म्याग्दी- पर्वतको जलजला गाउँपालिका-७ धाइरिङ मिलनचोकका युवा किसान दीपक शर्मालाई विदेश जाने सोच नआएको पनि होइन। गाउँका साथीभाइ रोजगारीको लागि विदेश जान थालेपछि शर्माले पनि राहदानी बनाएका थिए तर जब विदेश पुगेका साथीहरूले प्रवासमा पनि पैसा कमाउने संघर्षको दु:ख सुनाए तब उनले पासपोर्ट बाकसमा थन्क्याएर स्वदेशमै आत्मनिर्भर बन्न कृषि पेशा अंगाले।
पौरखी किसान शर्माले व्यावसायिक ताजा तरकारी उत्पादन गरेर राम्रो आम्दानी गर्दै आएका छन्। कुनै समय विदेश जान राहदानीसमेत बनाएका किसान शर्मा अहिले भने गाउँका अन्य युवामाझ समेत जीविकोपार्जन र घरखर्च चलाउनकै लागि विदेश पलायन हुनुपर्दैन भन्ने उदाहरण बनेका छन्।
विदेश गएकाहरूले समेत पैसा कमाउन सहज नभएको खबर सुनाउँदा शर्मा स्वदेशमै घरपरिवारसँग बसेर आफ्नै गाउँठाउँमा खेतबारीमा पसिना बगाएर आत्मनिर्भर बन्न पाउँदा खुसी छन्।
बुबाआमाले अंगालेको निर्वाहमुखी परम्परागत कृषि पेशालाई व्यवसायिक बनाउँदै दीपक र उनकी श्रीमती सीता शर्मा अहिले गाउँपालिकाकै अगुवा र सफल किसानको रुपमा परिचित छन्।
खेतबारीमा तरकारी फलाउने र बिक्री गर्ने दैनिकी अंगालेका शर्मा दम्पत्ती कृषि पेशाबाट सन्तुष्ट छन्। स्वदेशमा माटोमा पसिना बगाएर तरकारी फलाउन र पैसा कमाउन सकिन्छ भन्ने उदाहरण बनेका शर्मा दम्पत्ती रोजगारका लागि विदेश पलायन नै हुनुपर्छ भन्ने पछिल्लो धारणालाई चिर्न सफल भएका छन्।
शर्माले अहिले मिलनचोकमा आफ्नै र म्याग्दीको बेनी नगरपालिका-१ लामाबगरमा पाँच रोपनी भाडाको जग्गासमेत गरेर १२ रोपनी क्षेत्रफलमा तरकारी लगाएका छन्। हिउँदका समयमा १५ रोपनी सम्ममा तरकारी लगाउने उनले बताए।
वार्षिक ९ लाख रुपैयाँसम्मको तरकारी बिक्री गर्ने र खर्च कटाएर ७ लाख रुपैयाँसम्म नगद आम्दानी हुने उनको अनुभव छ।
हरेक बिहानदेखि साँझ अबेरसम्म शर्मा दम्पत्ती तरकारी खेतीको काममा व्यस्त हुन्छन्। ३८ वर्षीय दीपकले कृषि पेशामा परिश्रम गरे राम्रो आम्दानी लिन सकिने अनुभव सुनाए।
लामाबगर स्थित करिब ७ रोपनी खेत वार्षिक रुपमा १ लाख २० हजार रकम बुझाउने गरी जग्गा भाडामा लिएका शर्मा दम्पत्तीले काँक्रो, सिमी, बोडी, भेन्टा, लौका, करेला, घिरौला र खुर्सानीलगायतका तरकारी फलाएका छन्। उत्पादन भएको ताजा तरकारी लिन बेनीका व्यवसायीहरू घरमै आउने भएकाले बजारको अभाव नभएको उनको भनाइ छ।
कृषि पेशामा धेरै दुःख पनि भएको र कमाइ पनि भएकाले आफ्नै माटोमा पसिना बगाउन पाउँदा खुसी र गौरवको अनुभूति हुने उनको भनाइ छ।
कृषि पेशाबाट भएको आम्दानीले शर्मा परिवारले सजिलै घरखर्च चलाएका छन्। घरमै कृषि पेशा गर्दा परिवार छुट्टिएर बस्नुपर्ने अवस्था नआउने भएकाले आफूहरूले यहि पेसालाई निरन्तरता दिने सीताको भनाइ छ।
तरकारी बिक्रीको रकमबाट परिवारको जीविका चल्नका साथै छोराछोरीको पढाइ खर्च, औषधिउपचार र छरछिमेकलाई समस्या पर्दा सरसापट दिन सक्ने र केही रकम बचतसमेत गर्ने गरेका शर्मा दम्पत्ती सफल देखिएका छन्।
विभिन्न समयमा सरकारी निकायबाट पाउने तालिम र अनुदानले उनीहरूलाई कृषि पेशामा थप सक्रिय भएर लाग्न हौसला मिल्ने गरेको छ।
आफूले अंगालेको कृषि पेशा छोरा बुहारीले निरन्तरता दिएर बुढेशकालको साहरा बनेकोमा शर्माका बुबाआमा पनि खुसी छन्। छोरा दीपकले आफ्ना आमाबुबाले गरेकै कृषि पेसालाई व्यावसायिक र आधुनिकीकरण गरेका हुन्। छोराबुहारीले उन्नत तवरले गरेको कृषि खेतीले आफूहरूलाई सन्तोष मिलेको आमा भद्रकली शर्मा बताउँछिन्।
युवाहरू रोजगारका लागि विदेश पलायन हुने क्रमले गाउँघरमा कतिपय घरहरूमा बृद्धबृद्धाहरू एक्लै बस्नुपर्ने बाध्यता आएको समयमा पौरखी शर्माको परिवार भने खुसी भएर एकसाथ आत्मनिर्भर बनेका छन्। रासस