शुक्रबार, मंसिर २८ गते २०८१    
images
images

अग्राधिकार सेयरको अनुमतिले यी ६ वाणिज्य बैंकको पुँजीकोषमा राहत

images
सोमबार, असार १७ २०८१
images
images
अग्राधिकार सेयरको अनुमतिले यी ६ वाणिज्य बैंकको पुँजीकोषमा राहत

राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरूको पुँजीकोषको समस्या समाधान गर्न टायारवान क्यापिटलको अंगको रुपमा रहने गरी अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्न अनुमति दिएसँगै कुमारी र एनआईसी एसियासहित प्रमुख ६ बैंकलाई विशेष राहत मिल्ने भएको छ।

images
images

काठमाडौं- राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरूको पुँजीकोषको समस्या समाधान गर्न टायारवान क्यापिटलको अंगको रुपमा रहने गरी अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्न अनुमति दिएसँगै कुमारी र एनआईसी एसियासहित प्रमुख ६ बैंकलाई विशेष राहत मिल्ने भएको छ। 

images
images
images

एनआईसी एसिया बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत राष्ट्र बैंकले अग्राधिकार सेयर जारी गर्न दिने नीतिगत निर्णय गरेसँगै राष्ट्र बैंकमा अग्राधिकार सेयर निष्कासनका लागि अनुमति माग गरिसकेको छ। 

images

एनआईसी एसिया बैंकभन्दा अगाडि नै नबिल बैंकले पुँजीमा रुपान्तरण नहुने ८ प्रतिशत लाभांशसहितको अग्राधिकार सेयर निष्कासनका लागि राष्ट्र बैंकसँग अनुमति माग गरिसकेको छ। राष्ट्र बैंकले अनुमति दिनासाथ यी दुई बैंकले अग्राधिकार सेयर निष्कासन गर्ने छन्। 

images

नबिल बैंकको न्यूनतम प्राथमिक पुँजीकोष राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी भएपनि आगामी समयमा समस्या आउन सक्ने भन्दै अग्राधिकार सेयर जारी गर्ने सोचका साथ राष्ट्र बैंक पुगेको हो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस बैंकको पुँजीकोष ९.१० प्रतिशत रहेको छ। राष्ट्र बैंकले प्राथमिक पुँजीकोष न्यूनतम ८.५ र पुरक पुँजी २.५ प्रतिशत गरी पुँजीकोष पर्याप्तता ११ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ। 

आगामी आर्थिक वर्षबाट काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा आएसँगै ०.५ प्रतिशत बिन्दुले पुँजी बढाएर प्राथमिक पुँजीकोष ९ प्रतिशत र पुरक पुँजी २.५ प्रतिशत गरी कुल ११.५ प्रतिशत न्यूनतम पर्याप्त पुँजीकोष कायम गर्नुपर्ने हुन्छ। जसले गर्दा अहिले ९.१० प्रतिशत पुँजीकोष रहेको नबिल बैंकलाई समस्या पर्ने भएपछि अग्राधिकार सेयर निष्कासनको विकल्पमा गएको हो। 

यता एनआईसी एसिया बैंकको पुँजीकोष चालु आर्थिक वर्षको सुरुवातबाटै दबाबमा छ। ब्याजदर छुट लगायतका स्किम दिएर कर्जाको साँवा ब्याज नियमित गर्न प्रयास गरिरहेको यस बैंकको प्राथमिक पुँजीकोष ८.२५ प्रतिशत रहेको छ।

यो बैंक पनि आफ्नो थप पुँजीको आवश्यकतालाई अग्राधिकार सेयरमार्फत समाधान गर्ने सोचमा देखिन्छ।

करिब ५ अर्ब २५ करोड रुपैयाँ सञ्चित नोक्सानी रहेको कुमारी बैंकलाई पुँजी सबैभन्दा धेरै आवश्यकता रहेको छ। विगतमा कुमारी बैंक आफ्नै र एनसीसी बैंकले प्रवाह गरेको कर्जा कमसल हुँदा यो बैंकले पुँजीकोषको दबाब झेलिरहेको छ। 

बैंकमा रामचन्द्र खनाल प्रमुख कार्यकारी अधिकृत भएर आएसँगै उनले विगतमा बिग्रिएको कर्जाको धितो लिलामी प्रकृया र असुली बढाउन तीब्रता दिएकाले आगामी समयमा सुधार हुने अपेक्षा गरिएको छ। यस बैंकले पनि अग्राधिकार सेयर जारी गरेर ८.०३ प्रतिशत पुगेको प्राथमिक पुँजीकोषको समस्या समाधान गर्न सहज हुने देखिएको छ। 

सेन्चुरी बैंकसँग मर्जमा गएको प्रभु बैंक पनि अत्याधिक खराब कर्जाको समस्याबाट गुज्रिरहेको छ।
राष्ट्र बैंकको कमजोर सुपरिवेक्षणले अनियन्त्रितरुपमा कर्जा प्रवाह गरेर निकै ठूलो संकटतर्फ उन्मुख रहेको सेन्चुरी बैंकलाई एक्वायर गरेसँगै प्रभु बैंक पनि पुँजीकोषको समस्यामा छ। 

खराब कर्जा करिब ५ प्रतिशत नजिक रहेको यस बैंकको दोस्रो त्रैमासमा नै प्राथमिक पुँजीकोष ८.५ प्रतिशतभन्दा तल आइसकेको छ। चौथो त्रैमासमा राष्ट्र बैंकले तोकेको थ्रेसहोल्ड कटाएपनि न्यूनतम पुँजीकोष सुविधाजनक अवस्थामा भने पुगिसकेको छैन। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस बैंकको प्राथमिक पुँजीकोष ८.८६ प्रतिशत रहेको छ।

हिमालयन बैंक पनि पुँजीकोष समस्यामा छ। सिभिल बैंकसँग मर्जर गरेको यो बैंक पनि तत्कालीन सिभिलले प्रवाह गरेको खराब कर्जाको प्रोभिजनिङको दबाबमा छ।

यस बैंकको सञ्चित नोक्सानी ३ अर्बभन्दा बढी छ भने खराब कर्जा ५ प्रतिशत नजिक रहेको छ। यस बैंकलाई पनि अग्राधिकार सेयर जारी गर्न दिने राष्ट्र बैंकको निर्णयले पुँजीकोष व्यवस्थापन गर्न सहज हुने देखिएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.८६ प्रतिशत रहेको छ।

माछापुच्छ्रे बैंक पनि पछिल्लो समय पुँजीकोषको उच्च दबाबमा छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस बैंकको प्राथमिक पुँजीकोष ८.८० प्रतिशत रहेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकमा सुधार हुने गरी कुनै पनि ठोस काम गर्न नसकेपनि विभिन्न शक्तिकेन्द्रको ध्याएकै आधारमा दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत बनेका छन्। दोस्रो कार्यकाल लागि प्रमुख कार्यकारी अधिकृत बनेपनि उनीसँग बैंक सुधार गर्ने र व्यवसाय विस्तार गर्ने कुनै ठोस योजना देखिँदैन।

उपेन्द्र महतो परिवार यस बैंकबाट निस्कने तयारी गरेपनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ र आफ्नो नातेदार महाप्रसाद अधिकारीसँगको पारिवारिक सम्बन्धको बलमा कोइरालाले दोस्रो कार्यकालका लागि सीईओ पद थप गराउन सफल भएका छन्। बैंकको प्रमुख अर्को लगानीकर्ता रारा चाउचाउ उत्पादक केसी परिवारले भने कोइरालालाई खासै नरुचाएको बताइन्छ।

माछापुच्छ्रे बैंकको पनि पुँजीकोषको समस्या समाधान गर्न यस अग्राधिकार सेयरले सहयोग पुर्याउने देखिन्छ। पुँजीकोष दबाबकै कारण अगाडिका दुई वर्षसम्म लाभांश वितरण गर्न नसकेको यस बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गरेको थियो। 

यस आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएकाले आगामी वर्ष लाभांश दिने सम्भावना कम छ।

यस्तै सिद्धार्थ बैंकलाई पुँजीकोष बढाउनका लागि अग्राधिकार सेयरले मद्दत पुर्याउने देखिन्छ। सिद्धार्थ बैंकको प्राथमिक पुँजीकोष चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९.२३ प्रतिशत कायम भएको छ।

सिटिजन्स इन्टरनेशल बैंकको पनि पुँजीकोष दबाबमा छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा यस बैंकको प्राथमिक पुँजीकोष ९.१५ प्रतिशत रहेकाले अग्राधिकार सेयर जारी गरेर पुँजीमाथिको दबाब कम गर्ने सुविधा रहेको छ। 

अग्राधिकार सेयर जारी गर्न राष्ट्र बैंकले अगाडि सारेको १२ सर्त

राष्ट्र बैंकको बैंक वित्तीय संस्था नियमन विभागले अविमोच्य असञ्चिति सेयर जारी गर्नका लागि विभिन्न १२ सर्त अगाडि सारेको छ।

गएको बुधबार जारी गरेको परिपत्रले अग्राधिकार सेयर जारी गर्दा बैंक वित्तीय संस्थाहरुले भुक्तानी अवधि तोक्न नपाउने, संस्थागत लगानीकर्ताले मात्रै जारी गर्न पाउने, सम्बन्धित बैंक स्वयंले जारी गर्नुपर्ने र सेयरमा कुनै पनि सुरक्षण राख्न नपाउने व्यवस्था गरेको छ। 

अग्राधिकार सेयर जारी गर्दा लाभांश वितरण गर्ने वा नगर्ने भन्ने अधिकार सम्बन्धित बैंक वित्तीय संस्थाहरुका लागि हुने र लाभांशको दर विवतरणपत्रमा स्पष्टरुपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ। 

साथै अग्राधिकार सेयर लगानीकर्तालाई सम्बन्धित वर्षको नाफाबाट मात्रै लाभांश वितरण गर्नुपर्ने, घाटा भएको वर्ष लाभांश वितरण गर्न नपाइने र संस्थाको सञ्चित कोष वा कुनै पनि कोषबाट लाभांश वितरणमा रोक लगाइएको छ। 

राष्ट्र बैंकले अग्राधिकार सेयरलाई प्राथमिक पुँजीकोषमा समायोजन गर्न दिने व्यवस्था गरेको छ। तर यसका लागि ५.१२५ प्रतिशतको ट्रिगर बिन्दु तोकेको छ।

बैंकहरुको प्राथमिक पुँजीकोष घटेर ट्रिगर पोइन्ट ५.१२५ प्रतिशत बिन्दुभन्दा कम भएमा जारी अग्राधिकार सेयरलाई प्राथमिक पुँजीमा समायोजन गर्न पाइने सुविधा राष्ट्र बैंकले दिएको छ।

इजाजतपत्र संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्दा निहित जोखिम तथा ट्रिगर बिन्दुपश्चात हुने अपेक्षित परिणामबारे प्रष्टरुपमा खुलाएर रिक्स डिसक्लोजर स्टेटमेन्ट तयार पार्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

यस्तै संस्था खारेजी परेको अवस्थामा  अग्राधिकार सेयर लगानीकर्ताको भुक्तानी साधारण सेयरभन्दा अगाडि भएपनि पुरक पुँजीकोषमा समावेश भएका नियामकीय पुँजी उपकरणहरु, निक्षेपकर्ता एवं साधारण साहुको दायित्वपछि मात्रै हुने प्रष्ट व्यवस्था गरेको छ। 

अग्राधिकार सेयर जारी गर्ने अनुमति  क्यापिटल एड्युकेसी फ्रेमवर्क, २०१४ लागु भएका इजाजतपत्र प्राप्त संस्थाले मात्रै पाउने  व्यवस्था गरिएको छ। 

२० वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकले उक्त फ्रेमवर्क अनुसार जोखिम व्यवस्थापन र पुँजीकोष कायम गर्दै आएका छन्।

त्यसैले पुँजीकोषमा दबाब रहेका राष्ट्रियस्तरका विकास बैंकले पनि अग्राधिकार सेयर जारी गरेर पुँजी अभावको समस्या समाधान गर्ने बाटो खुलेको छ। मुक्तिनाथ विकास र ज्योति विकास बैंक पछिल्लो समय पुँजीकोषको दबाबमा छन्।

अग्राधिकार सेयर प्रतिकित्ता कतिमा बिक्री गर्न दिने र संस्थागत लगानीकर्तालाई मात्रै खरिद गर्न दिनुको कारणबारे भने राष्ट्र बैंकले केही खुलाएको छैन। अग्राधिकार सेयर सर्वसाधारण खरिद गर्न नपाउने व्यवस्था गरिनुले बैंक वित्तीय संस्थाहरुमा संस्थागत लगानीकर्ताहरुको बोलबाला चल्ने देखिएको छ। 

नागरिक लगानीकोष, कर्मचारी सञ्चयकोष, बीमा कम्पनीहरु र सैनिक कल्याणकारी कोष लगायतले बैंकको अग्राधिकार सेयर खरिद पाउने छन्। सर्वसाधारण लगानीकर्तालाई खरिद गर्न भने वञ्चित गरिएको छ। 

अग्राधिकारको अंकित मूल्य राष्ट्र बैंकले अहिले नतोकेपनि जारी हुनेबेलामा सम्बन्धित वित्तीय संस्थाले खुलाउने राष्ट्र बैंकका बैंक वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशन गुरुप्रसाद पौडेल बताउँछन्। राष्ट्र बैंकको उच्च नियमनभित्र बैंक वित्तीय संस्थाहरु रहेकाले अग्राधिकार सेयर दुरुपयोग नहुने समेत उनले प्रस्ट पारे। 

'यस्तो सेयर बैंक वित्तीय संस्थाहरुको पुँजीकोषको समस्या समाधान गर्नका लागि जारी गर्न दिन लागिएको हो। संस्थागत लगानीकर्ताले मात्रै यस्तो उपकरण खरिद गर्न पाउँछन्। जारी गर्ने बेलामा सम्बन्धित बैंक वित्तीय संस्थाले अंकित मूल्य सर्वजनिक गर्छन्। बैंकहरु राष्ट्र बैंकको उच्च नियमनभित्र रहने गरेका छन्। राष्ट्र बैंकले यस्तो उपकरण जारी गर्न अनुचित ठानेमा रोक्न पनि सक्छ र उचित देखेमा जारी हुन्छ। त्यसैले यसको दुरुपयोग होला भन्ने प्रश्न नै आउँदैन', पौडेलले भने।


प्रकाशित : सोमबार, असार १७ २०८१०९:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend