जबसम्म नेपालले आफ्नो खाद्यान्न उत्पादनलाई निर्वाहमूखीबाट व्यवसायीकरण र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्न सक्दैन, तबसम्म राष्ट्रको आर्थिक उन्नति हुन सक्दैन ।
काठमाडौं- हाल नेपालमा धानको उत्पादकत्व प्रति हेक्टर ३.८ टन छ। वर्षको करिब २ खर्ब ५० अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुन्छ। अपुग धान चामल छिमेकी मुलुकबाट करिब ५० अर्ब बराबर आयात हुन्छ। आयातको ग्राफ वर्षैपिच्छै बढ्दै गएको छ।
आयातलाई प्रतिस्थापन नगरेसम्म आर्थिक सूचकांकहरुलाई सुधार गर्न सकिँदैन। अबको अभियान भनेको उत्पादकत्वलाई बढाएर आयातलाई प्रतिस्थापन गर्नु नै अन्तिम विकल्प हो।
आज बंगलादेशले उच्च आर्थिक सूचकांकहरु हाँसिल गरेको छ। यसको मुख्य श्रेय त्यहाँका कृषि वैज्ञानिक डाक्टर एमए सलामलाई जान्छ। त्यहाँका कृषि वैज्ञानिकहरुले ब्री-२८ र ब्री-२९ धानको बीउ विकसित गरे। जसको उप्जनी ६ टन प्रति हेक्टर रहेको प्रमाणित नै छ। अहिले बंग्लादेश अन्न उब्जनीमा पूर्ण निर्भर भएकोे छ। आयातमुखीबाट आज निर्यातमुखी देश बन्न सफल भएको छ।
कृषिमा वर्षैैपिच्छै अर्बौंको बजेट विनियोजित हुँदा पनि सुधार देखिएको छैन। बरु वर्षैपिच्छे कृषि आयातमुखी हुँदै गएको छ। यस लेखमार्फत कृषिमा देखिएको समस्या र निराकरण खोतल्ने प्रयास गरेको छु।
न्यून समर्थन मूल्य र झन्झटिलो प्रक्रिया
धानको सहि मूल्य पाउन सकसको स्थिति ज्यूका त्यूँ नै छ। किसानहरुको मुख्य आम्दानी भनेको अनाज बेचबिखन नै हो। यसबाट घरको सबै कामकाज गर्नुपर्ने हुन्छ, साथै अर्को बाली लगाउनलाई खर्च पनि जुटाउनु पर्ने हुन्छ।
धान उत्पादनपछिकाे बजार व्यवस्थापन अहिले पनि प्रमुख समस्या रहेको छ। बिचौलियाको बिगबिगी दिन प्रतिदिन बढ्दो छ। अति कम दर र समयमा भुक्तानी नहुनु किसानहरुको पिरमर्का थपेकै छन्।
अझ त्यसमाथि मसिनो धानको सही मूल्य नपाउनु अर्को विडम्वना छ। मसिनो धान व्यवस्थित रुपले धान कुट्ने मिलको संख्या एकदमै कम छ। यस्तै समस्या नेपालको कृषिमा वर्षाैदेखि कायमै छन्। त्यही कारणले पनि उत्पादन बढ्न सकेको छैन।
समाधान सूत्र
परम्परागत खेतीकिसानीलाई क्रमशः यान्त्रीकरण गर्दै बुध्द एयरको समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल कृषि केयरले मोरङ, सुनसरीमा धान उत्पादन वृद्धि कार्यक्रम शुरु गर्यो।
आधुनिक खेती यन्त्र, हाईब्रिड बिउ तथा एसआरआई प्रविधि अँगालेपछि धानको उत्पादन प्रति हेक्टर दोब्बर भन्दा बढी भयो। अर्थात् धानको उत्पादकत्व ७ टन प्रति हेक्टर स्थापित भयो, त्यो पनि परम्परागत लागतभन्दा निकै नै कममा। यसले के देखाउँछ भने उत्पाकत्व बढाउनका लागि प्रविधिको उच्च उपयोग हुन जरुरी छ।
उत्पादकत्व ७ टन प्रति हेक्टर पुगेता पनि निर्वाहमूखी धान खेतीबाट व्यवसायीकरणतिर प्रवेश गर्न गराउन किसानहरुका लागि अहिले पनि ठूलो चुनौती रहेको छ।
यसका लागि नेपाल कृषि केयरले किसानहरुलाई संगठित गर्दै खेतीकिसानीमा अपनाउने पर्ने वैज्ञानिक विधि प्रयोगको दायरा बढाउँदै लगेको छ। त्यस भेगमा धानलाई उच्च कोटीको प्रविधिबाट बफाउने र कुटाउनका लागि आधुनिक चामल मिल-आरजु राईस मिलको पनि स्थापना गरिएको छ।
मिलले किसानहरुको धान सिधै खेतबाट खरिद गरी मेसिनबाट धान सफा, सुकाउने र भण्डारण गर्ने उच्च प्रविधिको साइलो स्थापना गरेको छ। यस विधिबाट धानलाई लामो समयसम्म भण्डारण गर्न सकिन्छ। यसपछि बजारको माग अनुसार क्रमशः चामललाई उपभोक्तामाझमा लगिनेछ। यो परीक्षणले के देखाएको छ भने नेपालमा छोटो समयमै धानको उत्पादन बढाउन सकिन्छ।
अबको हाम्रो बाटो
परापूर्वकालदेखि निर्वाहमूखी धान खेती गर्दै आएका र शोषणमूखी बजार व्यवस्थापनमा आश्रीत किसानहरुलाई यस कार्यक्रममा संलग्न गराउन निकै ठूलो कसरत गर्नुपरेको छ। बुध्द एयरको सामाजिक उत्तरदायित्व कार्यक्रम दुई दशकदेखि त्यो क्षेत्रमा सञ्चालन भइरहेको छ। अब हामीले किसानहरुका लागि आउँदो चैते धान(भदै)बाट निम्न फाइदा र सुविधाहरुको कार्यक्रम लागु गर्न गइरहेका छौं।
१. हाइब्रिड धान तेज गोल्डको बिउमा ५० प्रतिशत छुट दिने। धानको उत्पादकत्व बढाउन हाइब्रिड बिउ आवश्यक छ। प्रतिबिगाहमा १५ केजी धानको बिउ आवश्यक पर्दछ जसको मूल्य ५०० सय प्रति केजी पर्दछ।
२. बिना धितो महिलालाई ३.७५ प्रतिशत वार्षिक ब्याजदरमा धान उत्पादन गर्न लाग्ने चालु पुँजी उपलब्ध गराउने। हाल मेगा बैंकसँग सहकार्य गरेर यो व्यवस्था मिलाइएको छ।
३. कृषि बिमा लागू गर्ने।
४. उत्पादित धानलाई वर्षायाममा दाउनी गर्ने व्यवस्था गर्ने र खेतबाटै मिलमा ल्याइ खरिद गर्ने व्यवस्था हुने।
५. २५ प्रतिशत नमी भएको धानलाई ७५० रुपैयाँ प्रतिमन (१८.७५ प्रति केजी) मा खरिद गर्ने अग्रीम सम्झौता गर्ने जुन अघिको समयभन्दा १५० रुपैयाँ प्रतिमन (३.७५ प्रति केजी) बढी हो। साथै दाउनीको समयमा यो भाउभन्दा महँगो दर रेट भएको खण्डमा त्यसै भाउमा खरिद गर्ने।
मिलको क्षमता चैते धानको १३ प्रतिशत नमिको ७,५०० टन हो जून करिब १,१५० हेक्टरको फसल जान्छ। पहिलो वर्ष भएकोले एक तिहाई मात्र उपभोग गर्ने योजना छ र जम्मा ३७५ हेक्टरका किसानहरुसँग मात्र सहकार्य गरिन्छ।
यस कार्यक्रमको सुरुवाती वर्ष भएकोले यसप्रति अन्योल र कम जानकार भएका किसानहरुलाई घर-दैलोमा गएरै जानकारी र फाइदाबारे छलफल र निष्कर्ष आउन विशेष पहल भइरहेको छ।
सजिलो उपाय बिचौलिया र थोक व्यापारीमा निर्भर परेको भएपनि हुन्थ्यो तर यस प्रक्रियाबाट किसानहरुलाई धेरै नोक्सानी हुने हाम्रो ठम्याई रहेको छ।
र अन्त्यमा,
हामीले धानखेती र किसान र समस्ती रुपमा राष्ट्रको एक प्रमुख समस्याको निराकरण गर्ने उत्तम उपाय अवलम्बन गर्न खोज्दा पनि अनेकौं समस्याहरु एवं राज्यको नियम कानून नीतिहरुबाट जकडिरहेका छन्।
पहिलो चुनौती : अधिकाशं धान किसानको आफ्नो जमिन छैन, ठेक्का, अधिया वा भाडामा खेत लिइ खेती गरिरहेका छन्। व्यवसायिक खेती गर्नको लागि आवश्यक बिमा र चालु पुँजीको ऋणको लागि जमिनमा सो व्यक्तिले धान लगाएको प्रमाणीकरण गरिनु आवश्यक पर्दो रहेछ।
तर सो कार्य गरेको खण्डमा हालको अन्योलमा जग्गा धनीहरु असुरक्षीत हुने भएकोले सम्भव छैन। अब यस समस्याको समाधान कसरी गर्ने? नेपालको अधिकाशं धान खेती भाडामै भइरहेको छ र निर्वाहमूखी व्यवस्थाभन्दा माथि उठ्न नसकेको प्रमुख कारण हो।
दोस्रो चुनौती : रासायनिक मलको समयमा उपलब्धता नहुँदा खेतीपाती प्रभावित हुने गरेको छ। बिचौलियाहरुसँग महँगोमा मल किन्नु पर्ने हुन्छ। समयमा कहिले पनि रासायनिक मल उपलब्ध हुदैन, यसको कारण के भन्ने पहिलाउन कसैले सकेको छैन या पहिलाउन पर्ने सबै निकायको मुख बन्द गरिएको हो। धान खेतीलाई व्यवसायीकरण गर्न रासायनिक मल समयमा उपलब्ध हुनैपर्छ।
अब स्थानीय, प्रदेश र संघीय सरकारले उपयुक्त समाधानका सुत्र पहिल्याई समयमै मल बिक्रि वितरण मात्र गरेमा किसानहरुलाई ठूलो राहत पुग्ने थियो।
(वीरेन्द्रबहादुर बस्नेत बुध्द एयरका प्रवन्ध निर्देशक तथा नेपाल कृषि केयरका निर्देशक हुन्।)