काठमाडौं- आन्तरिक राजस्व विभागले कर दिवसको दिनमा भूमिगत पानी दोहन गर्दै कारबाही भोगेको कम्पनीलाई सम्मान गरेको छ। बहुराष्ट्रिय कम्पनी पेप्सीको नेपालमा आधिकारिक कम्पनी वरुण वेभरेज प्रालिले आर्थिक वर्ष ०७९/०८० मा भूमिगत पानी दोहन गरेको पुष्टि भएको थियो।
सोही वर्षको विवरणअनुसार विशेष उद्योगहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै विभागले कर दिवसको दिन सम्मान गरेको हो। सोही वर्ष वरुणले भूमिगत पानी प्रयोगका लागि पाएको अनुमतिभन्दा दोबर परिमाणमा भूमिगत पानी दोहन गरेको थियो।
भूमिगत पानी दोहन गरेको पुष्टि भएसँगै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले कम्पनीलाई जरिवानासमेत तिराएको थियो। तर विभागले एक दशकदेखि निरन्तर भूमिगत पानी दोहन गरिरहेको कम्पनीलाई सम्मान गरेको हो।
वरुण वेभरेजले तीनवटा ट्यूबवेल (प्रति ट्यूबवेल एक लाख लिटर) दैनिक तीन लाख लिटर पानी तान्न अनुमति पाएको थियो तर उसले सरदरमा दैनिक ६ लाख ६० हजार लिटर पानी तानेर व्यावसायिक प्रयोजनमा प्रयोग गरेको भन्दै कारबाही गरेको थियो। बोर्डले नियमावलीअनुसार प्रतिट्यूबवेल १० हजार रुपैयाँको दरमा ३० हजार रुपैयाँ जरिवाना तिराएर उन्मुक्ति दिएको थियो।
भूमिगत पानीको दोहन बढेको भन्दै बोर्डले अहिले जरिवाना रकमसमेत बढाउने तयारी थालेको छ भने उपभोग र प्रयोजनाका आधारमा मूल्य तय गर्नका लागि कानून संशोधनको प्रक्रियासमेत अगाडि बढाएको छ। केही नेपाल ऐन संशोधन गर्न संसदमा टेबल भएर छलफल भइरहेको विधेयकमा उपभोग र प्रयोजनका आधारमा मूल्य तय गर्ने व्यवस्था राखिएको छ।
बोर्डका अनुसार वरुणले तीनवटा (१६३, १६४ र १६५ नम्बर ट्यूबवेल) बाट पानी तान्ने अनुमति लिएको छ। वरुणले तीनवटै ट्यूबवेलबाट प्रतिदिन एक लाख लिटरमात्रै पानी झिक्न पाउँछ। तर गत आवमा अनुमतिपत्र नम्बर १६३ बाट दैनिक २ लाख ३९ हजार ५ सय ६७ लिटर पानी तानेको थियो। यसैगरी १६४ नम्बरको ट्यूबवेलबाट दैनिक २ लाख १४ हजार ४ सय लिटर र १६५ नम्बरको ट्यूबवेलबाट दैनिक १ लाख ५० हजार ३ सय ६४ लिटर पानी तानेको थियो।
वरुणले लिएको अनुमतिअनुसार पनि प्रतिट्यूबवेल दैनिक एक लाख लिटरभन्दा बढी पानी तान्न पाउँदैन। यसरी अनुमतिभन्दा बढी पानी तान्ने वरुणका कारण वातावरणमा कति क्षति भयो भन्ने पनि आँकलन भएको छैन। वरुणले एउटा ट्यूबवेलबाट दैनिक एक लाख लिटर पानी तानेबापत जम्मा वार्षिक २० हजार रुपैयाँ तिर्छ। यसरी उसले तीनवटा ट्यूबवेबाट पानी तान्दा ६० हजार रुपैयाँमात्रै तिर्छ।
वार्षिक ६० हजार रुपैयाँ तिरेर वरुणले तीनवटा ट्यूबवेलबाट २२ करोड ५ लाख ८० हजार १५ लिटर पानी तानेको हो। तर उसले अनुमति पाउँदा एउटा ट्यूबवेलबाट ३ करोड ६५ लाख लिटरका दरमा ३ वटा ट्यूबवेलबाट वार्षिक १० करोड ९५ लाख ५० हजार लिटर भूमिगत पानी तान्न पाउँछ। त्यसमा पनि एउटा ट्यूबवेलबाट ३ करोड ६५ हजार लिटरभन्दा बढी भूमिगत पानी तान्न पाउँदैन।
कानूनी छिद्र तथा जरिवाान रकम अति नै न्यून भएको फाइदा उठाउँदै वरुणले अनुमतिभन्दा बढी पानी तानेको हो। अनुमतिभन्दा बढी पानी तान्नेको ट्यूबवेल नै बन्द गराउन पाउने व्यवस्थासमेत रहँदा रहँदै जम्मा प्रतिट्यूबेल १० हजार रुपैयाँको दरमा ३० हजार जरिवाना तिराएर उन्मुक्ति दिइएको हो। वरुणले वार्षिक तिर्ने रकम र जरिवाना रकम समेतलाई हिसाब गर्दा १ रुपैयाँमा नै २ हजार ४ सय ४० लिटर पानी तानेको हो।
वरुणको १६४ नम्बर ट्यूबवेलमा एक वर्षमा ३ करोड ६५ लाख लिटर पानी तान्न अनुमति लिएपनि उसले ८ करोड ७४ लाख ४१ हजार ९ सय ९८ लिटर पानी तानेको हो। यसैगरी १६४ नम्बरको ट्यूबवेलले ७ करोड ८२ लाख ५६ हजार लिटर पानी तानेको हो। यसैगरी अनुमति नम्बर १६५ को ट्यूबवेलले ५ करोड ४८ लाख ८२ हजार ९ सय ९८ लिटर पानी तानेको हो।
भूमिगत पानी दोहन गरेर वार्षिक अर्बौँ कमाउने र सामाजिक सेवाका लागि प्रयोग हुने पानीमा एउटै दर राखिदिँदा भूमिगत पानी दोहन झन् बढेको छ। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले उपयोग, प्रयोजन तथा परिमाणको आधारमा उपभोग शुल्क निर्धारण नगर्दा भूमिगत पानीको दोहन बढेको हो।