काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघमा एक पटक फेरि विधान संशोधनको विषय पेचिलो बन्ने भएको छ। महासंघभित्रको राजनीति बुझेकाहरूका लागि यो कुनै नयाँ विषय भने होइन। विधान संशोधनको विषय गएको एक दशकदेखि पेचिलो बन्दै आएको महासंघका पदाधिकारीहरू नै स्वीकार गर्छन्।
विधान संशोधनकै विषयका कारण महासंघका गुटगत राजानीति हाबी हुँदै गएको र त्यसको प्रत्यक्ष असर महासंघको कामकारबाहीमा परेको छ। अहिले आएर फेरि महासंघमा विधान संशोधनको विषयले महासंघको छवि धमिल्याउने काम सुरू भएको छ।
विधान संशोधनको विषयसँगै महासंघका अध्यक्ष शेखर गोल्छा पदाधिकारीमा एक्लिने अवस्थामा पुगेका छन्। उनीविरुद्ध महासंघका सबै पदाधिकारी एकै ठाउँ उभिएका छन्। महासंघको ५४ औँ साधारणसभामा गोल्छाले भोट मागेर जिताएका पदाधिकारी पनि उनीसँग छैनन्।
विधान संशोधनको विषयलाई लिएर पदाधिकारीबीच बैठकमै भनाभन भएको छ। कतिसम्म भने पदाधिकारी बैठकमा पूर्वअध्यक्ष कुशकुमार जोशी नेतृत्वको विधान संशोधन समितिले समितिमा रहेका सबैको हस्ताक्षर भएको आधिकारिक डकुमेन्टसमेत पेश गर्न सकेनन्।
पुस १४ गते बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकमा समेत विधान संशोधनको विषय एजेन्डामा नपर्ने भएको छ। पदाधिकारीले विधान संशोधनको विषय समितिमा राख्न सहमति दिएका छैनन्।
यसरी विधान संशोधनको विषयमा विरोध भएपछि महासंघका अध्यक्ष गोल्छाले पत्रकार सम्मेलन गरेर विधान संशोधन समितिले बनाएको मस्यौदा बुझेका थिए। जुन विषयसमेत अहिले विरोधमा आएको छ।
‘संस्थाको आधिकारिक डकुमेन्ट पदाधिकारीले नै पाएका छैनन्। डकुमेन्टमा विधान समितिका अध्यक्ष तथा अन्य सदस्यको हस्ताक्षरसमेत छैन, कसरी यो आधिकारिक भयो?’, एक पदाधिकारीले भने, ‘विधान संशोधन महासंघको हितका लागिभन्दा पनि आफ्नो स्वार्थपूर्ति गर्न र कसैलाई सिध्याउने गरी भएको छ। यसपटक पनि कुनै हालतमा विधान संशोधन पारित हुँदैन। अध्यक्षले आफूले बोलेका कुरा मैले त ल्याएको थिएँ तर विरोध भयो, पास भएन भनेर फेस सेभ गर्न पाउनु हुन्छ।'
महासंघको विधान संशोधनमा भएको विरोधको चर्चा गर्दा पहिले त ५२ औँ साधरणसभासम्म पुग्नुपर्ने हुन्छ। ५२ औँ साधरणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित शेखर गोल्छा ५४ औँ साधरणसभाबाट महासंघको नेतृत्वमा पुगेका थिए।
महासंघको नेतृत्वमा रहेका गोल्छालाई सिधै वरिष्ठ उपाध्यक्षबाट अध्यक्षमा जानबाट रोक्ने खेल पनि विधान संशोधनबाटै भएको थियो। गोल्छालाई महासंघको तत्कालीन समयका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा पदाधिकारीमध्ये अधिकांशको सहयोग थियो। जसका कारण उनलाई महासंघको नेतृत्वमा सिधै आउने सक्ने व्यवस्था परिर्वतनका लागि भएको विधान संशोधनको खेल तुहिएको थियो। त्यतिबेला महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल विधान संशोधन समितिका संयोजक थिए।
५२ औँ साधरणसभाबाट नेतृत्वमा आएकी भवानी राणाको कार्यकालभरी नै विधान संशोधनको विवाद चलिरह्यो। तर विधान संशोधन हुन पाएन। विधानमा भएको व्यवस्थाअनुसार ५२ औँ साधरणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित शेखर गोल्छा ५४ औँ साधरणसभाबाट अध्यक्ष भए।
गोल्छालाई वरिष्ठ उपाध्यक्षबाट अध्यक्ष हुन नदिनेगरी भएको विधान संशोधनको खेलमा ५४ औँ साधरणसभाबाट निर्वाचित वस्तुगत संघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, जिल्ला-नगरतर्फका उपाध्यक्ष दिनेशलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष पराजित भएका किशोर प्रधान, एशोसिएट उपाध्यक्षमा पराजित सौरभ ज्योति, महासंघका तत्कालीन अध्यक्ष भवानी राणा र निर्वतमान अध्यक्ष पशुपति मुरारका सबैको सहयोग थियो।
उनीहरू सबैको नेता गोल्छा भएका थिए। अर्कोतर्फ पूर्वअध्यक्ष चण्डीप्रसाद ढकाल थिए।
विधान संशोधन समिति संयोजक ढकालले वरिष्ठ उपाध्यक्ष सिधै अध्यक्ष बन्ने व्यवस्था खारेज गरी प्रत्यक्षबाट अध्यक्ष निर्वाचन गर्ने गरी विधान संशोधनको मस्यौदा तयार पारेको थिए। जसका कारण व्यवसायी दुई ध्रुवमा विभाजित भए।
तत्कालीन समयमा महासंघको पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी समितिबाट समेत उक्त विषयको विरोध भएको थियो। विधान संशोधनको प्रस्ताव पेश नै नभइ यो खेल तुहियो। विधान संशोधनको खेल तुहिएपछि गोल्छालाई सिधै अध्यक्ष बन्ने बाटोमा राखिएको तगारो खुलेको थियो। यसरी सबैको सहयोग पाएका गोल्छा २०७७ मंसिरमा महासंघको अध्यक्ष पदमा पुगेका थिए।
अध्यक्ष पदमा पुग्नुभन्दा पहिले नै गोल्छाले भन्ने गरेको थिए- 'म अध्यक्ष भएपछि ६ महिनाभित्र विधान संशोधनको विषय प्रक्रियामा लगेर टुंगो लगाउँछु।' साथै उनले भनेका थिए- 'महासंघको शुद्धीकरण मेरो पहिलो प्राथकिता हुनेछ।'
यसो भन्दैगर्दा आफू सिधै अध्यक्ष हुने भएपछि सबैको नेता बन्नुपर्ने गोल्छा गुटको नेतामा सीमित भएका थिए। यतिसम्म कि ५२ औँ साधरणसभामा आफ्नै प्रतिस्पर्धी किशोर प्रधानलाई वरिष्ठ उपाध्यक्षमा भोट माग्दै चन्द्र ढकालको विरोधमा उत्रिएका थिए। वरिष्ठ उपाध्यक्षमा ढकालले प्रधानलाई हराए।
गोल्छाले प्रधानसँगै एशोसिएटमा सौरभ ज्योती, वस्तुगतमा अञ्जन श्रेष्ठ र जिल्ला नगरमा दिनेशलाल श्रेष्ठसहितको प्यानल बनाउँदै 'मेरो टिम' भनेर भोट मागेका थिए। भोट माग्दै गर्दा 'मलाई यो ठाउँमा आउन नदिन जे जस्ता खेल भए त्यसको अन्त्यका लागि मैले काम गर्न सहजताका लागि मेरो टिम बनाएको' भन्दै घोषणा गरेको थिए। उनको भनाइलाई कतिपय व्यवसायीले ५२ औँ साधरणसभामा भवानी राणाले गरेको गल्ती गोल्छाले दोहोर्याएको प्रतिक्रिया दिएका थिए।
महासंघको साधरणसभाबाट वरिष्ठ उपाध्यक्ष र एशोसिएटमा शेखरको गुटभन्दा बाहिरबाट ढकाल र संघाईले निर्वाचन जिते। निर्वाचनको परिमाण आएसँगै गोल्छाले भनेका थिए, ‘अब हिजोसम्म हामी विभिन्न गुट उपगुटमाा सहभागी हुँदै साधरणमासभामा हिडेका थियौँ। अब यो सकियो। हामी एक हौँ। व्यवसायीकै हकहितमा काम गर्ने हो। मेरो गुटको र तेरो गुट भन्ने रहँदैन। व्यवसायीकै हक हितमा काम गर्ने हो।'
उनकै भनाइलाई नै आधार मान्ने हो भने एक वर्षसम्म महासंघमा इतिहासमै नभएका कतिपय राम्रा काम पनि भए। कामको सर्वत्र चर्चा भयो। सबैले सफलताको जस पाइरहेका थिए।
चर्चा कमाउँदै जाने विषयमा एक वर्षमै ब्रेक लाग्न पुगेको छ। ब्रेक मात्रै लागेको होइन, ५४ औँ साधरणसभाले बनाएको 'शेखर गुट' नै फुटेको छ। महासंघको पदाधिकारीमा गोल्छा अहिले एक्लो भएका छन्। उनलाई आफैले विशिष्ट सदस्यका रुपमा मनोनित गरेको पशुपति मुरारकाको मात्रै सहयोग छ।
'उहाँ अहिले आफ्नै कारणले एक्लिनु भएको छ,' एक पदाधिकारीले भने।
पदाधिकारीमा गोल्छा एक्लो भएका छन् भने उनको विपक्षमा ६ जना छन्। योसँगै अब महासंघको कामले पहिलेकै अवस्थामा निरन्तरता नपाउने एक पदाधिकारी बताउँछन्। ‘जुन दिनसम्म नेतृत्वबाट सफा मनले काम भएको थियो, सबै एक थियौँ’, ती पदाधिकारीले भने, ‘अब नेतृत्वको काम गराइमा शंका उत्पन्न भइसकेको छ। अब बाँकी रहेको १६ महिना कपडा त टाल्न सकिएला, मन टाल्न सम्भव छैन।'
यो अवस्था कसरी आइपुग्यो?
महासंघको ५४ औँ साधरणसभाको निर्वाचनलक्षित कार्यक्रममा अध्यक्ष गोल्छाले 'आफूलाई जसरी अध्यक्ष हुन रोक्ने गरी खेल भएको थियो, अब आफू अध्यक्ष भएपछि कसैलाई यस्तो समस्या आउन नदिने गरी विधान संशोधन गर्ने' बताएका थिए। उनले प्रत्यक्ष निर्वाचनबाट नै अध्यक्ष चयन हुनेगरी विधान संशोधन गर्ने बताउँदै गर्दा उनका साथमा अहिले पदाधिकारीमा रहेकाको साथ थियो।
सोहीअनुसार गोल्छा अध्यक्ष भएपछि बसेको पहिलो कार्यकारिणी समितिले विधान संशोधन समिति बनाउने निर्णय गरेको थियो। समिति संयोजकमा कुशकुमार जोशी रहेका थिए। समितिले ११ महिना समय लगाउँदै विधान संशोधनको मस्यौदा अध्यक्षलाई बुझाएको समिति सहसंयोजक एवं महासंघकै पूर्वअध्यक्ष पशुपति मुरारका बताउँछन्।
‘हामीलाई कार्यकारिणी समितिले नै मस्यौदा बनाउन दिनेगरी निर्णय गरेको थियो। सोही निर्णयअनुसार नै विधान संशोधनको मस्यौदा तयार पारेर बुझाएका छौँ’ उनले भने, ‘मस्यौता तयार पार्दै गर्दा सबै पूर्वअध्यक्ष तथा पदाधिकारीको सुझाव लिने कामदेखि छलफलसमेत भएको छ। मस्यौदामा कोही व्यक्तिलाई अगाडि बढाउने र कोहीलाई रोक्ने गरी प्रस्ताव भएको छैन। हामीले त जिम्मेवारी पूरा गरेका हौँ। पास गर्ने वा नगर्ने कार्यकारिणी समितिबाट नै निर्णय हुन्छ।’
उनले विधान संशोधनका विषयमा सदस्यहरूलाई प्रश्नावली नै पठाएको र बहुमत सदस्यबाट प्राप्त सुझावलाई नै कार्यान्वयन गरिएको बताए। 'अधिकांशको धारणा कार्यकारी अध्यक्ष र प्रत्यक्ष चुनाव हुनुपर्ने भन्ने थियो' उनले भने, 'हामीलाई कार्यसमितिले बनाएको थियो, अध्यक्षमार्फत कार्यसमितिलाई नै सुझाव बुझाएका छौँ।'
यसअघि जस्तो कुनै एक व्यक्तिलाई लक्षित गरेर विधान संशोधन गर्ने खेल अहिले नभएको उनको भनाइ छ।
महासंघका पदाधिकारीहरूले भने निहित स्वार्थपूर्तिका लागि विधान संशोधनमा केही विषय प्रवेश गराएको बताउँदै आएका छन्।
‘आफू हुँदा तीन वर्ष अध्यक्ष हुने। अब आउनेको कार्यकाल घटाउने गरी किन काम भयो?’ ती पदाधिकारीले भने, ‘विधान संशोधनको मस्यौदामा स्वार्थ जोडिएको छ। कसैलाई रोक्ने गरी खेल भएको छ। यो कुनै पनि हालतमा पास हुँदैन।'
पहिलोपटक अहिले कार्यकारिणी सदस्यमा निर्वाचित भएकाहरूलाई छिटो पदाधिकारीमा पुग्न रोक्नेगरी विधान संशोधनको मस्यौदा तयार गरिएको उनीहरूको तर्क छ।
महासंघको विधान संशोधन समितिबाट निवर्तमान अध्यक्षलाई हटाएदेखि शंका सुरु भएको पदाधिकारीहरू बताउँछन्। अध्यक्षले पदाधिकारीबाट सहमति नलिइकन कार्यकारिणी समितिमा प्रस्ताव लैजान खोजे यसको परिमाण नराम्रो हुने ती पदाधिकारीले बताए।
विधान संशोधनमा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था खारेज गर्ने तर अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालमा भने त्यो लागू नहुने व्यवस्था गरिएको छ। यसैगरी कार्यकाल तीन वर्षबाट दुई वर्षमा झार्ने प्रस्ताव भएको छ। अन्य संरचनागत सुधारका विषय पनि विधान संशोधनमा राखिएको छ।
अहिले विरोधमा रहेकाहरूले प्रत्यक्ष निर्वाचित अध्यक्ष र दुई वर्ष कार्यकालको विषयमा बढी विरोध गरेका छन्। यसैगरी पदाधिकारीमा आउनका लागि दुई कार्यकालको ठाउँमा तीन कार्यकाल हुने व्यवस्था गरिएकोमा पनि विरोध भएको छ।
विरोधमा रहेका पदाधिकारीले मस्यौदा तयार पार्नका लागि बनाइएको प्रश्नावलीमा पनि 'हुन्छ वा हुँदैन' भनेर उत्तर खोजिएको र सुझाव दिन बञ्चित गरिएको भन्दै विरोध गरेका छन्।
५४ औं साधरण सभा अगाडि चण्डी ढकालले ल्याएको विधान संशोधनको प्रस्तावमा सिधै ५४ औँ साधरणसभाबाट अध्यक्ष बन्ने वर्तमान अध्यक्ष शेखर गोल्छालाई रोक्ने मनासय देखिएको थियो। तर अहिले आएको विधानको संशोधन मस्यौदामा कसैलाई पनि रोक्ने गरी नआएको विधान संशोधन समितिका एक सदस्यले बताए।
'शेखरले म प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गर्ने र कार्यकाल २ वर्षको बनाउँछु भन्दैगर्दा उहाँसँग कतिपयले हातेमालाे गरेका थिए,' महासंघका एक सदस्यले भने, 'अहिले उहाँले भने अनुसार नै विधान संशाेधन गर्न खाेज्दा कसैकसैलाई छटपट्टी भएको हाे। कसैलाई राेक्ने गरी विधान संशाेधनको मस्याैदा बनेकाे छैन। कसलाई राेक्न खाेजिएको हाे कार्यकारिणी सिमितको बैठकमा राख्दा हुन्छ।'
शेखरले ५४ औँ साधरणसभाबाट आफू अध्यक्ष भएपछि महासंघमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट अध्यक्ष चयन गर्ने बताएका थिए। साथै गोल्छाले कार्यकाल दुई वर्षमा झार्ने विषय पनि सँगसँगै बताउँदै आएका थिए। तत्कालिन समयमा वस्तुगत संघबाट उपाध्यक्ष बनेका अञ्जन श्रेष्ठ र जिल्लानगरतर्फका उपाध्यक्ष दिनेशलाल श्रेष्ठ पनि गोल्छासँगै थिए।
के भन्छन् अध्यक्ष गोल्छा?
विधान संशोधनको विषय मेरो मात्रै एजेण्डा होइन। ५२ औँ तथा ५४ औँ साधरणसभामा महासंघका सदस्यहरूबाट आएको जनमत हो। यसमा मेरो कुनै व्यक्तिगत स्वार्थ जोडिएको छैन।
विधान संशोधनको विषयलाई मैले प्रक्रियामा लैजाने हो। त्यसको सफलता तथा असफलतामा मेरो जिम्मेवारी हुँदैन। मैले पदाधिकारीहरूसँग छलफल गरेर नै अगाडि बढाउने प्रतिवद्धता गरेको हो। एकपक्षीय गर्ने काम हुँदैन।
विधान संशोधनमा सबैको एक मत नहुन पनि सक्छ। फरक मत हुनेसँग रिसइबी लिने विषय पनि हुँदैन। हामी त सदस्यको नोकर हो। सभाले हामीलाई यहाँ काम गर्ने भनेर पठाएका हो। सबैले नीजी क्षेत्रको हकहितका लागि काम गर्ने हो।
विधान संशोधनमा देखिएको फरक मत अन्य ठाउँमा रहँदैन र रहन पनि हुँदैन। अब महासंघमा सुनामी आउनेगरी काम गर्ने हो। हामी सबै व्यवसायी 'व्यवसायीको हक हित'को कामका लागि एकै ठाउँमा हुन्छौँ।