बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ज्योति समूहका दाजु-भाइको कलहले दशक नपुग्दै बन्द भयो हिमाल अक्सिजन उद्योग

सोमबार, कात्तिक ५ २०८१
ज्योति समूहका दाजु-भाइको कलहले दशक नपुग्दै बन्द भयो हिमाल अक्सिजन उद्योग

२०७२ सालमा खुलेको उद्योग सुरुवातदेखि नै घाटामा गएको एक कर्मचारीले जानकारी दिए। उनका अनुसार घाटा धान्न गाह्रो पर्दै गएपछि बन्द गर्नुपर्ने अवस्था आएको हो।

इटहरी- कोभिड महामारीको समयमा दैनिक ८ सय सिलिन्डरसम्म अक्सिजन उत्पादन गरेको 'हिमाल अक्सिजन उद्योग' बन्द भएको छ। मोरङको बुढीगंगा गाउँपालिका-४ मा अवस्थित हिमाल अक्सिजन प्रालि सधैँका लागि बन्द भएको हो। 

उद्योगका मेसिन तथा उपकरणहरूसमेत वीरगञ्ज सारिएको छ। उद्योगको गेटमा ताला लगाइएको छ भने भित्रका सरसामान खाली गरिएको छ। वीरगञ्जमा सञ्चालनरत अर्को उद्योगमा प्लान्ट थप गर्ने भन्दै उपकरणहरू सारिएको बताइएको छ।

२०७२ सालमा खुलेको उद्योग सुरुवातदेखि नै घाटामा गएको एक कर्मचारीले जानकारी दिए। उनका अनुसार घाटा धान्न गाह्रो पर्दै गएपछि बन्द गर्नुपर्ने अवस्था आएको हो। उद्योगको उत्पादन २०८० चैत मसान्तदेखि पूर्णरूपमा बन्द भएको हो।

भाइ रूप ज्योति अध्यक्ष रहेको हिमाल अक्सिजन प्रालि दाजु पद्म ज्योतिको जग्गामा सञ्चालन हुँदै आएको थियो। सुरुवातमा पद्म ज्योति अध्यक्ष रहेको हिमाल अक्सिजन प्रालिको नेतृत्व २०७५ सालपछि रूप ज्योतिले लिएका थिए। पद्म ज्योति अध्यक्ष रहेको स्याकार प्रालिको नाममा रहेको जग्गा खाली गर्न दबाब बढेपछि रूप ज्योतिले उद्योग सारेका हुन्। 

himal oxygen  (3).jpg

ज्योति ग्रुप अन्तर्गतको भाजुरत्न इन्जिनिरिङ एन्ड सेल्स लिमिटेडमार्फत अक्सिजन सप्लाइ हुने गरेको थियो। आधिकारिक बिक्रेता रहेको भाजुरत्नको कारोबार पनि अहिले खुम्चिँदै गएको छ। विराटनगरको मुनाल पथमा रहेको भाजुरत्नको कार्यालयमा चहलपहल देखिँदैन। 

भाजुरत्नमार्फत व्यापार गरिरहेको स्यामुकापुको कार्यालय पनि सुनसान छ। केही थान बाइक र मेसिनरी औजार राखिए पनि कारोबार नभएको कर्मचारीहरू बताउँछन्। कारोबार खुम्चिँदै गएपछि चाँडै बन्द गर्ने अवस्थामा पुगेको उनीहरूको भनाइ छ। भाजुरत्नले हाल अन्य अक्सिजन प्लान्टबाट खरिद गरेर अक्सिजन बिक्री गर्दै आएको छ।

himal oxygen  (2).jpg

सम्पत्ति विवादमा अदालतमा मुद्दैमुद्दा

ज्योति दाजुभाइको अंशवण्डाको विवादले निम्तिएको झगडा सर्वोच्च अदालतसम्म पुगेको छ। थप विवाद जेलिने क्रम जारी छ। काठमाडौंको रैथाने नेवार व्यापारी भनेर चिनिएका ज्योति समूहभित्रको विवाद अब समाधान नहुने चरणमा पुगिसकेको छ। मुद्दा अदालतसम्म पुगेर दुबै पक्षले आफ्ना दावी प्रस्तुत गरिरहेका छन्।
 
८० वर्ष पहिले मणिहर्ष ज्योतिले स्थापना गरेको व्यावसायिक घराना ज्योति परिवार अहिले तेस्रो पुस्तामा छ। तेस्रो पुस्तामा आइपुग्दा सम्पत्तिको विवाद बढ्दो छ। पद्म ज्योतिका छोरा सौरभ ज्योति आफ्नोसमेत लगानी रहेको कम्पनीविरुद्ध अदातमा पुगिसकेका छन्।

सौरभ ज्योतिले आफ्ना काका अध्यक्ष रहेका कम्पनीहरू ज्योती एण्ड कम्पनी प्रालि, इन्जिनियरिङ एण्ड सेल्स लिमिटेड, भाजुरत्न फर्मा प्रालि, हिमाल एण्ड कम्पनी प्रालि, स्यामुकापु एण्ड कम्पनी प्रालि, ज्यौति यार्न प्रोसेसिङ कम्पनी भाजुरत्न कम्पनी प्रालिसमेत म्यानेजमेन्ट सर्भिसेज प्रालि र स्याकर कम्पनी प्रालिविरुद्ध मुद्दामा गएका छन्।

रुप ज्योतिले दाइ पद्म ज्योतिका छोराहरू शौरभ र शुहृत ज्योतिले आफ्नो सम्पत्ति हत्याएको आरोप लगाउँदै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए। छलफलका क्रममा पारिवारिक सम्पत्तिको विवादमा प्रहरीले केही गर्न नसक्ने भएपछि ज्योति परिवारको विवाद अदालतमा पुगेको थियो। 

डा. रुप ज्योतिले पद्म ज्योतिका कान्छा छोरा शुहृद ज्योतिलाई दोस्रो आरोप लगाएका छन्। आफ्नो नाममा भएको भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीबाट बिक्री हुने ट्याक्टरको डिलर शुहृतले भाजुरत्न प्रालि नामक कम्पनी खोलेर खोसेको रुप ज्योतिको आरोप छ।

रुप ज्योतिले दाइ पद्म र भतिजाहरू सौरभ र शुहृतले आफ्नो नाममा भएको पारिवारिक सम्पत्ति हडपेको आरोप लगाएका छन्। पद्म ज्योति र रुप ज्योतिका बुवा मणिहर्ष ज्योतिले खोलेको ज्योति समूहमा अहिले पद्म ज्योतिको परिवारले होण्डा तथा रुप ज्योतिको परिवारले हिरो मोटरसाइकलको बिक्री गर्दै आएका थिए। अहिले हिरोको आधिकारिक बिक्रेता खोसिएको छ। यसबाहेक हिमाल स्टिल र ग्यासको स्वामित्व रुप ज्योतिसँग छ।

ज्योति समूह विगतमा दरबारको नजिक रहेको थियो। तत्कालीन राजा महेन्द्र र उनका पीता त्रिभुवनले समेत उनीहरूको परिवारमा लगानी गरेको बताइन्छ। पछि राजा वीरेन्द्रसँग पनि उनीहरूको सुमधुर सम्बन्ध रहेको थियो। २०६१ मा राजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिँदा डा. रुपज्योति अर्थसहायक मन्त्रीसमेत भएका थिए।


प्रकाशित : सोमबार, कात्तिक ५ २०८११६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend