शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

प्रिमियममा सेयर जारी गरेका घोराही र सोनापुरमा वित्तीय संकट बढ्दै, कृत्रिम नाफाको आडमा लगानीकर्तामाथि धोका

images
बुधबार, असार २६ २०८१
images
images
प्रिमियममा सेयर जारी गरेका घोराही र सोनापुरमा वित्तीय संकट बढ्दै, कृत्रिम नाफाको आडमा लगानीकर्तामाथि धोका

वास्तविकरुपमा घाटामा रहेका कतिपय कम्पनीहरूलाई प्रिमियम र बुक विल्डिङ प्रकृयामार्फत सेयर निष्कासन गर्न दिएर हमालले सेयर बजारलाई थप अस्थिर बनाउने काम गरेको विश्लेषण हुने गरेको छ।

images
images

काठमाडौं- कृत्रिम नाफा देखाएर प्रिमियममा प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेका घोराही सिमेन्ट कम्पनी र सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको खुद घाटा निरन्तररुपमा बढ्दै गएको छ। 

images
images
images

वित्तीय विवरणमा कृत्रिम सजावट गरी नाफा देखाएर नेपाल धितोपत्र बोर्डमार्फत प्रिमियममा सेयर निष्कासन गर्नका लागि अनुमति पाएका यी कम्पनीले सर्वसाधारण लगानीकर्तालाई घात गरेका छन्। 

बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालले घोराही र सोनापुरको वित्तीय स्थिति खराब रहेको जानकारी हुँदाहुँदै पनि प्रिमियममा सेयर जारी गर्न अनुमति दिनु आफैमा शंकास्पद देखिन्छ। 

images

वास्तविकरुपमा घाटामा रहेका कतिपय कम्पनीहरूलाई प्रिमियम र बुक विल्डिङ प्रकृयामार्फत सेयर निष्कासन गर्न दिएर हमालले सेयर बजारलाई थप अस्थिर बनाउने काम गरेको विश्लेषण हुने गरेको छ। 

images

कम्पनी ऐन २०६३ अनुसार प्रिमिमयमा सेयर जारी गर्न लगातार तीन वर्षसम्म नाफा रहेको देखाउनुपर्ने व्यवस्था भएपनि हमालले मन्त्रिपरिषदबाट धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गराएर पछिल्लो दुई वर्षसम्म नाफामा रहेका कम्पनीलाई प्रिमियममा सेयर निष्कासन गर्न दिन पाउने व्यवस्था गराइदिएका थिए। जसले गर्दा विभिन्न कम्पनीलाई प्रिमियममा सेयर जारी गर्न बाटो खोलिएको थियो।

यही व्यवस्थाको दुरुपयोग गर्दै घोराही र सोनापुरले प्रिमियममा सेयर जारी गरेका थिए। सोनापुरले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गर्दै सर्वसाधारणबाट करिब ६ अर्ब रुपैयाँ उठाएको छ। 

यस्तै कर प्रयोजनका लागि सधैँ घाटाको विवरण प्रस्तुत गर्दै आएको घोराही सिमेन्टले अंकित मूल्यमा ३५० रुपैयाँ प्रिमियम थप गर्दै ४५० रुपैयाँमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति पाएको थियो।

घोराहीले ३ अर्ब ४४ करोड रुपैयाँ सर्वसाधारणबाट उठाएको छ। यस कम्पनीले सम्पत्तिको मूल्यह्रास कम देखाउन मूल्यह्राससम्बन्धी विधि परिवर्तन गरेर कृत्रिम नाफा देखाएर प्रिमियम सेयर जारी गर्न अनुमति पाएको थियो। 

सर्वसाधारणबाट प्रिमियममा उठाएको पैसा लगानीकर्ताको थाप्लोमा थोपरेर दायित्व व्यवस्थापनमा प्रयोग गर्दै आएका यी दुई कम्पनीले पछिल्लो समय निरन्तररुपमा घाटाको वित्तीय विवरण प्रकाशन गर्दै आएका छन्। 

प्रिमियममा सेयर खरिद गरेको कम्पनीबाट लगानीकर्ताले उच्च लाभांश प्राप्त गर्नुको सट्टा उच्च घाटा पाइरहेका छन्। चलाख लगानीकर्ताहरू सेयर बिक्री गरेर निस्किसकेका छन् भने सोझा लगानीकर्ताले अझै सेयर बढ्ने आशमा खरिद गरिरहेका छन्। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा घोराही सिमेन्ट कम्पनीको खुद घाटा ६४ करोड ४२ लाख रुपैयाँ पुगेको छ। प्रिमियममा सेयर निष्कासन गर्नका लागि यस कम्पनीले यस अवधिमा ३ करोड ४० लाख रुपैयाँ खुद नाफा रहेको देखाएको थियो।

यस अवधिमा घोराहीले २ अर्ब करिब २ अर्ब ६४ करोड रुपैयाँ मौज्दात र २ अर्ब १३ करोड रुपैयाँ बिक्रीबाट प्राप्त हुन बाँकी रहेको रकम देखाएको छ। जुन गत वर्षको तुलनामा बढेको छ। गत वर्ष कम्पनीको बिक्री मौज्दात १ अर्ब ७९ करोड रुपैयाँ र प्राप्त हुने बाँकी रहेको रकम १ अर्ब ९१ करोड रुपैयाँ रहेको देखाएको छ। 

कम्पनीको सञ्चित नाफा गत वर्षको तुलनामा १ अर्ब २३ करोड रुपैयाँले घटेको वित्तीय विवरणमा उल्लेख गरेको छ। गत वर्ष पहिलो ९ महिनामा ३ अर्ब ९७ करोड रुपैयाँ रहेको सञ्चित नाफा घटेर यस वर्षको सोही अवधिमा २ अर्ब ७६ करोड कायम भएको छ। यस्तै घोराहीको ब्याज लागत ३३ करोड २७ लाखबाट बढेर चालु आर्थिक वर्षको ९ महिनामा ४१ करोड ८५ लाख रुपैयाँ पुगेको छ। 

कम्पनीको मूल्यह्रास करिब ५ करोड रुपैयाँले बढ्दै चालु आर्थिक वर्षको ९ महिनामा २८ करोड ६९ लाख रुपैयाँ पुगेको छ। कम्पनीको बिक्री गत वर्षको तुलनामा घटे पनि बिक्रीसम्बन्धी खर्च भने बढेको छ।

गत वर्षको ९ महिनामा घोराहीले ३ अर्ब १४ करोड रुपैयाँ बिक्री गर्दा १ अर्ब ७४ करोड रुपैयाँ बिक्री खर्च भएकोमा यस वर्षको सोही अवधिमा ३ अर्ब ८ करोड रुपैयाँ बराबरको बिक्री गर्दै २ अर्ब २५ करोड रुपैयाँ बिक्री खर्च देखाएको छ। 

घोराही सिमेन्ट कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँले ऋणात्मक रहेको छ। यस्तै प्रतिसेयर नेटवर्थ २२०.५५ रहेको छ। 

यता सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको पछिल्लो ९ महिनामा घाटा बढेर २७ करोड ८० लाख रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा कम्पनीले २ करोड ६२ लाख रुपैयाँ नाफा प्रस्तुत गर्दै प्रिमियममा सेयर जारी गरेको थियो।

यस अवधिमा कम्पनीको मौज्दात गत वर्षको तुलनामा बढी देखिन्छ। २ अर्ब १७ करोड रुपैयाँ बराबरको मौज्दात रहेको यस कम्पनीको गत वर्षको ९ महिनामा १ अर्ब ८३ करोड रुपैयाँ बराबरको मौज्दात रहेको थियो। 

वस्तु बिक्री गरेर बजारबाट प्राप्त गर्नुपर्ने रकम भने यस कम्पनीको घटेको छ। गत वर्षको ९ महिनामा करिब ८३ करोड रुपैयाँ उठाउन बाँकी रहेको रकम चालु आर्थिक वर्षको सोही अवधिमा ७६ करोड ४६ लाख रुपैयाँ रहेको छ।

कम्पनीको तिर्नुपर्ने दायित्व पनि घटेको छ। गत वर्ष ५५ करोड रुपैयाँ ट्रेड पिएवल रहेकोमा चालु आर्थिक वर्षको ९ महिनामा घटेर १७ करोड ६८ लाखमा आएको छ। यस अवधिमा कम्पनीको सञ्चित जगेडा घटेको छ। गत वर्ष ८० करोड रहेको सञ्चित जगेडा घटेर ५२ करोड २६ लाखमा झरेको छ।

सोनापुरले गत वर्षको तुलनामा ४७ प्रतिशतले बिक्री घटेको देखाएर प्रतिवेदन सार्वजनिक गरेको छ। 

चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको बिक्री खर्च १ अर्ब ९ करोड रुपैयाँ, प्रशासनिक खर्च ९१ करोड रुपैयाँ देखाएको छ। यस्तै कम्पनीले २ करोड रुपैयाँ ब्याज खर्च रहेको वित्तीय विवरणमा उल्लेख गरेको छ। गत वर्ष १.४२ रहेको कम्पनीको प्रतिसेयर आम्दानी घटेर ९.०४ रुपैयाँले ऋणात्मक छ।

प्रिमियममा सेयर जारी गरेर खराब वित्तीय वितरण प्रस्तुत गरिरहेका यी दुवै कम्पनीले आफ्नो वित्तीय विवरण सन्तोषजनक रहेको दाबी गरेका छन्। 

अर्थतन्त्रमा देखिएको शिथिलता, निर्माण क्षेत्रमा देखिएको ऋणात्मक वृद्धिदर र बढ्दो ब्याजदरले बिक्रीमा आएको गिरावट र लागतमा भएको वृद्धिले घाटा बढेको दुवै कम्पनीले आफ्नो वित्तीय विवरणमा उल्लेख गरेका छन्।


प्रकाशित : बुधबार, असार २६ २०८१०८:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend