको छ। सार्वजनिक रिपोर्टका आधारमा ६ वटा परियोजनाको लागत अनुमान ३८ अर्ब २१ करोड रुपैयाँभन्दा बढी रहेको छ।

images
images

काठमाडौं- सन् २०२४ को अन्तिम महिना डिसेम्बरमा मात्रै ६ वटा परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ। वन तथा वातावरण मन्त्रालयले दुईवटा रंगशाला, एउटा अस्पताल, दुईवटा सडक र एउटा जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझाव माग्दै सार्वजनिक गरेको छ। सार्वजनिक रिपोर्टका आधारमा ६ वटा परियोजनाको लागत अनुमान ३८ अर्ब २१ करोड रुपैयाँभन्दा बढी रहेको छ।

images
images
images

राय सुझावका लागि सार्वजनिक भएको रिपोर्टहरूमा एउटा पूरक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट रहेको छ। वन तथा वातावरण मन्त्रालयले करिब २ अर्ब ८० करोड लागत अनुमानसहितको गिरिजाप्रसाद कोइराला रंगशाला निर्माणको रिपोर्ट सार्वजनिक गरेको छ।

images

यसैगरी ७ अर्ब ३५ करोडको लागत अनुमानसहित मुलपानी क्रिकेट रंगशाला तथा एकेडेमीको पूरक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरेको छ।

images
images

यसैगरी मन्त्रालयले ६ अर्बको लागत अनुमानसहित तयार भएको कोहलपुर-सुर्खेत-बाङ्‍गेसिमल सडक स्तरोन्नति र  साढे ९ अर्बको लागत अनुमानसहित तयार भएको मिर्चैया-कटारी-घुर्मी ७२ किलोमिटर सडक स्तरोन्नति आयोजनाको रिपोर्ट राय सुझावका लागि सार्वजनिक गरेको छ। 

साथै मन्त्रालययले पाँच अर्बको लागतमा राप्ती शिक्षण अस्पताल १ सय १३ शैय्याबाट ४ सय शैय्यामा स्तरोन्नति हुने आयोजना र सवा ७ अर्बको लागत अनुमानसहित तयार भएको ३४.३९ मेगावाट सुपर बुढीगण्डकी जलविद्युत आयोजनाको पनि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरेको छ।

राप्ती शिक्षण अस्पताल

सरकारले राप्ती शिक्षण अस्पताल स्तरोन्नति गर्ने भएको छ। १ सय १३ शैय्यामा सञ्चालन भएको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानअन्तर्गतको राप्ती शिक्षण अस्पताल स्तरोन्नतिका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक गरिएको छ।

अस्पताल स्तरोन्नतिका लागि ४ अर्ब ८७ करोड ८९ लाख १७ हजार ९ सय ७६ रुपैयाँ लागत अनुमान गरिएको छ। अस्पतालले सुरुमा ४ सय शैय्याको लागि नेपाल सरकारबाट अनुमति पाएको थियो तर १ सय १३ शैय्यामा मात्रै सञ्चालन भइरहेको अवस्थामा स्तरोन्नति गर्दै ४ सय शैय्याको बनाउन लागिएको हो।

तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल हस्तान्तरण भएपछि उक्त अस्पतालको भौतिक संरचनामा १२ शैय्याको तत्कालिन महेन्द्र अस्पताल रहेको थियो। तत्कालीन उपक्षेत्रीय अस्पताल हस्तान्तरण भएपश्चात न्यून भौतिक संरचनामा समेत प्रतिष्ठानले आफ्नो सेवालाई विस्तार तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रस्तावित आयोजना लुम्बिनकी प्रदेशको दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा प्रस्ताव गरिएको छ। अस्पतालमा १ सय ३६ वटा चारपांग्रे सवारी, ३ सय ५० वटा दुईपांग्रे सवारी र २० वटा एम्बुलेन्स अट्ने क्षमताको पार्किङ निर्माण हुने छ। अस्पताल भवनको उचाइ २७.३ मिटरको हुने छ।

अस्पताल भवनमा ७ वटा लिफ्ट रहने छ। भवन पाँच तलाको हुने रिपोर्टमा छ। आयोजनाअन्तर्गत संरचना निर्माणको अवधि ३० महिनाको हुने उल्लेख छ।  दाङ, रोल्पा, रुकुम, सल्यान र प्युठानलगायतका क्षेत्रको स्वास्थ्य सेवाको केन्द्र बनिरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको संरचनासँगै स्वास्थ्य सेवाको स्तर पनि फेरिने अपेक्षा गरिएको छ।

कोहलपुर-सुर्खेत-बाङ्‍गेसिमल सडक

रत्न राजमार्गअन्तर्गतको कोहलपुर-सुर्खेत-बाङ्‍गेसिमल सडकखण्ड स्तरोन्नति हुने भएको छ। स्तरोन्नतिका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक भएको छ। सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाख प्रस्तावक रहेको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा पेस भएको हो। मन्त्रालयले सोहीअनुसार सात दिनभित्र राय सुझावका लागि भन्दै रिपोर्ट सार्वजनिक गरेको छ।

९०.७५ किलोमिटर सडक स्तरोन्नतिका लागि ६ अर्ब ५० करोड ९५ लाख ९४ हजार ५८ रुपैयाँ लागत अनुमान गरिएको छ। स्तरोन्नतिका लागि प्रस्तावित सडक बाँके, बर्दिया र सुर्खेत जिल्लाका विभिन्न स्थानीय तह भएर जाने सडक हो। 

सडक स्तरोन्नतिका लागि थप जग्गा अधिकरण गर्नु नपर्ने रिपोर्टमा उल्लेख छ। आयोजनाको ५० मिटर क्षेत्राधिकारभित्र पर्ने कुल सडकको क्षेत्रफल ४५४.७० हेक्टर रहेको छ। प्रस्तावित आयोजनाको सडक खण्डलाई दुई लेन कालोपत्रे सडकमा स्तरोन्नति गरिने छ। ५.५ मिटर चौडाइ औसत रहेको सडकलाई ७ मिटर बनाइने रिपोर्टमा उल्लेख छ।

३८ वटा जिर्ण पुल पनि स्तरोन्नति हुने रिपोर्टमा उल्लेख छ। आयोजनाको काम गर्दा १० हजार ८ सय ८६ वटा रुख कटान हुने जनाइएको छ।

गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला

सरकारले २ अर्ब ८० करोड रुपैयाँको लागतमा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ। क्रिकेट रंगशाला विराटनगर महानगरपालिका वडा नम्बर १९ को वैजनाथपुरमा निर्माण हुनेगरी प्रस्ताव गरिएको छ।

प्रस्तावित क्रिकेट रंगशाला बहुउपयोगी सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको बन्ने छ। १० हजार सिट क्षमताको सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको रंगशाला र ५ हजार सिट क्षमताको एथलेटिक ट्रर्‍याक, फुटबल र रक्वी रंगशालासमेत रहने छ।

रंगशाला निर्माणका लागि १०.३२ हेक्टर जमिन आवश्यक पर्ने जनाइएको छ। प्रस्तावित आयोजनाको करिब १.५ किलोमिटर ८ मिटर चौडाइ भएको पहुँच सडक स्तरोन्नति गरिने जनाइएको छ। रंगशाला निर्माण क्षेत्रमा १ हजार वटा रुखविरुवा तथा १४ हजार ४ सय ८४ वर्गमिटर घाँस रोपण गरी हरियाली गरिने छ।

रंगशाला निर्माणको अवधि ३ वर्षको हुने र रिर्ट पिरिएड ८ देखि १० वर्षको हुने रिपोर्टमा उल्लेख छ। रंगशालामा १ हजार ८ सय १७ वटा दुईपांग्रे र २ सय ९५ वटा चारपांग्रे सवारी साधान पार्किङ क्षेत्र निर्माण हुने छ। आयोजनको कुल लागत २ अर्ब ७९ करोड ७४ लाख ११ हजार ३ सय ७४ रुपैयाँ रहेको छ।

रंगशाला निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको छ। रिपोर्ट युवा तथा खेलकुद मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा पेस भएको हो। रिपोर्टको प्रस्तावक राष्ट्रिय खेलकुद परिषद् रहेको छ।  

सुपर बुढीगण्डकी

सुपर बुढीगण्डकी जलविद्युत आयोजनाको लागत ७ अर्ब २३ करोड रुपैयाँ अनुमानसहित वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक भएको छ। गण्डकी प्रदेशको गोरखा जिल्ला चुमनुव्री गाउँपालिकामा आयोजना निर्माण हुनेछ।

आयोजना निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि ७ दिनको समय राखेर सार्वजनिक गरेको हो। आयोजनाको प्रस्ताव विद्युत विकास विभाग रहेको छ। रिपोर्ट उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत वन मन्त्रालयमा पेस भएको हो।

३४.३९ मेगावाट क्षमताको जलविद्युत आयोजना रन अफ दि रिभर प्रकृतिको रहेको छ। प्रस्तावित आयोजनाको डिस्जार्ज ११.४ घनमिटर प्रति सेकेण्ड, ग्रस हेड ३५६.११ मिटर र नेट ३४६.४२३ मिटर रहेको छ।

आयोजनाबाट वार्षिक १८६.९९ गिगावाट आवर उर्जा उत्पादन हुने रिपोर्टमा उल्लेख छ। आयोजनाको मुख्य संरचनाहरुमा वेयर, इन्टेक, ग्राभेल  ट्रयाप एप्रोच क्याल, डिस्यान्डर हेडरेस टनेल, अडिट टनेल, सर्ज साफ्ट, प्रेशर साफ्ट विद्युतगृह, स्वीचयार्ड र टेलरेस पर्ने रिपोर्टमा उल्लेख छ।

आयोजनानको हेडरेस टनेलको लम्बाइ ४ हजार ७ सय ३८ मिटर र भूमिगत विद्युतगृहको लम्बाई ९७ मिटर, चौडाइ १५.२ मिटर र उचाई २७ मिटरको रहने छ। आयोजनाको कुल लागत ७ अर्ब २३ करोड ७९ लाख ८३ हजार रहेको छ। यसैगरी प्रतिमेगावाटको लागत २२ करोड ५४ लाख १२ हजार रुपैयाँ रहेको छ।

आयोजनाको लागत अन्य आयोजनाको भन्दा बढी देखिएको छ। सामान्यत: पछिल्लो समय निर्माण भइरहेको आयोजनाको लागत प्रतिमेगावाट १९ देखि २० करोड रुपैयाँको बीचमा रहेको छ। तर यसको प्रतिमेगावाट लागत साढे २२ करोड रुपैयाँ रहेको छ।

आयोजनाको निर्माण अवधि ४ वर्षको रहेको छ। आयोजनाबाट ४३ घरधुरी प्रभावित हुनेछन् भने ६ सय २४ वटा रुख कटानी हुने रिपोर्टमा उल्लेख छ।

मुलपानी क्रिकेट रंगशाला तथा एकेडेमी

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा एकेडेकी निर्माण सुरु भएको दशक भइसकेको छ। तर निर्माण पूरा हुनुपर्ने समय घर्किरहँदा काम पूरा हुन सकेको छैन, नयाँ योजनाहरू पनि थपिँदै गएका छन्।

मुलपानीमा रंगशालाको निर्माणको थालनी २०७१ सालबाट भएको थियो। पूर्वघोषित लक्ष्यअनुसार २०७६ सालमा सम्पन्न हुनुपर्ने रंगशाला तथा एकेडेमी निर्माणका लागि पछिल्लोपटक २०८० असार २४ गते वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको थियो। उक्त रिपोर्ट स्वीकृत हुँदा आयोजनाको लागत १ अर्ब २८ करोड ६६ लाख ३ हजार ८ सय ३७ रुपैयाँ अनुमान गरिएको थियो।

रिपोर्ट स्वीकृत भएको १८ महिनामै फेरि पूरक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ। रिपोर्टअनुसार आयोजनाको लागत अस्वभाविक रुपमा बढेको छ। पूरक रिपोर्टमा आयोजनाको लागत ७ अर्ब ३५ करोड ४ लाख २० हजार रुपैयाँ पुर्‍याइएको छ।

स्वीकृत भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा समावेश गरिएअनुसार आयोजनाले ओगट्ने क्षेत्रफल, दर्शक क्षमता, पानीको खपत फेरबदल भएको हुँदा पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारिएको उल्लेख गरिएको छ।

सुरुको रिपोर्टमा १ लाख १८ हजार २ सय ३ वर्गमिटर रहेकोमा १ लाख ६ हजार ९ सय ९९ वर्गमिटर क्षेत्रफल प्रस्ताव गरिएको छ। यसैगरी आयोजनाको संरचना प्याराफिटको क्षेत्रफल स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनमा १ हजार ७ सय २२ वर्गमिटर रहेकोमा हाल प्याराफिटको क्षेत्रफल १८ हजार ८९ वर्गमिटर प्रस्ताव गरिएको छ। 

यसैगरी प्याराफिटको क्षमता बढ्नाले आयोजनाको दर्शक क्षमता स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनमा १५ हजार जना रहेकोमा हाल २१ हजार ३४ जनाको बनाइएको छ। मुलपानी क्रिकेट एकेडेमीको निर्माणले नेपालमा अन्तर्राष्ट्रियस्तरको रंगशाला तथा व्यवस्थित खेलाडी प्रशिक्षण स्थल निर्माण हुने जनाइएको छ। जसले क्रिकेट खेल र खेलाडीको विकासमा थप सहयोग प्रदान गर्ने उल्लेख गरिएको छ।

संरचना निर्माणले क्रिकेट खेलप्रति रुची हुनेहरूलाई क्षमता विकास गर्ने अवसर मिल्ने तथा खेलकुद गतिविधिहरू राष्ट्रियस्तरमा बढ्दै जाने साथै खेलकुदको माध्यमबाट सामाजिक सद्‍भाव तथा राष्ट्रिय एकता अभिवृद्धि हुने जनाइएको छ।

क्रिकेट एकेडेमीमा देशभरिबाट छानिएर आएका १६ वर्षमुनिका, १९ वर्षमुनिका, पुरुष राष्ट्रिय खेलाडी र महिला राष्ट्रिय खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलबाट मान्यता प्राप्त ट्रेनिङ कोर्सअनुसार तालिम दिन मिल्ने जनाइएको छ। राष्ट्रिय खेलाडीहरु घाइते भएमा उपचारको लागि एकेडेमीमा राखिने र आवश्यक उपचारपश्चात फेरि खेलमा फर्काउने कार्यसमेत गरिने उल्लेख गरिएको छ।

यसैगरी १४ हजार ४ सय ८७ वर्गमिटरको बिल्ट एरिया परिवर्तन गरी २४ हजार ५ सय ४८ वर्गमिटर हुने उल्लेख गरिएको छ। यसअघि स्वीकृत रिपोर्टमा भीभीआईपी ब्लक निर्माण थिएन भने अहिले उक्त संरचना निर्माण थपिएको छ। यसैगरी खेलाडी ब्लक निर्माणको क्षेत्रफल ३ वर्गमिटरले घट्ने प्रस्ताव गरिएको छ भने गार्ड हाउस निर्माणको क्षेत्रफल बढ्ने छ। यसैगरी अभ्यास नेटका लागि आवश्यक क्षेत्रफल र होस्टल ब्लक निर्माणको क्षेत्रफल बढ्ने पूरक रिपोर्टमा उल्लेख छ। जिम हल र स्विमिङ पुल निर्माण क्षेत्र बढ्ने छ। सवारी पार्किङ क्षमता पनि बढ्ने छ।

मिर्चैया-कटारी-घुर्मी सडक

मिर्चैया-कटारी-घुर्मी ७२ किलोमिटरको सडक स्तरोन्नति हुने भएको छ। सडक स्तरोन्नतिका लागि वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक गरेको छ।  प्रस्तावित सडकखण्ड स्तरोन्नति कार्यको प्रस्तावक सडक विभाग, आयोजना निर्देशनालय एसियाली विकास बैंक रहेको छ। आयोजना  सिराहा जिल्ला (मधेश प्रदेश) र उदयपुर जिल्ला (कोशी प्रदेश) मा अवस्थित छ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी क्षेत्र निर्धारण प्रतिवेदन र कार्यसूची २०७८ पुस १ गते वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको थियो। प्रस्तावित स्तरोन्नतिको काम मधेश प्रदेश सिराहाको मिर्चेया चोकबाट सुरु भइ कोशी प्रदेशको उदयपुर जिल्लाको घुर्मी बजार गइ समाप्त हुन्छ। आयोजनाअन्तर्गत मूलरुपमा सडकको चौडाइ फराकिलो पार्नेलगायत पुल निर्माण एवं अन्य स्तरोन्नतिको काम हुने रिपोर्टमा उल्लेख छ।

भू-उपयोगको प्रकारअनुसार सडक निर्माणको चौडाइ फरक रहने रिपोर्टमा उल्लेख छ। सहरी क्षेत्रहरुमा सडकको चौडाइ १३ मिटर रहेको छ भने वन तथा ग्रामीण क्षेत्रमा सडकको चौडाइ ८.५ मिटर (पहाडी क्षेत्र) देखि १० मिटर (तराई र सामान्य पहाड) सम्म रहेको छ। 

यसबाहेक रिपोर्टअनुसार आयोजनामा ३ ठूला पुल, ७ साना पुल, २८९ पाइप कल्भर्ट, ८ वक्स कल्भर्ट, २६ स्ल्याब कल्भर्ट र ५ कजवेको निर्माण पनि समावेश गरिएको छ। सडक स्तरोन्नतिले मिर्चैया नगरपालिकाको वडा नम्बर ६ र ७ कटारी नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ८, ११ र १४ लाई प्रत्यक्ष प्रभाव पार्नेछ।

आयोजनाको अनुमानित लागत ९ अर्ब ४७ करोड (२० प्रतिशत भइपरि आउने खर्चसहित र भ्याटबाहेक) रहेको छ भने निर्माण अवधि ३० महिनाको हुने रिपोर्टमा उल्लेख छ।  अन्दाजी ५ सय ठूला तथा साना सवारीसाधन यस सडकमा दैनिक गुड्ने रिपोर्टमा उल्लेख छ। सडकमा २० टनसम्म भार बोक्ने व्यावसायिक सवारीसाधन गुड्ने रिपोर्टमा उल्लेख छ।

सडकबाट उपभोग्य वस्तुहरु, निर्माण सामग्रीहरु, तेल जस्ता अधिकांश वस्तुहरु संखुवासभा, ओखलढुंगा र खोटाङ जिल्लाको सदरमुकामसम्म लैजान सहयोग पुर्‍याउने रिपोर्टमा उल्लेख छ।


प्रकाशित : आइतबार, पुस १४ २०८१०७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend