शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

बाँदर आतंकले आजित छन् बागलुङका किसान, बसाइँसराइ गर्ने क्रम बढ्दो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन २७ २०८१
images
images
बाँदर आतंकले आजित छन् बागलुङका किसान, बसाइँसराइ गर्ने क्रम बढ्दो

युवा विदेशिने र गाउँमा बूढापाका मात्रै भएकाले घर छेउकै खेतबारी झाडीमा परिणत भएका छन्। जसका कारण बाँदरलगायत वन्यजन्तु सजिलै घरमा छिर्ने गरेका स्थानीयले बताएका छन्।

images
images

बागलुङ- एक दशक अगाडि बागलुङका ग्रामीण क्षेत्रमा बाक्लो बस्ती थियो। स्थानीयले बारीभरि मकै, कोदो र गहुँ उत्पादन गर्थे तर पछिल्लो समय यहाँ बस्ती सुनसान छन्। यहाँ बसाइँसराइ गर्ने क्रम बढ्दो छ। गाउँमा भएका कोही युवा विदेश त कोही सहर छिरिसकेका छन्। अहिले यहाँ अधिकांश बूढापाका मात्रै छन्। 

images
images
images

'उब्जाउने जमिन त छ तर बाँदरले गरिखान दिँदैनन्। जेनतेन खेतीपाती गरे पनि भित्र्याउन पाइँदैन, बाँदरले बारीमै नष्ट गरिसक्छन्', जैमिनी नगरपालिका-४ की मायादेवी पौडेल भन्छिन्, 'खानैका लागि बजारको अन्नमा भरपर्नु परेपछि यहाँ बसेर के गर्नु! भनेर धेरैले यहाँबाट बसाइँ सर्दैछन्।'

उनले गाउँमा रहेका केही किसान पनि जीविकोपार्जनका लागि गरिएका बालीनाली बाँदरले नष्ट गरिदिने समस्याले आजित भएका बताइन्। बाँदर आतंककै कारण धेरैले बसाइँ सरिसकेका र बाँकी रहेकाहरू पनि बसाइँसराइ गर्न बाध्य भएको उनको भनाइ छ। 

images

एक दशकअघिसम्म गाउँमा देखा नपरेको बाँदर अहिले हुलका हुल बारीमा आउँछन्, तरकारीदेखि खाद्य बाली केही नराखी नष्ट गरिदिन्छन्। जसले गर्दा गाउँका किसान आजित भएका हुन्।

images

जिल्लामा बसाइँसराइ गरी बजार झर्ने र विदेश जानेमध्ये गलकोट र जैमिनी नगरपालिका तथा काठेखोला गाउँपालिकामा बढी छन्। युवा विदेशिने र गाउँमा बूढापाका मात्रै भएकाले घर छेउकै खेतबारी झाडीमा परिणत भएका छन्। जसका कारण बाँदरलगायत वन्यजन्तु सजिलै घरमा छिर्ने गरेका स्थानीयले बताएका छन्। 

बाँदरले करेसाबारीमा लगाएका बाली मात्रै होइन घरको बार्दलीमा झुण्ड्याएर राखिएका सामानसमेत नष्ट गरिदिने कृषक पौडेलले बताइन्।

'यसपटक पनि बारीमा लगाइएको मकैले घोगा हाल्न थालेसँगै बाँदरले बोट नै सखाप पारिसक्यो। बँचेका बाली जोगाउन एकजना कुरुवा भएर दिनभर खटिनुपर्ने बाध्यता छ', उनले सुनाइन्, 'पहिला-पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, पाँच-सात सयको हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्नँ।'

काठेखोला गाउँपालिका-५ का बलिभद्र कँडेल बाँदरले उठिबास लाउने अवस्था आएको गुनासो गर्छन्। 'बाँदरले बारीमा लगाएको केही पनि बाँकी राख्दैनन्, एउटा बारीको मकै १० मिनेटमै सोत्तर बनाइदिन्छ, हामीलाई त बाँदरले उठिबास लगाउने भयो, बाँदर धपाउने अनेक उपाय अपनाइयो तर केही लागेन, कहिले त घरभित्रै आएर सबै सामान नष्ट गरिदिन्छ', उनले भने। 

पहिले केही आवाज आउने वस्तु बजाउँदा भाग्ने बाँदर अचेल उल्टै मान्छेलाई नै आक्रमण गर्न आउने कारणले थप समस्या भएको कँडेल बताउँछन्।

'पहिले भाग्ने गरेको बाँदर सचेत निकै चलाख र बाठो हुँदै गएको छ। आवाज मात्रै होइन मान्छे नै खटिए पनि टेर्दैनन्, उल्टै आक्रमण गर्न आउँछन्। अब सरकारले नै समस्या समाधानका लागि पहल नगर्ने हो भने बाँकी रहेकाहरू पनि गाउँ छाडेर जान बाध्य हुने अवस्था आउँदैछ।' रासस 


प्रकाशित : आइतबार, साउन २७ २०८११०:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend