सुरुमा नेपालमा विद्युतीय सवारीका रुपमा ट्रलिबस थियो। त्यसपछि सफा ट्याम्पो बनाउने भन्ने कुरा आयो र सफा ट्याम्पो पनि बन्यो। सन् २००४ मा रेभा भन्ने ब्रान्डको कार ल्याउने काम सुरु भयो। यो साना विद्युतीय कार हो जसमा दुईजना ठूला मान्छे र दुईजना बच्चा बस्ने मिल्ने कार थियो त्यो। जसलाई विशेष गरि दुई सिटर नै भन्ने गरिन्थ्यो।
हामीले यो कार ल्याउने प्रक्रिया सुरु गर्दा १० प्रतिशतमात्र भन्सार लाग्ने कुरा भएको थियो। तर कार आयात भएर भन्सार आइपुग्दा अन्य कारसरह राज्यले भन्सार लगाइदियो। सरकारको उक्त नीतिले रेभाका विद्युतीय कार ल्याएर बेच्नै नसकिने भयो। त्यसपछि करिब पाँच वर्ष ती गाडी भन्सारमै थन्किए।
विद्युतीय कारमा ब्याट्री महत्वपूर्ण पाटो हो। भन्सारमा रोकिएका ती रेभा कारको स्याहारसुसार गर्न हामीले एक जना प्राविधिक कर्मचारी नै त्यहाँ राखेका थियौँ। करिब पाँच वर्षपछि भन्सारले ती कार लिलाम गर्यो, त्यो लिलाम हामीले नै सकार्यौँ।
लिलाम सकारेपछि हामीले ती कार काठमाडौं ल्याएर मर्मत गरेपछि बिक्रीको तयारी गर्यौँ। त्यो कारमा हाम्रो लागत यति बढ्यो कि हामीले कुनैपनि नाफा नराखिकनै त्यसको मूल्य २५ लाख रुपैयाँ पुग्यो। सन् २००५ तिर कार भन्सार आइपुगेको थियो भने २०१० तिर मात्र हामी कार बिक्री गर्ने अवस्थामा पुग्यौँ। त्यतिबेला हामीले पाँच वटा कार ल्याएका थियौँ।
त्यतिबेला महँगो मूल्य परेकाले हामीलाई गाडी बेच्न निक्कै समस्या भएको थियो। सो समयमा हामीलाई कुन्द दीक्षित र विन रक इन्टरनेसनल संस्थाले आयातको क्रममा सहयोग गरेर ल्याउन सफल भयौँ। उहाँहरूले नै प्रयोग गरिदिनु भयो। ७/८ लाख रुपैयाँमा बेच्न सकिन्छ भनेर ल्याएको कार २५ लाख रुपैयाँ परेपछि हामी आत्तियौँ।
सामान्य नेपालीले यो कार किन्न सक्दैनन् भन्ने निष्कर्षमा हामी पुगेका थियौँ। त्यसपछि आइएनजीओ, दूतावासलगायत निकायमा हामी विद्युतीय कार किन्न आग्रह गर्दै पुग्यौँ।
वातावरण र पर्यावरणका बारेमा धेरै चासो राख्ने भएकाले उनीहरूले विद्युतीय कार किने र हामीलाई बिक्री गर्न सकिन्छ भन्ने आश बढायो।
सन् २०१३ सम्म आइपुग्दा हामीले करिब १ सय वटा कार नेपालमा ल्याएर बिक्री गर्न सफल भयौँ। त्यसपछि रेभा र महिन्द्रा २०१० मै भारतमा एकआपसमा गाभिए। २०१३ मा नयाँ कम्पनी महिन्द्रारेभा नाममा नयाँ विद्युतीय कार उत्पादन भयो। दुईवटा ढोका भएको उक्त विद्युतीय कार अलि राम्रो बनेर आयो। हामीले महिन्द्राबाट सो कार नेपाल ल्याएका हौँ।
त्यो समयमा हामीलाई विद्युतीय कारबारे मानिसलाई बुझाउन निक्कै कठिन थियो। विद्युतीय कारमा पावर हुँदैन, तान्दैन, ब्याट्रीको मूल्य महँगो भन्ने कुराहरू धेरै व्यापक थियो। त्यो समय विद्युतीय सवारीबारे नकारात्मक बुझाइ बढी थियो। विद्युतीय कार ल्याएर बिक्री गर्दा कम्पनीलाई हुने नोक्सानको त कुरै नगरौँ।
त्यतिबेला अग्नी ग्रुपका संस्थापक क्याविनेट श्रेष्ठले हामीलाई गर्नुभएको सहयोगले पनि विद्युतीय सवारीबारेको नकारात्मक धारणा बदल्न ठूलो भूमिका रहेको छ। समयक्रमसँगै रेभा चढेकाहरूले हामीलाई ठूलो कार चाहियो भने र उनीहरूले एक्सचेन्जमा कार साटे पनि। यतिबेलासम्म नेपालीहरूले समेत विद्युतीय कार प्रयोग गर्न थालिसकेका थिए।
अब उपभोक्ताहरूले दुई ढोकेको साटो, चार ढोके र अलि ठूलो कारको माग गर्न थाले। महिन्द्राले समेत उक्त कुरालाई मनन गरेर चार ढोके महिन्द्रा इटूओ कार बनायो। यो कार २०१४/१५ मा आएको थियो। इटूओसँगै इटूओ स्पोर्टस पनि केही समयपछि आयो। यो कार बेलायतमा बिक्री भएकै मोडल थियो।
त्यसपछि हामीले इसुप्रो भ्यान ल्यायौँ। यसको केही समयमा इभेरिटो सेडान कार आयो। महिन्द्राले जुनजुन कार उत्पादन गर्यो त्यो मोडल हामीले नेपाल ल्यायौँ।
त्यतिबेलासम्म भन्सार ४० प्रतिशत लाग्थ्यो, विद्युतीय कारमा। निक्कै कठिन थियो। त्यसपछि केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला विद्युतीय सवारीमा १० प्रतिशतमात्र भन्सार लाग्ने व्यवस्था भयो, यो नीतिले विद्युतीय सवारीमा नयाँ अध्याय प्रारम्भ गरिदियो।
हामीले मात्र ल्याइरहेको विद्युतीय कार नयाँ नीतिसँगै अन्य अटोमोबाइल कम्पनीहरूले पनि ल्याउन थाले। नेपालमा महिन्द्राले ल्याएको विद्युतीय कार, सर्भिस, चढ्ने उपभोक्ता देखेपछि अन्य कम्पनीहरूले पनि विद्युतीय कार पनि बिक्री हुने रहेछ भनेर ल्याए। त्यसपछि किया, हुन्डाई, बीवाईडीलगायत ब्रान्डका विद्युतीय कार नेपाल आउन थाले। अहिले त कति हो कति ब्रान्ड आइसकेका छन्। चाइनिजदेखि इन्डियन हुँदै ज्यागुअर तथा टेस्लासम्मका विद्युतीय कार नेपाल आइसकेका छन्।
त्यो १० प्रतिशतमात्र भन्सार लाग्ने व्यवस्थाले विद्युतीय कारको प्रयोगलाई यसरी बढायो कि त्यसको कुनै तुलनै छैन। यो व्यवस्थाले विद्युतीय सवारी किन्न चाहनेहरूका लागि धेरै विकल्प दिएको छ।
यसबारे हामीले के भन्दै आएका छौँ भने विद्युतीय सवारी आवश्यकताअनुसार किन्ने हो। यदि तपाईंं दिनको तीन सय किलोमिटर कुदाउनु हुन्छ भने तपाईंले विद्युतीय कार किन्ने बेला भइसकेको छैन। किनभने पूर्वाधार, चार्जिङ स्टेशन तथा सर्भिसको उपलब्धता पर्याप्त भइसकेको पाइँदैन। जसका कारण लामो यात्रा गर्दा सवारीमा समस्या आए समयमै उपयुक्त सर्भिस पाउने अवस्था छैन। त्यही कुरालाई मध्यनजर गरेर महिन्द्राले १ सयदेखि १५० किलोमिटर रेन्जका कारलाई नै प्राथमिकता दिएका छौँ। उपत्यकामा चलाउनका लागि त्यो पर्याप्त देखिन्छ।
३/४ सय किलोमिटर रेज दिने कार आए। विभिन्न विशेषतायुक्त र केही रेन्ज बढेर आएका ती कार महिन्द्राकोभन्दा स्वाभाविक रुपमा दोबर-तेबरसम्म महँगा भए। तर ती गाडी किन्नेले दैनिक कति किलोमिटर चलाउँछन्, उनीहरूको आवश्यकता कति हो भन्ने कुराको हिसाब गरेर विद्युतीय सवारी किन्नु उपयुक्त हुन्छ।
विद्युतीय सवारीको प्रयोग बढाउनमा हामीलाई धेरैले सहयोग गरे र विद्युतीय सवारीबारे भएको जुन नकारात्मक सोच थियो त्यो परिवर्तन गर्नमा सबैको साथ छ। हामी सबैको एउटै लक्ष्य भनेको वातावरणमैत्री सवारीको प्रयोगलाई बढाएर वातावरण संरक्षणमा सहयोग पुर्याउनु न हो। स्वदेशी विद्युत स्वदेशमै खपत गरि डिजेल/पेट्रोल आयात केही मात्रामा भए पनि कम गर्ने नै हो। यो मामिलामा हामी केही सफल भएका छौँ र हुँदै छौँ।
अहिले पनि विद्युतीय सवारी बिक्री गर्नेहरू घाटामै छन्। म यो भन्न सक्दिनँ कि कुनै पनि विद्युतीय सवारी बिक्रेता नाफामा छ। हामी अहिले पनि इन्टरड्युरकै फेजमा छौँ। अहिले त लगानी मात्र भइरहेको छ। अझै पनि बजारमा विद्युतीय सवारीबारे चेतना फैलन बाँकी नै छ। सहरका शिक्षित व्यक्ति र इन्टरनेटबाट हेर्न सक्नेले खोज्न सक्ने भए। तर अन्य क्षेत्रका मानिसहरू विद्युतीय सवारीबारे अझै सचेत भइसकेका छैनन्। समग्रमा भने विद्युतीय सवारीको प्रयोगबारे धेरै सकारात्मक कुरा फैलिएको छ।
चर्चित प्रिमियम ब्रान्ड टेस्लादेखि ढोका नै भत्केला जस्तो देखिने चिनियाँ कारसम्म बजारमा उपलब्ध छन्। यसले के चाहिँ पुष्टी गर्छ भने सबै मानिसले विद्युतीय सवारीलाई स्वीकार गरेका हुन्।
तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले जसरी इभीमा कर बढाइदिनु भयो। त्यसले विद्युतीय सवारी बजार त ठप्पप्रायः भयो। धेरै इभी आयातकर्ताहरू आत्तिनु भएको थियो तर हामी भने आत्तिएका थिएनौँ। हामीले ल्याएको कार मध्यमवर्गीयलाई हुने खालको थियो र त्यसलाई नै फोकस गरेका थियौँ।
म अहिले सबैलाई विद्युतीय सवारी किन्नुस् भन्छु, तर यही ब्रान्ड वा मोडल किन्नुस् भन्दिनँ। तर तपाईंले विद्युतीय सवारी किन्नुअघि आवश्यकताको विश्लेषण भने पक्का गर्नुस्। तपाईं हरेक दिन २/३ सय किलोमटर यात्रा त गर्नु हुन्न? त्यसैले दैनिक कति किलोमिटर यात्रा गर्ने हो र कुन गाडी किन्दा पुग्छ त्यही किन्नुस्। थोरै लगानी गर्दा आवश्यकता पूरा हुन्छ भने धेरै किन गर्नु! पैसा फाल्नुअघि एक पटक सोच्नुस् भन्ने आग्रह हो मेरो।
मलाई के लाग्छ भने, अब सरकारले दुई तीनवटा काम गरेमा विद्युतीय सवारीको प्रयोग उल्लेख्य बढ्नेछ। पहिलो कुरा त सरकारले विद्युतीय सवारीमा लगाउँदै आएको करलाई सकेसम्म शून्यमा झार्नु पर्छ। शून्यमा नझार्ने हो भने पनि घटाउनु पर्यो।
अर्को कुरा, विद्युत खपतका लागि सरकार आफैँ बजार खोजिरहेको छ। विद्युतीय सवारीको प्रयोग बढाउने र त्यसका लागि चाहिने डेडिकेटेड लाइन दिने कुरालाई सहज बनाउनु पर्छ।
चार्जिङ स्टेसनमा प्रयोग हुने विद्युतको महशुल कम गराउनु पर्छ। त्यसका लागि केही काम भइरहेका पनि छ र यसलाई तीब्रता दिनुपर्छ। साथै व्यक्तिले घरमै विद्युतीय सवारी चार्ज गर्छ भने उसका लागिसमेत विद्युत महशुलमा सहुलियत दिने विषयमा सरकारको ध्यान जानु पर्छ।
विद्युतीय सवारीको अर्को कुरा ब्याट्रीको हो। अहिले विद्युतीय सवारीमा लिथियम आयन ब्याट्री प्रयोग हुँदै आएको छ। यो अझै परिस्कृत हुँदै छ। विगतमा लिड एसिड ब्याट्री हुन्थ्यो। यो बिग्रिए पूरै फेर्नुपर्थ्यो। तर अहिलेको लिथियम आयन ब्याट्री विभिन्न सेलमा हुन्छन् र जुन सेल बिग्रियो त्यही फेरे हुन्छ।
सवारीमा प्रयोग गरेर फेरिएका यी लिथियम आयन ब्याट्री सवारीमै प्रयोग नभए पनि अन्य प्रयोजनमा भने प्रयोग गर्न सकिन्छ। लाइट बाल्नका लागि ती ब्याट्री प्रयोग गर्न सकिन्छ। त्यसको आयु अर्को ५/७ वर्ष पुनः हुन्छ। ब्याट्रीको पुनः प्रयोगका बारेमा संसारभर ठूलो अध्ययन अनुसन्धान भइरहेकाले केही न केही उपायहरू पक्कै निस्कन्छ होला।
त्यसैले अबको समय भनेको विद्युतीय सवारी नै प्रयोग गनुपर्छ। हाम्रो वातावरण जोगाउन हामीले नै पहल गर्ने हो। त्यसमा विद्युतीय सवारीको प्रयोग महत्वपूर्ण हो।
(लेखक भण्डारी अग्नी इनर्जी प्राइभेट लिमिटेडका असिस्टेन्ट जनरल म्यानेजर हुन्।)