शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ जसले डा. भगवान कोइरालालाई 'सरप्राइज' दिए

images
मंगलबार, असार २५ २०८१
images
images
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ जसले डा. भगवान कोइरालालाई 'सरप्राइज' दिए

२०६८ सालमा नै त्रिवि शिक्षण अस्पतालमा ११ करोड रुपैयाँ आकस्मिक कक्षका लागि सहयोग गरेका मीनबहादुरले डा. कोइरालालाई पनि सहयोग गर्ने सोच बनाइसकेका थिए।

images
images

काठमाडौं- मीनबहादुरलाई सधैँ लागिरहन्छ 'आफ्नो सोझो बाटोमा आफ्नै लागिमात्र कर्म गरेर त बाँच्नुको के सार होला र! सक्नेले त परोपकारबाट कहिल्यै पर हुनु हुँदैन।' त्यही सोचले हो व्यापारबाट समय निकालेर उनी समग्र समाजबारेको सोचमा परिरहन्छन् र मानव जातिको हितमा विभिन्न काम गर्छन्। यस्तै कर्मले पुन: उनले स्याबासी पाइरहेका छन्। 

images
images
images

शिशु र बालबालिकाको स्वास्थ्यका लागि नेपालमा राम्रो अस्पताल हुनुपर्छ भन्ने गहिरो सोचले अस्पताल निर्माणको परोपकारी काममा भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ लागिपरेका छन्। हरेक देशको भविष्य नै नयाँ आउने पुस्ता हुने भएकाले शिशुहरू कुनै पनि समस्यामा नपरुन् भन्नेमा विशेष ध्यान दिनुपर्ने हुँदा आफूले बाल अस्पतालका लागि सहयोग गरिरहेको मीनबहादुर बताउँछन्। 

'अहिले संसारभर कस्तो ‘ट्रेण्ड’ छ भने बच्चा नै नपाउने, पाएपनि कम पाउने। पहिले मेरी आमाले भने १३ वटा बच्चा पाउनु भयो। ७ जना त अहिले सँगै छौँ। तीन-चारजना बच्चाको मृत्यु नै भयो। अब अहिले हामीले दुईवटा बच्चा पायौँ। मेरा छोरीज्वाँइले एउटा छोरामात्रै पाए। अर्को नपाउने भन्ने निर्णय गरे। छोराबुहारीले चाहिँ दुई सन्तान पाए' आफ्नो पारिवारिक उदाहरण दिँदै मीनबहादुर भन्छन्, 'जापानमा गएका कतिपय नेपालीहरू त बच्चा नै पाउँदैनन्। अहिले संसारभर त्यस्तो ‘चेनअफ इफेक्ट’ परेको छ। जसले गर्दा श्रम बजारमा ठूलो समस्या पर्न थालिसकेको छ।' 

images

नेपालमा पनि अब ढिलोचाँडो यो समस्या गम्भीर भएर आउने देखेका मीनबहादुर भन्छन्, 'अब जति जन्मन्छ त्यति जसरी पनि जोगाउन पर्‍यो। सहरमा बसेकालाई त समस्या नहोला। तर पनि अझै गाउँघरतिर समस्या नै छ। नेपालमा अहिलेसम्म पनि बच्चाको लागि राम्रो अस्पताल छैन। त्यसैले राम्रो अस्पतालको आवश्यकता देखिएको हो।'

images

कान्ति बाल अस्पताल जस्तो राम्रो नै काम गरिरहेको सरकारी अस्पतालमा हुने उपचार सबैका लागि सन्तोषप्रद नदेखिएको उनी बताउँछन्। 'डा. भगवान कोइराला अहिले जुन हिसाबले बाल अस्पताल बनाउने अभियानमा लाग्नु भएको छ। नेपालको लागि भगवान कोइराला भगवान नै हो। उहाँ नेपाल र नेपालीका लागि असल मान्छे हो। उहाँले नै नेपालमा पहिलो पटक मुटुको शल्यक्रिया सुरु गर्नु भयो। अहिले बाल अस्पताल निर्माणमा लागिरहनुभएको छ' उनले भने।  

मुटुसम्बन्धी समस्याका लागि अहिले कम्तिमा भारत जानु नपर्ने अवस्था हुनु सुखद भएको र त्यसमा डा. कोइरालाको विशेष योगदान रहेको मीनबहादुर बताउँछन्। 

'अहिले सामान्य जनताले पनि उपचार पाइरहेका छन्। सिंगापुर र भारत जानु परेको छैन। पैसा हुनेहरू त अहिले पनि जान्छन् तर आम जनताले त उपचार पाएका छन्। आजभन्दा ४५ वर्षअगाडि मेरो गाँउको दिदीलाई मुटु हल्लिने रोग लाग्यो। उपचार गर्न काठमाडौं ल्याइयो। तर अप्रेसन गर्नपर्ने भयो, जसका लागि भारत लैजानुपर्ने विषय आयो। दिल्ली बहुत दुर हे भन्थे पहिले। तर अहिले नजिक भयो। तर हामीले भारत लान सकिएन। यहाँ केही औषधी डाक्टरले चलाउनु भयो। दुई वर्षपछि २७ वर्षको उमेरमा उहाँको निदन भयो। आफ्नै अगाडि मृत्यु देखेको थिएँ' पुरानो दिन सम्झँदै मीनबहादुर भन्छन्, 'त्यो समयमा गंगालाल अस्पताल र भगवान डाक्टर हुनु भएको भए मेरो दिदी पनि बाच्नुहुन्थ्यो होला। केही नभएको बेला सबैतिर निराशाका मात्रै कुरा गरिएका बेला कोही असल मान्छे केही गर्छु भनेर लागेको छ। जो आफ्नै क्षेत्र स्वास्थ्य क्षेत्रको पनि मान्छे पनि हुनुहुन्छ।'

बाल अस्पतालका लागि १० वर्ष पहिले आफूले नै डा. कोइरालासँग प्रस्ताव गरेको मीनबहादुर सम्झन्छन्। उनले यो देशका राम्रा मान्छेहरूले देशका लागि केही राम्रो काम गर्नुपर्छ भन्दै अस्पतालबारे कुराकानी अघि बढाएका थिए। त्यसपछि लामो समय भने कुराकानी भएन।

केही समयपछि डा. कोइरालाले अस्पताल बनाउने योजना बनाएकोबारे मीनबहादुरले थाहा पाए। २०६८ सालमा नै त्रिवि शिक्षण अस्पतालमा ११ करोड रुपैयाँ आकस्मिक कक्षका लागि सहयोग गरेका मीनबहादुरले डा. कोइरालालाई पनि सहयोग गर्ने सोच बनाइसकेका थिए। 

'पछि डाक्टरसापसँग भेट हुँदा उहाँले पहिलेको कुरा सम्झाउनु भयो। पहिले तपाइँले नै राम्रो काम गरौँ भन्नु भाथ्यो मैले बाल अस्पताल बनाउन लागेँ भनेर योजना सुनाउनु भयो। मैले केही प्रतिक्रिया नदिइकन सहयोग गर्छु भनेँ' मीनबहादुर भन्छन्, 'सीएसआरमा पनि सबैतिर एकैपटक काम गर्न सकिँदैन। यता ठूलो संख्या रोजगारी दिएर राखेको छु। उनीहरूको पनि जिम्मेवारी मेरो हो। बालबच्चा बाच्नुपर्छ भन्ने त छँदैछ। त्यसैले मिल्नासाथ सहयोग गर्छु भन्ने सोच भयो।' 

पुराना पुस्‍ताका आफूहरूजस्ता मान्छे भाग्यले नै बाँचेर अहिलेको अवस्थामा पुगेको ठान्छन् मीनबहादुर। त्यो समयमा त मान्छेलाई दैवले नै जोगाएको उनलाई लाग्छ। 'मेरो कान्छो बाको जेठी छोरी मभन्दा एकवर्ष जेठी दिदीलाई साउन भदौतिर छ वर्षको उमेरमा झाडापखाला लाग्यो। त्यो समयमा पानीसमेत खान दिँदैन थिए। पछि झाडापखाला लागेर नै उहाँको मृत्यु भयो। पानी र केही सामान्य औषधी मात्रै भएको भएपनि उहाँ बाच्नुहुन्थ्यो होला' स्वास्थ्य किन महत्वपूर्ण छ भन्ने बुझाउन मीनबहादुरले पुरानो घटना सम्झिए। 

यी सबै देखे भोगेका कुराले नै हो मीनबहादुरलाई अस्पतालमा सहयोग गर्नुपर्छ भन्ने लागिरहेको। 'त्यो समयमा देखेँ मात्रै अहिले काम गर्दै यहाँसम्म आइपुगे। अहिले यो केही गर्नसक्ने अवस्थामा आएको छु। आफूले समाजबाट लिएर केही कमाएपछि अमेरिका, सिंगापुर र दुबइ पठाउने काम गर्न भएन। लिएपछि बाँड्ने भन्ने नै छ मेरो सोच। डा. कोइरालाले यो बीचमा केही पटक भनिसक्नु भएको थियो। मैले केही समय कुर्नुस् म गर्छु भनिरहेको थिएँ' उनले भने। 

मीनबहादुरले गर्दैन कि के भन्ने अवस्थामा डा. कोइराला पुगिसकेको समयमा उनले 'सरप्राइज' नै दिए। एकदिन एउटा कार्यक्रमको शिलशिलामा उनीहरूको भेट भयो। मीनबहादुले भोलि हजुरलाई भेट्छु भनेर डा. कोइरालालाई समय लिए।

मीनबहादुरले आज एउटा राम्रो काम गर्ने इच्छा छ भनेर श्रीमतीलाई पनि सुनाए। छोराछोरीलाई पनि म आज एउटा सरप्राइज दिनेवाला छु है भनेर सुनाए। भान्जाभान्जीले त के सरप्राइज हो भनेर तारन्तार सोधिरहेका थिए। उनले अहिले केही भन्दिनँ समाचार आइहाल्छ नि भन्ने जवाफ दिए। 

'श्रीमतीले अस्पतालका लागि ४०/५० लाख रुपैयाँ सहयोग दिने होला भन्ने सोचेकी रैछिन्। पछि उनले भनेकी थिइन्। म र मेरो श्रीमती अस्पताल निर्माण भइरहेको ठाउँमा गयौँ। डाक्टर सापले सबै प्रोजेक्टहरू देखाउनु भयो। ठेक्का पनि लागिसकेको रैछ। २ लाख स्क्वायर फिट बराबरमा भवन बन्ने रैछ। त्यो पनि देखाउनु भयो। छलफल गफगाफ चल्दै गर्दा कति गर्दिनु हुन्छ भनेर सोध्नु भयो। उहाँले मैले २/४ करोड गर्दिन्छ होला कि भन्ने सोच्नु भको थियो होला सायद। स्वभाविक पनि हो' मीनबहादुरले सुनाए। 

मीनबहादुरले पनि अस्पताल निर्माणका लागि यति नै सहयोग गर्छु भन्ने यकिन अंक सोचिसकेका थिएनन्। बिहान गाडी चढेर निस्कँदा २५ करोड रुपैयाँजति चाहिँ दिनुपर्ला भन्ने उनको मनमा लागिरहेको थियो। '१ लाख स्क्वायर फिटमा मुख्य भवन बन्ने रैछ। आईसीयूदेखि सबै बन्ने रैछ। त्योभित्र भवन बनाउन कति पैसा लाग्छ भनेर इन्जिनियरलाई सोध्नु पर्‍यो। त्यो पूरै भवन बन्न करिब ४० करोड लाग्ने रैछ। मैले ४० मात्रै के दिनु एक करोड थप्छु भन्ने सोचेर ४१ करोड दिने निर्णय गरेँ। अहिले काम भइरहेको छ' प्रशन्न भावमा मीनबहादुरले सुनाए। 

त्यो कुरा पहिले उनले कसैलाई पनि भनेका थिएनन्। घरमा पुगेर भन्दा परिवारका सदस्य सबै खुसी भए। डा. कोइराला त आश्चर्यचकित नै भए। घरबाट निस्कँदै गर्दा २५ करोडको सोच बनाएका मीनबहादुरले त्यहाँ पुगेर सबै हेरेपछि ४१ करोड सहयोग गर्ने घोषणा गरे।   

मीनबहादुरको परिवार किसानी परिवार नै हो। उनका हजुरबुबा एकदमै मिहिनेत गर्ने मान्छे। अरुको खेतबारीमा २ घोगा मकै हुँदा उनले आफ्नोमा चार घोगासम्म फलाइरहेको मीनबहादुर अझै सम्झन्छन्। धान, कोदो, भैँसी बाख्रा सबै राम्रो हुने। सबै मिहिनेत गरेर आम्दानी गरेपछि गाउँमा दु:ख पाएकाहरूलाई सहयोग पनि गर्ने उनका हजुरबुबा।

'हामीलाई पनि सहयोग गर्नुपर्छ भनेर सधैँ भन्नुहुन्थ्यो। हुन पनि हामी व्यापारी हो। मरेर गएपछि केही सम्झने कुराहरू छाडिँदैन। यस्तै सहयोग गर्ने कुराहरूमा केन्द्रित हुनु पर्दछ। जसले आम मानिसलाई सहयोग पुगोस्। अहिलेसम्म समाजिक उत्तरदायित्व अन्तर्गत करोडौँ पैसा सहयोग गरेको छु। भूकम्प, कोभिडमा पनि धेरै सहयोग गरेको छु' मीनबहादुरले भने।  

त्रिवि शिक्षण अस्पतालमा ११ करोडको भवन 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जापनिजहरूले बनाइदिएको अस्पताल हो। एकदिन आफन्त बिरामी भएर मीनबहादुर उक्त अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए। त्यहाँ उनले जे देखे त्यसले उनलाई केही नगरि बस्न दिएन र सहयोगी मन उदार बनाइहाले। 

'त्यो समयमा त्यहाँ अर्को एकजना बिरामी आइपुगे। न बेड छ न उपचार गर्ने ठाउँ, बिजोक देखेँ। ती बिरामीको त्यहीँ छट्पटिएर मृत्यु भयो। जुन मेरो आँखाले नै देख्यो। मनमा धेरै दु:ख लागेको थियो। मान्छेको जीवन एकपटक गएपछि त गयो' उनी भन्छन्।

'अस्पतालको बोर्ड बैठकमा आकस्मिक कक्ष बनाउने कुरा चलेको रैछ। डा. अरुण सायमी अस्पतालको डिन हुनुहुन्थ्यो। अस्पतालमा भवन ठूलो बनाउने कुरा चलेछ। बैठकमा एक डाक्टरसापले भारतको दूतावासले बनाउने कुरा भएको सुनाउनुभएको रहेछ। दूतावासले महात्मागान्धी मेमोरियल आकस्मिक भवन नाम लेख्नुपर्ने सर्त राखेको रहेछ। जापानले यत्रो भवन बनाएको छ। एउटा एकतला बनााउने भवनमा महात्मागान्धी नामै के लेख्नु भन्ने डाक्टर अरुण सायमीलाई परेको रहेछ' मीनहादुर सुनाउँछन्, 'जापानले त्यत्रो लगानी गरेर केही लेखेको छैन भन्ने परेको रैछ। त्यही बैठकमा मेरा एकजना साथीले नेपालीले बनाउलान् यसो खोजौँ भनेर प्रस्ताव गरेछन्। डा. अरुण सायमीले खोजौँ न त भनेपछि ती साथीले म प्रस्ताव गर्छु अनि खबर गर्छु भनेर आउनु भएछ।'

मीनबहादुरका ती साथीले उनलाई भेटे। एकतलाको भवन बनाउन सहयोग गरिदिनुपर्‍यो भनेर प्रस्ताव राखे। 'तपाइँले अलिकति कमाइ पनि सक्नुभयो। केही सहयोग गर्नुस् भनेर प्रस्ताव गर्नुभएको थियो। उहाँको सबै कुरा सुनेपछि मैले पनि सहयोग गर्ने मन बनाइरहेको बारे सुनाएँ। एकतला होइन तीन तला नै बनाउँछु भनेर एउटा सर्त राखेँ' मीनबहादुरले सुनाए। 

मीनबहादुरले उक्त भवनमा आफ्नो बुबाआमाको नाम हुनुपर्छ भन्ने प्रस्ताव गरेका थिए। ती साथीले उक्त प्रस्ताव डा. सायमीलाई सुनाए। अर्को बैठकमा नेपालीले सहयोग गरेर नेपालीकै नाम राख्नु ठीक हुन्छ भन्नेमा सबैको छलफल भयो। 'त्यहाँ अर्को पनि भवन बनाउने कुरासहित मैले ११ करोड रुपैयाँ सहयोग गरेँ। २०६८ सालमा बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको नाममा इमर्जेन्सी भवन बनाएँ' उनले भने। 

मीनबहादुरले श्रीमती सावित्री गुरुङको नाममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाउँबाट पढ्न आएकाहरूका लागि पनि सहयोग गरिरहेका छन्। जसमा रोल्पा र खोटाङका एक/एक जना विद्यार्थीलाई सहयोग गरेर काम सुरु गरेका उनले अहिलेसम्म १४ जनालाई डाक्टर बनाउन सहयोग गरिसके। रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका विभिन्न विद्यार्थीले उनको सहयोगमा एमबीबीएस अध्ययन पूरा गरिसकेका छन्। 

भगवान कोइरालाले बनाउने बाल अस्पतालका लागि मीनबहादुर गुरुङले ४१ करोड रुपैयाँ सहयोग गर्दै भगवान कोइरालाले बनाउने बाल अस्पतालका लागि मीनबहादुर गुरुङले ४१ करोड रुपैयाँ सहयोग गर्दै


प्रकाशित : मंगलबार, असार २५ २०८११८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend