शनिबार, साउन १२ गते २०८१    
images
images
images

त्रिशुली ए-१ आयोजना : कोरियन लगानीकर्तालाई सेयर बिक्री गरेका नेपाली साझेदारले गरे सवा अर्ब करछली

images
बिहीबार , जेठ १७ २०८१
images
images
त्रिशुली ए-१ आयोजना : कोरियन लगानीकर्तालाई सेयर बिक्री गरेका नेपाली साझेदारले गरे सवा अर्ब करछली

पीपीए हुनुभन्दा अगाडि तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मासँगै नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका नेपाली साझेदार विकेश प्रधानाङ्ग पनि कोरिया पुगेका थिए।

images

काठमाडौं- रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको त्रिशुली ए-१ आयोजनामा सेयर बिक्रीकर्ता नेपाली साझेदार विकेश प्रधानाङ्गको कम्पनीले सवा १ अर्ब रुपैयाँभन्दा बढी करछली गरेको पाइएको छ। 

images
images

नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका नेपाली साझेदार विकेश प्रधानाङ्गले आयोजनाको अनुमतिपत्रको ९० प्रतिशत सेयर ५५.१ मिलियन डलरमा बिक्री गरेका थिए। सन् २०२२ को जनवरी २३ मा प्रतिअमेरिकी डलर ११९.३० रुपैयाँको हिसाबले ६ अर्ब ५७ करोड ३४ लाख ३० हजार रुपैयाँमा बिक्री गरिएको थियो। 

images

जसमा कर कार्यालयमा बुझाएको विवरणमा भने फरक विवरण दिएर करछली गरेको पाइएको छ। जसमा महालेखाको ६१ औँ प्रतिवेदनले सेमत छली गरिएको कर असुल गर्नुपर्ने निष्कर्ष निकालेको छ। 

नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्टले कोरियाली कम्पनी साउथ इष्ट कम्पनी लिमिटेड (कोसेप)लाई ५२ प्रतिशत, डेलियम इन्डिष्ट्रियल कम्पनी लिमिटेडलाई १६ र केयोङ कन्ट्रक्सन कम्पनी लिमिटेडलाई १० प्रतिशत, विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लाई १२ प्रतिशत सेयर बिक्री गरेका थिए।  स्थानीय लगानीकर्ता विकेश प्रधानाङ्गको जेड कन्सल्ट प्रालिको १० प्रतिशत स्वामित्व रहेको छ। विकेश प्रधानाङ्गले १० प्रतिशत सेयर राखेर ९० प्रतिशत सेयर इक्विटी बिक्री गरेका थिए। सोही बिक्रीमा प्रधानाङ्गले करछली गरेको देखिएको हो। 

images

"आयकर ऐन, २०५८ को दफा ९५ (क) (२ख) मा नेपाल धितोपत्र बोर्डमा सूचीकरण नभएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा जुन निकायको हित निःसर्ग भएको हो सोही निकायले बासिन्दा प्राकृतिक व्यक्ति र बासिन्दा निकायको हकमा १५ प्रतिशत तथा अन्यको हकमा लाभ रकमको २५ प्रतिशतको दरले अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था छ" महालेखाले भनेको छ।  

कोरियाको कर्पोरेसनले त्रिशूली ए-१ आयोजना निर्माणमा ५५.१ मिलियन अमेरिकी डलर लगानी गरेको उक्त कर्पोरेसनको वेबसाइटबाट नै देखिएको छ। २०२२ जनवरी २३ मा हस्तान्तरण भएको सेयर एक अमेरिकी डलरको ११९.३० रुपैयाँका हिसाबले ६ अर्ब ५७ करोड ३४ लाख ३० हजार रुपैयाँ हुन आउनेमा २ अर्ब २८ करोड २७ लाख ९१ हजार रुपैयाँमात्र हिसाब गरेकोले फरक ४ अर्ब २९ करोड ६ लाख ३९ हजार रुपैयाँमा बिक्रेताबाट आयकर ऐन, २०५८ अनुसार २५ प्रतिशत कर १ अर्ब ७ करोड २६ लाख ५९ हजार र सोमा लाग्ने शुल्क र ब्याजसमेत छानबीन गरी कर निर्धारण गर्नुपर्ने महालेखाले जनाएको छ। 

नेपाल विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली ए-१ जलविद्युत आयोजनाको प्रवर्द्धकसँग डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गरेको थियो। 

प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिसँग प्रतियुनिट ७ सेन्टमा पीपीए भएको छ। त्यो पनि फ्ल्याट दरमा ‘टेक अर पे’मा रहेको छ। जसअनुसार प्राधिकरणले वर्षैभरी एउटै मूल्यमा उसले उत्पादन गरेको सबै बिजुली किन्नुपर्ने हुन्छ। जसका कारण अन्य आयोजनाको पीपीए भन्दा यो महँगो देखिन्छ। 

Trishuli 1 Hydropower Project.jpg

विवादका बीच कोरियाली लगानी 

तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको दबाबमा उक्त पीपीए भएको थियो। पीपीए हुनुभन्दा अगाडि तत्कालीन ऊर्जामन्त्री शर्मासँगै नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका नेपाली साझेदार विकेश प्रधानाङ्ग पनि कोरिया पुगेका थिए। विकेशले कोरियाली कम्पनी कोसेको थर्मल पावर प्रोजेक्टको समेत अवलोकन गरेका थिए।

उत्पादन सुरु गरेको पाँच वर्षसम्म उक्त रेट वर्षको तीन/तीन प्रतिशतले बढ्ने हुँदा रेट झण्डै १० सेन्ट पुग्ने हुन्छ। त्यसमाथि अन्य आयोजनाहरू सामान्यतया २५ वर्ष र केही ३० वर्षको लागि दिइने गरेकोमा 'माथिल्लो त्रिशुली-१' भने ३५ वर्षका लागि दिइएको छ। 

सुक्खायामको ६ महिनामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसामा पीपीए भएको प्राधिकरणले जनाएको छ। नेपाल वाटरले प्रतिवर्ष तीन प्रतिशतका दरले ८ पटकसम्म मूल्यवृद्धिअनुसार पाउने र उसले प्रतिफल १७ प्रतिशतसम्म मात्र पाउने सम्झौतामा उल्लेख भएको थियो।

ऊर्जा मन्त्रालय र कम्पनीबीच २०७३ को पुस १४ गते आयोजना विकास सम्झौता भएको थियो। उक्त दिनको नेपाल राष्ट्र बैंकले तोकेको डलरको सटही मूल्यलाई स्थिर राख्ने गरी सम्झौता भएको थियो। प्राधिकरणले आयोजनाको विद्युत सुक्खायाम र वर्षायामको क्रमशः ८.४० र ४.८० रुपैयाँ प्रतियुनिट दरमा किन्ने छ।

तर आयोजना सम्पन्न हुँदा रिटर्न अन इक्विटी १७ प्रतिशतभन्दा बढी रहेको पाइएमा उक्त विद्युत खरिद दर सोहीअनुसार कम गर्ने समझदारी छ। रन अफ रिभर आयोजनाका लागि १६ मंसिरबाट १५ जेठसम्मको अवधिलाई सुक्खायाम र १६ जेठदेखि १५ मंसिरसम्मको अवधिलाई वर्षायाम मानिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले २ सय १६ मेगावाटको माथिल्लो त्रिशुली-१ जलविद्युत् आयोजनाको गएको वर्ष भदौमा शिलान्यास गरेका थिए। रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका-१ मा भूमिगत विद्युतगृहलगायतका संरचना निर्माणाधीन छन्।

आयोजनाबाट वार्षिक रुपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ। आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८ दशमलव ७५ प्रतिशत हिउँदयाममा र ६१ दशमलव २५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ।

उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशुली-३ ‘बी’ हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ। 


प्रकाशित : बिहीबार , जेठ १७ २०८११०:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend