शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

संकटको सारथि आन्तरिक पर्यटनका लागि पर्यटन काज तत्काल कार्यान्वयन गर्नुपर्छ : बसन्त मिश्र [अन्तर्वार्ता]

images
आइतबार, पुस १८ २०७८
images
images
संकटको सारथि आन्तरिक पर्यटनका लागि पर्यटन काज तत्काल कार्यान्वयन गर्नुपर्छ : बसन्त मिश्र [अन्तर्वार्ता]
images
images

कोरोना महामारीको पहिलो प्रभाव यात्रामा पर्‍यो। आवतजावत ठप्प भयो। मान्छेहरू घरभित्रै सीमित भए। एक देशदेखि अर्को देश त के अर्को सहरमा जानै कठीन भयो। यसबाट समाजका सबै क्षेत्र र अंग प्रभावित भए। उद्योग व्यापार, रोजगारी र आम्दानी सबै खुम्चिए। यस्तोमा सबैभन्दा धेरै प्रभावित हुने क्षेत्र बन्यो पर्यटन। यात्रामा निस्किएका मान्छेहरूबाट व्यापार गर्न खोलिएका होटल रेष्टुरेन्टदेखि एयरलाइन्ससम्म व्यापार शून्य भए। त्यस्ता ठाउँमा रोजगारी गर्नेहरू आम्दानीबाट विमुख भए। संसारभर नै यस्तै प्रभाव देखियो। नेपालमा पनि करिब यस्तै भयो। 

images
images
images

कोरोनाकालमा पर्यटन क्षेत्रले १० अर्ब रूपैयाँभन्दा बढीको क्षति बेहोरेको प्रारम्भिक अनुमान थियो। यसको खास प्रभाव अझ धेरै परेको सरोकारवालाको भनाइ छ। पछिल्लो समय कोरोनाविरुद्धको खोप तीव्र हुँदा विदेशी पर्यटक आउने क्रम बढेको छ। तर धेरै होइन। सामान्य छ। यस्तोमा धेरै त नेपालीहरू नै घुम्न निस्केका छन्। नेपालीहरूकै कारणले होटल रेष्टुरेन्टदेखि एयरलाइन्सले व्यापार पाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२१ मा आन्तरिक उडान शतप्रतिशतले वृद्धि भएको छ। काठमाडौंका पाँचतारे बाहेकका होटलले व्यापार पनि राम्रो पाइरहेका छन्। प्रस्तुत छ आन्तरिक पर्यटनको अवस्था, सम्भावना र भविष्यका बारेमा केन्द्रित रहेर पर्यटन व्यवसायी वसन्त मिश्रसँग बिजनेस न्युजका लागि उत्तम काप्रीले गरेको कुराकानी :

images

कोरोना संकट सुरु भएसँगै ठप्प भएको पर्यटन क्षेत्रले विस्तारै लय समाउँदै छ। तर पनि बाह्य पर्यटन आगमन सहज कहिलेबाट होला भन्न सक्ने अवस्था छैन। आन्तरिक पर्यटनकै कारण यो क्षेत्र चलायमान देखिएको छ। नेपालको पर्यटन क्षेत्रको विकासका लागि आन्तरिक पर्यटनको भूमिका के हुनसक्छ र यसलाई कसरी अगाडि बढाउन सकिन्छ?

images

कोरोना संकटसँगै पर्यटन क्षेत्रमा संकट देखिएको थियो। कोरोनाकालमा यो क्षेत्रले अतुलनीय क्षति पनि बेहोर्न बाध्य भयो। यो नियति संसारभर देखियो। कोरोनाको प्रभाव न्यून हुँदै गएपछि आन्तरिक पर्यटनका कारण यो क्षेत्र चलायमान देखिएको अवश्य हो।

आन्तरिक पर्यटनका कारण नै आज यो क्षेत्र जीवित छ। अझै केही समय आन्तरिक पर्यटन नै व्यवसायको आधारक्षेत्र हो। यसमा कुनै दुबिधा छैन।

अहिले नेपालीमा घुम्न पर्छ भने भावन जागृत भएको छ। जुनसुकै चाडपर्व होस्, बिदामा घर बस्ने होइन घुम्ने हो भन्ने संस्कार विकास भएको छ। यो अवस्थामा आउनुमा स्कूले विद्यार्थीको प्रेसरले बुबाआमालाई घुम्न जानु पर्ने भएको हो।

युवा पुस्तामा पनि घुम्ने ट्रेन्ड आएको छ। धार्मिक सम्पदादेखि ट्रेकिङसम्म जाने युवाको संख्या बढ्दो छ। यसको रिजल्ट पनि राम्रो देखिएको छ। बिदाको दिनहरूमा काठमाडौं आसपासका होटल तथा रिर्सोटमा भरिभराउ देखिन थालेका छन्। यसले पर्यटन क्षेत्रमा उत्साह ल्याएको छ। नेपालीले पनि घुम्न निस्कँदा रेटमा पनि बार्गेनिङ गरेको भनेर सुन्नु परेको छैन। सबै होटल तथा रिसोर्टले नेपाली ग्राहकलाई सहज हुने गरी सेवा दिएका छन्। व्यवसायीले नाफा पनि राखेकै छन्। यो नै आन्तरिक पर्यटनको राम्रो पक्ष हो।

एक दशक पहिले अवस्था यस्तो थिएन। होटलदेखि एयरलाइन्ससम्म विदेशी आउँदामात्र चल्ने अवस्था थियो। तर अहिले अवस्था फेरिएको छ। उल्लेखनीय संख्यामा विदेशी नआउँदा पनि आन्तरिक उडानका एयरलाइन्सले राम्रो व्यापार गरिरहेका छन्। होटल रिसोर्टले पनि सप्ताहन्तमै सही व्यापार पाइरहेका छन्। 

कुनै पनि मुलुकको पर्यटन उद्योग कत्रो छ भनेर हेर्नका लागि सबैभन्दा पहिला आन्तरिक पर्यटनलाई हेरिन्छ। विश्वका कयौं मुलुकमा पनि आन्तरिक पर्यटनलाई बलियो आधारका रुपमा लिने गरिन्छ। नेपालमा निजी क्षेत्र तथा सरकारी तहबाट यसका लागि के हुनुपर्छ? 

सरकारी तथा निजी क्षेत्रबाट पनि घुम्नका लागि  प्रोत्साहन गरेका छौँ। आन्तरिक पर्यटकहरू पनि घुमिरहेका छन् र घुम्न निस्केका पनि छन्। बिदाको समयमा अहिले घर बस्ने संस्कार घटेको छ।

आन्तरिक पर्यटकले पर्यटन क्षेत्रलाई सहयोग गरेको छ। व्यवसाय र व्यवसायी दुबै बाँचेका छन्। यसले देशलाई चिनाउने काम पनि गरेको छ। अहिले पूर्वका मान्छे सुदूरपश्चिम पुगेका छन् भने सुदूरपश्चिमका मान्छे पूर्व पुगेका छन्। यसको अर्थ पर्यटकीय क्षेत्रमा विस्तार आएको छ। बिदाको समयमा मोटरसाइकलमा मनाङ, मुस्ताङ, रारादेखि डोल्पासम्म पुगेका छन्।

पोखरा, चितवन, जनकपुर लगायतका सबै गन्तव्यमा आन्तरिक पर्यटकको भिड बढ्न थालेको छ। सम्रगमा समस्त क्षेत्रमा नेपालीहरू छरिएर घुम्न निस्केका छन्। यसबाट देशमा के भइरहेका छ, देशको अवस्था के छ, पूर्वधार विकास कसरी भइरहेका छ, मान्छेको लिभिङस्तर कस्तो रहेछ भन्ने विषय पनि बोध गराएको छ। तर यसमा २/४ वटा कुरा गर्नैपर्ने थियो त्यो भएको छैन।

आन्तरिक पर्यटनका लागि गर्नैपर्ने कामहरू के छुटेका छन्? 

हामीले गर्नैपर्ने केही विषय छुटेका छन्। अझ केही बिग्रिसकेको त छैन। अझै पनि गर्न सक्छौँ।

एउटा विषय हो- कतिपय गन्तव्यमा गएका नेपालीहरू त्यो गन्तव्यमा नै नपुगि फर्केका छन्। किन उनीहरू फर्किए त्यस विषयमा जानकारी हुनुपर्छ।

केही दिन अगाडि मात्रै एउटा मान्छे सगरमाथा आधारशिविर जान्छु भनेर हिँड्छ। तर ऊ गन्तव्यमा पुग्न सकेन। उसले ज्यान नै गुमायो। यसका लागि नेपाल पर्यटन बोर्डले नयाँ तथा पुराना टुर अपरेटहरूलाई (जो यो व्यवसायमा लागेका छन्) सूचना दिन सक्ने बनाउनु पर्छ।

यो सिजनमा यो ठाउँमा जाँदा राम्रो हुन्छ। यो ठाउँ यो सिजनामा जाँदा यसरी तयारी गर्नु पर्छ भनेर सूचना दिन सक्ने बनाउनु पर्छ। र सूचना दिनु पर्छ। यो सिजनमा हेलिकप्टरमा जाने गन्तव्य यो हो। मोटरसाइकलमा जाने गन्तव्य यो हो। यो ठाउँमा गाडीमा जानु । यस्तो कपडाको व्यवस्थ गरेर जानू। यो सिजनमा यो ठाउँमा नजानू। उच्चपहाडी क्षेत्रमा जाँदा यी कुराको तयारी गरेर जानुस् भनेर जानकारी दिनुपर्छ। 

अर्को विषय वातावरणसँग जोडिएको छ। वातावरण सफा राख्ने विषय पर्यटन क्षेत्रका लागि सबैभन्दा ठूलो पक्ष हो। पर्यटन एक पटकका लागि होइन। सधैँका लागि हो। यसकारण पनि वातावरणको विषयमा अति नै संवेदनशील भएर काम गर्नु पर्छ। अहिले होटल तथा गाउँघरबाट के विषय आएको छ भन्दा नेपालीहरूले रमाइलो गर्छन् र खर्च पनि गर्छन्। यो पक्ष अति नै राम्रो छ।

तर मदिरा तथा सूर्तिजन्य वस्तुको प्रयोगपछि बोतल तथा प्लाष्टिक जता पायो त्यहीँ फाल्छन् भन्ने छ। यो उनीहरूले जानेर गरेका त अवश्य पनि होइन। यसमा पनि एउटा सूचना तथा शिक्षाको नै कमी छ। यसले गर्दा पछि ट्रेकिङ रुटमा विदेशी आउँदा राम्रो सन्देश जाँदैन। कस्तो फोहोर हो, वातावरणको कुनै ख्याल नगरेका होलान्, प्लाष्टिक पनि जता पायो त्यही फालिएको छ, यसलाई रोक्न ठाउँ ठाउँमा उनीहरूलाई सचेतना गराउने वा सामाजिक सञ्जालमार्फत सूचना दिनु आवश्यक छ। यो भएको छैन।

यसमा सरकारले मात्रै नभइ निजी क्षेत्रले पनि सहयोग गर्नुपर्छ। यसमा घुम्न जानेको दोष छैन र दिन पनि हुँदैन। नयाँ ठाउँमा पुगे, हिउँ देखे, पहिलो पटक उकालो ओरोले गर्दा अति नै रमाए। उनीहरूले रमाइलोसँगै यो गर्न हुन्छ, यो गर्न हुँदैन भनेर बिर्सिए। 

रमाउनु नै सबैभन्दा राम्रो पक्ष हो। योसँगै हामीले यो ठाउँमा यसो गर्नुपर्छ, परिवेश र ठाउँअनुसारको संस्कारलाई सम्मान गर्नु पर्छ, ठाउँ अनुसारको सम्मान लिने र दिने गर्नुपर्छ भन्ने किसिमको शिक्षा दिएर प्रोडक्टको विषय जानकारी गरानु पर्छ। यो नै आन्तरिक तथा बाह्य पर्यटक र यो क्षेत्रलाई बचाइराख्ने आधार हो। यो जतिसक्दो छिट्टो हुन पर्छ।

साथै स्वास्थ्यको विषयमा पनि जानकारी दिने गरी सूचना तथा शिक्षा दिनु पर्ने आजको आवश्यकता हो।

अर्को राम्रो पक्ष आन्तरिक पर्यटक बढीरहेका छन्। यसले सबैलाई राम्रो भएको छ। यी विषयमा तत्काल काम गर्ने हो भने सबैलाई झन राम्रो हुन्छ र हाम्रो पर्यटकीय गन्तव्यको सुन्तदरतामा पनि कमी आउन दिँदैन।

basanta.jpg

आन्तरिक पर्यटनका लागि राज्यको तहबाट नीतिगत व्यवस्थाको कुनै आवश्यकता छैन? 

सरकारले प्रसाशनिक कर्मचारीहरूलाई  घुम्न जान प्रोत्साहन गर्ने गरी नीतिगत रुपमा काम गर्नु पर्छ। यसका लागि कर्मचारीलाई घुम्न जान दिनेगरी बिदा दिनुपर्छ।

यसमा खर्चको कुरा पनि जोडिन्छ। सरकारले खर्चको विषयमा पनि केही निर्णय गर्नुपर्छ। भारतमा पनि कर्मचारीलाई घुम्न जाने बिदासँगै आर्थिक सहयोग गरिने गरेको छ। भारतमा त्यो अभियानले पर्यटन क्षेत्रमा ठूलो फड्को मारेको छ। त्यो विषय सफल पनि भयो। एउटा अध्ययनले कर्मचारीलाई घुम्न जान बिदा दिँदै आर्थिक सहयोग गर्ने हो भने यसले कुल पर्यटन क्षेत्रको आम्दानीको ४०/५० प्रतिशत हिस्सा ओगट्ने देखिएको छ।

तर काज बिदा पनि भयो स्वीकृत पनि भयो भने पनि त्यसका लागि कार्यविधि चाहिन्छ। कसरी जाने, कुन ठाउँमा कहिले जाने, कति दिनका लागि जाने र कतिसम्म खर्च भने विषयमा यकीन हुनुपर्छ।

२०७२ सालमा पनि कर्मचारीलाई भ्रमण बिदा दिने निर्णय भयो। तर उक्त विषय कागजमै सीमित भयो। फेरि अहिले पर्यटन काज बिदाको विषय नीतिगत रुपमा निर्णय हुने चरणमा छ।

पर्यटन क्षेत्रका कर्मचारीलाई ५० अर्ब रूपैयाँको राहत प्याकेज ल्याइएको थियो। तर त्यो अहिलेसम्म पनि प्रभावकारी रुपमा जान सकेको छैन। अहिले पनि थोरै मात्र रकम खर्च भएको सुनिएको छ। किनकि सरकारी नियम कडा भयो। लक्षित वर्गले त्यो लिन नै सकेन। यसमा पनि सुधार हुनुपर्छ। तर फेरि बढी नै लचिलो हुने गरी काम गर्ने हो भने लक्षित वर्गभन्दा बाहिरकाले पनि त्यो रकम दुरुपयोग गर्ने सक्ने अवस्था हुन्छ। यसो भन्दै गर्दा लिनै नसक्ने गरी नियम भने बनाउन राम्रो होइन। यसले कसैलाई पनि फाइदा हुँदैन। साच्चिकै राहत पाउनु पर्नेले पनि नियम कडा भएकै कारण लिन सकेन।

अब यसका लागि छुट्याइएको रकम प्रयोग नभएपछि त्यसलाई आन्तरिक पर्यटनको प्रचार प्रसारमा खर्च गर्दा हुने हो।

पूर्वाधारमा थोरै रकमले त केही हुन तर पनि केही रकमले अतिआवश्यक र गर्न सकिने पूर्वाधार विकासमा भए पनि खर्च गर्दा राम्रो हुन्छ। केही रकम सूचना तथा शिक्षा दिनका लागि खर्च गर्नुपर्ने हुन्छ र जसलाई राहत दिन खोजिएको हो उसले राहत पाउने गरी सहज बनाइदिनु पर्छ। 

के पर्यटन काज बिदाले आन्तरिक पर्यटनलाई फाइदा पुग्छ? यसले त राज्यलाई थप आर्थिक भार थप्‍नेमात्र हो भन्ने तर्क पनि आइरहेको छ नि? 

अहिले आन्तरिक पर्यटनबाट नै पर्यटन क्षेत्रलाई जीवित राख्ने हो। अन्य कुनै बाटो छैन। यसका लागि कर्मचारीलाई पर्यटन काज बिदा दिने विषय उठेको छ। यो उपयुक्त र समय सान्दर्भिक पनि छ। तर यसका लागि अहिले नै नीतिगत निर्णय गरेर कार्यन्वयनमा लैजानु पर्छ।

अहिले नै कार्यान्वयनमा नलैजाने हो भने यसको कुनै अर्थ हुँदैन। जुनबेला यो क्षेत्रलाई चलायमान बनाइराख्नु पर्ने छ सोही समयमा नगरेर पछि गर्छु भन्नु मूर्खता हो र त्यस्तो गर्न पनि हुँदैन।

अहिले पर्यटन उद्योगलाई सहयोग चाहिएको छ। उद्योगलाई सहयोग चाहिएको बेला नगरेर कहिले गर्ने? यसले पर्यटन क्षेत्रलाई मात्रै होइन सम्रग देशको अर्थतन्त्रमा नै सहयोग पुग्छ।

यसले नेपाल सरकारका कर्मचारीहरूलाई ठाउँ परिवेश अनुसारको ज्ञान पनि पाउने अवसर मिल्छ। यसमा प्रहरी र आर्मीलगायतका सुरक्षा निकायका कर्मचारीहरूलाई पनि सहभागी गराउनु पर्छ। यसले गर्दा पर्यटन क्षेत्रसँगै घुम्ने अरू सबैलाई सहयोग पनि पुग्छ।

पर्यटन क्षेत्र भनेको एकको साहाराले अर्को बाँच्ने हो। यसले बजारलाई ठूलो बनाउँदै लैजान सहयोग गर्छ। यसले प्रचार प्रसार र गन्तव्यको जानकारी फैलाउन सहयोग गर्छ। कर्मचारीले घुम्ने अवसर पाएपछि उनीहरूले परिवारदेखि आफ्नो साथीहरूलाई पनि सूचना आदान प्रदानमा सहयोग गर्छ। उनीहरूलाई पनि घुम्न जाान प्रोत्साहन हुन्छ।

कर्मचारीलाई पर्यटन काज बिदामा घुम्न जान दिने हो भने यसले पर्यटन क्षेत्रको बजार विस्तारमा ठूलो सहयोग पुग्छ। यसले सबैलाई चिन्ने अवसर पनि दिन्छ। मुभमेन्ट बढेपछि अर्थतन्त्र चलायमान गराउन पनि सहयोग पुग्छ। पर्यटन क्षेत्र चलायमान हुँदा एउटा आलु खेती गरेर बेच्ने किसानदेखि लुगाधुनेलाई समेत अवसर सिर्जना गर्छ।

यसले रकम सर्कुलेसनमा पनि सहयोग गर्छ। यसबाट अर्थतन्त्रमा चलायमन ल्याउँछ त्यसबाट देशलाई नै फाइदा हुन्छ।

पर्यटन काज बिदा दुरुपयोग हुने सम्भावना कत्तिको हुन्छ?

दुरुपयोग हुने नदिनेगरी नीतिगत व्यवस्था हुन पर्छ। यसका लागि कति दिने बिदा दिने, कति खर्च राज्यले दिने र कति खर्च आफैले गर्नुपर्ने भने विषय यकीन गर्नु पर्छ।

अर्को विषय ट्राभल कम्पनीहरूमार्फत पठाउँदा बिल व्यक्तिको नाममा काट्ने कि मन्त्रालयको नाममा काट्ने र भुक्तानी कति समयमा गर्ने भन्ने विषयमा पहिले निर्णय हुनु पर्छ। यसो हुँदा दुरुपयोग हुने अवस्था अति नै कम हुन्छ।

आन्तरिक पर्यटन विकासमा अहिले 'हिल स्टेशन पर्यटन'को विषय पनि उठेको छ। यो सहयोगी बन्न सक्छ?

यो विषय राम्रो नै छ। पर्यटन क्षेत्रमा आकर्षण थप्ने विषय राम्रो नै हो। यो स्वागतयोग्य नै छ। बनाउँदैमा चल्छ भने पनि होइन। बनाउने ठाउँमा बनाउँदै जाने हो। जति सकिन्छ बनाउँदै जाने हो। तर अहिले जसरी नेपालीहरूमा जसरी घुम्न जाने मुभमेन्ट बढेको छ त्यसलाई प्रोत्साहन गर्नेतिर बढी ध्यान दिनु पर्छ।

अहिले तराईका गन्तव्यदेखि हिमालका गन्तव्यमा भिडभाड नै छ। हरेक गन्तव्यमा अहिले नेपाली पुगेका छन्। यो मुभमेन्टलाई अझै गति दिनका लागि पर्यटन काज बिदालाई कार्यान्वयनमा ल्याउनु पर्छ। 

अर्काे नेपालीमा खर्च गर्ने क्षमता बढेको छ। यो पर्यटन क्षेत्रका लागि सुखद विषय पनि हो। हामी जसले पनि चाडबाड त मनाएकै हुन्छौँ। धार्मिक कार्यहरू पनि गरिरहेका छौँ र गर्छौँ पनि। यही संस्कारमा अहिले घुम्न पनि पर्छ है भने अनुभूति सबैमा भएको छ। हामी पनि घुम्न पर्छ, बालबच्चालाई पनि घुमाउन पर्छ र देश चिन्न पर्छ भने भावना जागृत भएको छ। यो नै आन्तरिक पर्यटनका  विकासको सबैभन्दा ठूलो आधार हो। अहिले घुम्न जाने विषय 'पार्ट अफ लाइफ' भएको छ। अहिले घुम्न जाने विषय पनि वार्षिक नियममा परेको छ। 

धार्मिक पर्यटनले पनि पर्यटन क्षेत्रमा चलायमान बनाएको छ। आन्तरिक पर्यटक नै अहिलेको पर्यटन क्षेत्रको विकासमा पहिलो आधार हो। यत्रो संकटमा पनि आन्तरिक पर्यटकले नै पर्यटन क्षेत्रलाई बचाएको हो।  

नेपालमा पर्यटन क्षेत्रको योगदानको कुरा गर्दै अब आन्तरिक पर्यटनको हिस्सालाई पनि खोज्नु पर्छ। पर्यटन आयमा आन्तरिक पर्यटनको विषयमा खोजी आवश्यक छ। अहिले कमाइको केही रकम पर्यटनमा पनि खर्च गर्नु पर्छ भन्ने बानी धेरैमा विकास भएको छ। यो पर्यटन क्षेत्रकै लागि फाइदा हो।


प्रकाशित : आइतबार, पुस १८ २०७८०५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend