आइतबार, भदौ २३ गते २०८१    
images
images

नेपालको पर्यटनमा चिनियाँको एकपछि अर्को ‘सरप्राइज’

सन् २०२५ पछि नेपाल आउन सक्छन् वार्षिक १० लाख चिनियाँ पर्यटक

images
शुक्रबार, असार १४ २०८१
images
images
नेपालको पर्यटनमा चिनियाँको एकपछि अर्को ‘सरप्राइज’

नेपालमा आउने भारतीय पछि सबैभन्दा धेरै चिनियाँ पर्यटक हुन। कोभिडपछि केही समस्या आएपनि अहिले पुन: चिनियाँ नै अगाडि देखिएका छन्।

images
images

काठमाडौं- पछिल्लो समय चिनियाँ कुटनीतिक नियोगका अधिकारीहरूको नेपालमा बाक्लो उपस्थिति रहेको छ। प्रत्येक हप्ता कुनै न कुनै विदेश मामलाका उच्च तहका अधिकारीहरू नेपालमा आइरहेका छन्। यही समयमा गत मंगलबार चिनियाँले नेपाललाई एउटा सरप्राइज दिएको छ। 

images
images
images

नेपाल-चीन कुटनीतिक परामर्श संयन्त्रको १६औँ चरणको बैठक मंगलबार काठमाडौंमा भएको थियो। चीनका उपविदेशमन्त्री सुन वेइदोङले सोमबार काठमाडौं आइपुगेका थिए। कुटनीतिक परामर्श बैठकमा विभिन्न मन्त्रालयका उच्च अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गरेकी थिइन्। सोही बैठकमा उपविदेशमन्त्री सुन वेइदोङले सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरे। यो घोषणाले सन् २०२५ पछि नेपालमा लाखौँ चिनियाँहरू भ्रमणमा आउने अनुमान गरिएको छ। 

वरिष्ठ पर्यटन व्यवसायी बसन्त मिश्र चिनियाँको यो निर्णय सरप्राइज रहेको बताउँछन्। ‘नेपालमा कनेक्टीभीटी थप हुने र चिनियाँ संस्थापनले सहयोग गरेमा सजिलै वार्षिक १० लाख पर्यटक भित्रिन सक्छन्,’ मिश्रले भने। चिनियाँको निर्णयले नेपालको पर्यटनसँगै पोखरा र भैरहवा विमानस्थल पनि सजिलै सञ्चालन हुनेसमेत उनको भनाइ छ। 

नेपाली अधिकारीहरूले पनि उक्त घोषणालाई सरप्राइजको रुपमा लिएका छन्। परराष्ट्रका एक अधिकारीले एजेन्डामा नभएको ठूलो घोषणा गरिएको र उक्त घोषणा नेपालका लागि फाइदा हुने विषय भएको बताए।

images

उक्त घोषणाले नेपालमा आउने चिनियाँ पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने देखिएको छ। बेइजिङले अहिलेसम्म नेपालको लागि यस्तो घोषणा नगरेको भन्दै नेपालको लागि यो सरप्राइज घोषणा कार्यान्वयनमा अब नेपालका सबै पक्ष लाग्नुपर्ने समेत अधिकारीहरूको बुझाइ छ।

चीनले कोभिड महामारीको समयदेखि तीन वर्ष बन्द गरेको नाका गतवर्ष मार्च १५ पछि फेरि खोलेको घोषणा गरेको थियो। 

मंगलबार मात्रै नभएर गत जेठ ३० गते पनि लुम्बिनीमा चिनियाँ अधिकारीले अर्को सरप्राइज पर्यटनमा दिएका थिए। चीनका राष्ट्रिय धार्मिक सांस्कृतिक मामिला मन्त्री छेङ रुइफेङले एक वर्षभित्रै नेपालमा १ लाख चिनियाँ पर्यटक पठाउने घोषणा गरेका थिए। मत्री छेङले सन् २०२५ को मध्येसम्ममा एक लाख चिनियाँ नागरिकलाई नेपाल भ्रमणमा पठाउनेगरी कार्य भइरहेको बताएका थिए। 

मन्त्री छेङले भैरहवाका व्यवसायीहरूसँगको छलफलमा चिनियाँ पर्यटक संसारभर धेरै घुम्न निस्कने गरेको र नेपालमा अब वार्षिक १ लाखभन्दा बढी चिनियाँ नेपाल पठाउनेगरी काम भइरहेको घोषणा गरेका थिए। सोही घोषणा भएको दुईसाता भित्रै चिनियाँ उपविदेशमन्त्री सुन वेइदोङ चिनमा नेपाल भ्रमण वर्ष २०२५ मनाउने घोषणा गर्नुले नेपालमा चिनियाँहरूले चासोका साथ हेरेको प्रष्ट भएको छ।

नेपालमा आउने भारतीय पछि सबैभन्दा धेरै चिनियाँ पर्यटक हुन। कोभिडपछि केही समस्या आएपनि अहिले पुन: चिनियाँ नै अगाडि देखिएका छन्। गत अप्रिल २८ मा काठमाडौंमा सम्पन्न तेस्रो नेपाल लगानी सम्मेलनमा चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीका अध्यक्ष लुओ झाओहुईले नेपालीहरूको भिसा शुल्क मिनाहा गर्ने घोषणा गरेका थिए। यो मे १ मा लागु भयो। 

शिखर सम्मेलनलाई सम्बोधन गर्दै लुओले भनेका थिए, ‘चीन सरकारले नेपालका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र लुम्बिनीमा नयाँ उडान सुरु गर्ने तयारी गरिरहेको छ।’ 

नेपालमा सन् २०२३ मा ६० हजार ८ सय ७८ चिनियाँ पर्यटक आएका थिए। यस वर्षको पहिलो पाँच महिना (जनवरी-मे) मा नेपालबाट ४६ हजार ६ सय ७१ चिनियाँ आएका छन्, जसमा मार्च महिनामा सबैभन्दा बढी १२ हजार ९३ पुगेको छ । पहिलो पाँच महिनामा नेपालमा १ लाख ४८ हजार ८ सय ६१ भारतीय पर्यटक आएका छन्, जुन मे महिनामा रेकर्ड गरिएको सबैभन्दा बढी ३८ हजार २ सय ८८ हो।

गत वर्ष नेपालमा १० लाख पर्यटक भित्रिएका थिए। चिनियाँ र भारतीय पर्यटक बढ्ने हो भने सजिलै २० लाख पर्यटक नेपाल आउने छन्। 

नेपाल र चीनले सन् १९५५ मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना गरेका थिए। नेपाल-तिब्बत व्यापार त धेरै अघि भएको हो। सन् १९५६ मा तिब्बतका चार सहरहरू ल्हासा, सिगात्से, ग्यान्त्से र यातुङलाई नेपाली व्यापारीहरूको प्रमुख व्यापारिक सहरको रूपमा नै तोकिएको थियो।

नेपालले आफ्नो पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न सन् २००० मा पहिलो पटक चाइना इन्टरनेशनल ट्राभल फेयरमा भाग लिएको थियो। सन् २००० भन्दा पहिले चिनियाँहरूले औपचारिक भ्रमणमा मात्र नेपाल आउने गरेका थिए। 

चिनियाँ सरकारले नोभेम्बर २००१ मा चिनियाँ आउटबाउन्ड यात्रुहरूका लागि एडीएस अनुमति दिएको थियो। दुई देशहरूले अप्रिल १६ मा २००१ मा चिनियाँ जनताको नेपाल भ्रमणको लागि कार्यान्वयन योजनाको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो। 

नेपाललाई यसको उत्तरी छिमेकीले २००२ मा स्वीकृत गन्तव्य स्थिति (एडीएस) प्रदान गरेको थियो। सोही वर्षको जुनमा, चिनियाँ नागरिकहरूले पहिलो पटक पर्यटकको रूपमा नेपाल भ्रमण गर्न थाले। नेपाल त्यसरी दर्जा पाउने १८ औं राष्ट्र थियो र दक्षिण एसियामा पहिलो थियो। सन् २००२ मा नेपालमा ८ हजार ७ सय १५ चिनियाँ पर्यटक भित्रिएका थिए।  

सन् २०१९ मा नेपालमा कीर्तिमानी संख्यामा १ लाख ६९ हजार ५ सय ४३ चिनियाँ पर्यटक भ्रमणमा आएका थिए। सन् २०२० मा यो संख्या १९ हजार २ सय ५७ मात्रै थियो। २०२१ र २०२२ मा नेपालमा ६ हजार १ सय ९८ र ९ हजार ५ सय ९९ चिनियाँ पर्यटकहरू आएका थिए। 


प्रकाशित : शुक्रबार, असार १४ २०८१०८:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend