बिहीबार , असोज ३ गते २०८१    
images
images

बिर्तामोडको खानेपानीलाई उत्कृष्ट बनाएका जलकुमारले मेची आँखा अस्पताललाई दिए पुनर्जीवन

images
सोमबार, साउन २८ २०८१
images
images
बिर्तामोडको खानेपानीलाई उत्कृष्ट बनाएका जलकुमारले मेची आँखा अस्पताललाई दिए पुनर्जीवन

अहिले बिरामीबाहेक अन्य आगन्तुकका लागि पनि घुम्नलायक ठाउँ बनेको छ मेची आँखा अस्पताल। सुन्दर बगैँचा र आकर्षक संरचनाले सेल्फी खिच्नेको भिड नै लाग्छ। जलकुमार आफै पनि आगन्तुक र बिरामीसँग फोटो खिचेर रमाउँछन्।

images
images

इटहरी- एउटै व्यक्ति हरेक संस्थाको नेतृत्वमा सफल हुन कति सम्भव छ? खण्डहर र बन्द हुने अवस्थामा पुगेका हरेक सामुदायिक संस्थाको पुनर्जीवन एउटै व्यक्तिको कारणमात्र होला कि नहोला? के व्यक्ति फेरिँदैमा संस्थाको उलटफेर सम्भव छ त? 

images
images
images

बिर्तामोडका जलकुमार गुरुङको कामलाई हेर्ने हो भने यी प्रश्नको जवाफ हुन्छ- सम्भव छ। जलकुमारले त्यो प्रमाणित गरिसकेका छन्। आफूले सम्हालेका प्रत्येक संस्थालाई व्यवस्थितमात्र होइन कायापलटनै गरिदिएका छन्। 

दुई वर्षअगाडिसम्म बिर्तामोडको मेची आँखा अस्पताल दुर्गन्धित र झार जंगलले घेरिएको अवस्थामा थियो। बिरामीहरू अति नै बाध्यतामा परेपछिमात्र अस्पताल जाने गर्दथे। मुख्यतः भारतबाट सस्तोमा उपचार गराउने बिरामीले मात्र मेची आँखा अस्पताल खोज्थे। बिर्तामोड आसपासका बिरामीलाई समेत मेची आँखा अस्पतालबारे थाहा थिएन। वरपरका बिरामी पनि बिर्तामोड बाहिर नभए काडमाडौं नै जाने गरेका थिए। 

अहिले बिरामीबाहेक अन्य आगन्तुकका लागि पनि घुम्नलायक ठाउँ बनेको छ मेची आँखा अस्पताल। सुन्दर बगैँचा र आकर्षक संरचनाले सेल्फी खिच्नेको भिड नै लाग्छ। जलकुमार आफै पनि आगन्तुक र बिरामीसँग फोटो खिचेर रमाउँछन्।

images

मेची आँखा अस्पताल अहिले पूर्वी नेपालको सबैभन्दा व्यवस्थित आँखा अस्पताल बनेको छ। भारतका विभिन्न क्षेत्रबाट आउने बिरामीले भरिएको हुन्छ अस्पताल। यो अस्पताल ‘आइ केयर फाउन्डेसन’को अग्रसरतामा २० वर्ष अगाडि उपकरण र कर्मचारीसहित सञ्चालक समिति गठन गरेर हस्तान्तरण भएको हो। प्रथम राष्ट्रपति रामवरण यादवले उद्घाटन गरेको अस्पताललाई आइकेयर फाउन्डेसनले बारम्बार सहयोग गरिरहेको छ। 

भारतको आसाम र मणीपुरका मजदूरहरू सबैभन्दा धेरै आउने गरेको अध्यक्ष जलकुमार बताउँछन्। पहिला ८० प्रतिशतभन्दा बढी भारतका बिरामी आउने गरेका थिए। यसबीचमा नेपालका बिरामीको संख्या पनि सोही अनुपातमा बढ्दै गएको अस्पतालको तथ्यांक छ।

विगतमा पाँचवटा कार्यसमिति आउँदा पनि चलायमान हुन नसकेको अस्पतालमा जलकुमारले जादुमय परिवर्तन गरेको स्थानीय बताउँछन्।

jalkumar mechi eye (4).jpg

तीनवर्षे कार्यकालमा उनले दुईवर्ष बिताइसकेका छन्। बाँकी एक वर्षमा आफूले चाहेजति काम सक्ने उनको योजना छ। सोहीअनुसार अस्पतालमा लिफ्ट जडान गर्नेदेखि रिफ्रेसमेन्ट सेन्टरको स्थापना धमाधम भइरहेको छ। 

चार बिगाहा जग्गामा फैलिएको अस्पताललाई नयाँ संरचनामा पुनः निर्माण गरिएको छ। मेची आँखा अस्पतालमा स्थानीयमात्र नभएर सिराहा, सप्तरी र धनुषा र भारतका विभिन्न सहरसम्मका बिरामी आउने गरेको जलकुमार सुनाउँछन्। सोहीअनुसार आँखाको उपचारमा आवश्यक पर्ने जुनसुकै प्रकारको उपकरण व्यवस्थापन भएको उनले बताए।

अस्पताल व्यवस्थित भएपछि कम्पाउण्ड बाहिर क्याफे, रेस्टुरेन्ट र नयाँ आँखा क्लिनिकहरू धमाधम खुल्न थालेका छन्। जसले गर्दा बिर्ता बजारको रौनक बढाएको छ।  

स्थापना कालदेखि नै कार्यसमिति सदस्य रहेका जलकुरमार यो अस्पतालबाट सबैभन्दा बढी सुविधा कसरी दिन सकिन्छ भन्ने ध्याउन्नमा लागेको बताउँछन्। अध्यक्ष भएपछि सरसफाइबाट अभियान सुरु गरेका उनले अहिले अस्पताललाई स्टार होटेलस्तरको सुविधा सम्पन्न बनाएका छन्। बिरामी कुरुवालाई पनि एसीसहितको व्यवस्थित हलमा राख्ने तयारीका साथ काम भइरहेको छ। 

jalkumar mechi eye (2).jpg

काठमाडौंको तिलगंगा जाने बिरामीलाई मेची आँखा अस्पतालमा आउनेसम्म बनाएको उनले सुनाए। भर्खरै रिफ्लेक्टीभ लेजर बनाउने मेसिन पनि जडान गरिएको उल्लेख गर्दै जलकुमारले ‘मातृका आइ केयर फाउन्डेसन’को सहयोगमा १४ करोडको मेसिन ल्याएको बताए। 

‘भारतमा अपरेसन गर्न महँगो हुने र लामो समय कुर्नुपर्ने भएपछि बिरामी यहीँ आउने गरेका छन्। अधिकांश मजदूर र वृद्धवृद्धा आँउछन्। उनीहरू होटेलमा पनि बस्न सक्दैनन्। त्यसैले बिरामीलाई बस्न मिल्नेसरि अस्पतालको पुनर्संरचना गरिएको छ। बिरामी कुरुवा सुत्ने हलमा एसीको व्यवस्थापन गर्ने काम भइरहेको छ’ उनले भने, ‘पेइङ वार्डमा जम्मा एक हजार लिने गरेका छौँ। पेइङ वार्डमा बस्नेलाई बसैकै ठाउँमा डाक्टरले उपचार गर्छन्। त्यो सुविधा मिलाइएको छ।’

नयाँ व्यवस्थित हल बनाउने र चमेना गृहको व्यवस्थापनको तयारी भइरहेको छ। हाल स्थायी चिकित्सक ९ जना र अन्य फेलोसिप चिकित्सकले सेवा प्रवाह गरिरहेका छन्। २ सय ९० जना कर्मचारी कार्यरत अस्पतालको आफ्नै आम्दानीबाट सम्पूर्ण व्यवस्थापन भएको छ। कोभिडको महामारीलगायत कारण एक करोड रुपैयाँभन्दा बढी घाटामा रहेको अस्पताल अहिले नाफामा जाँदै छ। अस्पतालको सुविधासँगै आम्दानीपनि वृद्धि भएको छ। 

jalkumar mechi eye (3).jpg

खानेपानी नेतृत्वमा हुँदा चमत्कार

केही वर्ष अगाडिसम्म बिर्तामोडमा पानीको हाहाकार नै थियो। पानी अभावले बिर्तामोडको विकासमै बाधा पुगिरहेको थियो। खानेपानी संस्थालाई ग्राहकले गाली गर्ने मात्र होइन तोडफोड गर्नेसम्मको धम्की दिन्थे। तीन दिनमा तीन घण्टामात्र पानी आपूर्ति भएपछि संस्थाविरुद्ध आन्दोलन हुन्थ्यो।  

केही वर्षदेखि त्यो सबै सम्झनामा सीमित छ। अभावको समस्या नदोहोरिएको वर्षौँ बितिसकेको छ। खानेपानीको अध्यक्षमा जलकुमार चयन भएपछि एकपछि अर्को समस्या हल हुँदै गयो। उनले नेतृत्व गरेको दुई वर्ष नपुग्दै चौबिसै घण्टा पानी आपूर्ति हुन थालेको स्थानीय मनोज बुढाथोकी बताउँछन्। चमत्कारै गरेजस्तो गरेर खानेपानीको व्यवस्थापन गरेको उनले बताए।

त्यसअघि एउटा ट्यांकीमा एउटैमात्र बोरिङ हुन्थ्यो। जसले ट्यांकी भरिनलाई लामो समय लाग्ने गरेको थियो। उनले एउटै ट्यांकीमा थप बोरिङ गराउने निर्णय गरे। दुईवटा बोरिङ गाडेर फिल्टर वाटर ट्यांकीमा जम्मा गराए। त्यसपछि पानीको सप्लाई एकै पटक दोबर भयो। आकस्मिक रूपमा समाधान हुँदै गयो। त्यसपछि ट्यांकीसँगै बोरिङ पनि थप्दै गए। जसले खानेपानीको आपूर्तिमा कुनै समस्या आउन दिएन। 

८ सय धाराको नेतृत्व गरेका उनले ९ हजार धारामा नियमित पानी पुर्‍याउने गरी व्यवस्थापन गरेको बताए। भद्रगोल अवस्थाको खानेपानी संस्थालाई नियमित आपूर्तिमा पुर्‍याएको उनको दाबी छ। लोडसेडिङको अन्त्य भएपछि पनि टेवा पुगेको बताउँदै उनले खानेपानीमा दिनरात काम गरेर नतिजा निकालिएको बताए। 

स्थानीय जनताले खानेपानीमा गरेको विषयमा प्रशंसा गर्दा खुसी हुन्छन् उनी। जलकुमारले बिर्तामोड खानेपानी संस्थालाई तीन पटकसम्म देशकै उत्कृष्ट घोषित गराउन सफल भए। जलकुमार भन्नेबित्तिकै खानेपानी भनेर चिनिने पहिचान बनाएका छन् उनले। 

झापा फुटबलका अभिभावक 

झापा ११ फुटबल क्लबका हिमायती हुन् जलकुमार। उनी झापा जिल्ला फुटबल संघको उपाध्यक्ष भएको बेला बालाचीत राई अध्यक्ष थिए। अध्यक्ष निष्क्रिय भएपछि जलकुमारले अध्यक्ष सम्हाले। ‘त्यसबेला झापाका प्रत्येक गाउँमा फुटबल प्रतियोगिता हुन्थ्यो। एन्फाले एनसेल कप गर्ने गरेको थियो। एन्फाले गरेको प्रतियोगितामा उपत्यकाबाहिरका ४ वटा टिम सहभागी हुन पाउँदा पहिलो पटक झापा ११ सहभागी भएको थियो,’ उनी स्मरण गर्छन्। 

क्लबको पछाडि ११ लेख्ने चलनअनुसार नै ‘झापा ११’ नाम राखिएको बताउँछन् जलकुमार। सोही टिमलाई जलकुमारले काठमाडौंमा हुने प्रतियोगितामा सहभागी हुन पठाए। खेलाडीलाई समस्या पर्दा गोजीकै पैसा खर्च गरेर उनले सहयोग गर्ने गरेका छन्। खेलाडीको मनोबल उच्च बनाउन हरहमेसा खडा हुन्छन् जलकुमार। जसले गर्दा झापा फुटबलको टोलीले उनलाई अभिभावक मान्ने गरेको छ। 

२०७२ सालमा प्रतियोगिता जारी रहेको बेला भूकम्पको कारण ६ महिना खेल सरेको थियो। झापा ११ प्रतियोगिताको उपाधि नजिक पुग्ने अवस्था बन्दै गएको थियो। पछि एन्फाले थ्री स्टारलाई च्याम्पियन बनायो। यसमा उनलाई दु:ख लागेको छ। 'झापा ११ लाई ए डिभिजन मान्यता नदिनको लागि एन्फामा राजनीति हुने गरेको छ’ उनले भने, ‘झापा ११ को नाम सुन्नै नचाहने पनि धेरै छन्। उपत्यका बाहिरबाट ए डिभिजनमा जाने पहिलो क्लब बन्छ भन्ने धेरैलाई मन परेको छैन।’

झापा ११ सँगै झापा एफसी भन्ने नयाँ क्लब दर्ता भएको छ। जुन बी डिभिजनमा पुगिसकेको उनले बताए। झापाका क्लबलाई ‘ए डिभिजन’मा पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छन् जलकुमार। 

भूपू सैनिकको पेन्सनमा सफलता 

पाँचथरको रानीटारमा जन्मिएका जलकुमार सन् १९७८ मा ब्रिटिस आर्मीमा भर्ती भए। प्लान्ट अपरेटरसमेत रहेका उनी आर्मीबाट रिटायर भएपछि हङकङको एयरपोर्ट निर्माणमा काम पाए। केही वर्ष हङकङ बसेर उनी नेपाल फर्किए। उनका सहकर्मीहरू सबै लन्डनमा छन्। 
गोर्खा भूतपूर्व सैनिक संघको झापा अध्यक्षता भएर उनले त्यही बेला आन्दोलनको नेतृत्व गरे। २१ सय पेन्सन पाउँदै गरेका भूपू सैनिकले १९ हजार रुपैयाँ पाउने व्यवस्था मिलाउन सफल भएको उनको दाबी छ। सोही अनुपातमा पेन्सन बढ्दै गएपछि धेरैलाई राहत मिलेको उनी बताउँछन्। 

त्यससँगै तमु गुरुङको संस्थागत विकासमा लागेका उनी नेपाली कांग्रेसको झापा जिल्ला कोषाध्यक्ष हुन्। महासमिति सदस्य निर्वाचनमा अत्यधिक मत पाएर विजयी भएका उनी २०७४ को निर्वाचनमा झिनो मतान्तरले बिर्तामोडको मेयरमा पराजित भएका थिए। झापामा लोकप्रिय छबि बनाएका उनी राजनीतिलाई समाजसँग जोडेपछि मात्र समग्र विकासको चेतना बढ्ने बताउँछन्।


प्रकाशित : सोमबार, साउन २८ २०८१०९:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend