शनिबार, चैत ३० गते २०८१    
शनिबार, चैत ३० २०८१
images
images

मुद्दती निक्षेपमा लगानी गरेर बीमा कम्पनीले कमाए भरमार नाफा

images
आइतबार, वैशाख ३० २०८१
images
images
मुद्दती निक्षेपमा लगानी गरेर बीमा कम्पनीले कमाए भरमार नाफा

बैंकिङ प्रणालीमा तरलता अभाव भएको भन्दै बैंक वित्तीय संस्थाले गत असोजसम्म निरन्तररुपमा मुद्दती निक्षेपको ब्याजदर बढाएका थिए।

images
images

काठमाडौं- बीमा कम्पनीहरूले बैंकहरूको मुद्दती निक्षेपमा लगानी गरेर उच्च नाफा आर्जन गर्न सफल भएका छन्। अर्थतन्त्र संकुचित भएर अधिकांश क्षेत्रको नाफा घटेको समयमा इन्स्योरन्स कम्पनीहरूको नाफामा भने ४० देखि २५४ प्रतिशतसम्म नाफा बढेको छ। 

images
images

जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनले नाफा उच्चरुपमा बढेको देखाएको हो। बीमा कम्पनीहरूको चालु आर्थिक वर्ष बीमा प्रिमियम र अन्डरराइटिङ कमिसन घटेपनि खुद नाफा भने उच्चरुपमा बढेको छ।

images
images

बीमा कम्पनीहरूले बैंकको मुद्दती निक्षेपमा ६३ अर्ब ६१ करोड रुपैयाँ निक्षेप राखेका छन्। गत वर्षको ९ महिनाको तुलनामा यसको वृद्धिदर १५.८ प्रतिशतले भएको देखिन्छ। बैंकहरूको मुद्दती निक्षेपमा लगानी गरेकाले बीमा कम्पनीहरूले उच्चरुपमा आम्दानी गरेका हुन्। विगत दुईवर्षयता मुद्दती निक्षेपको ब्याजदर उच्चतम बिन्दुमा पुगेर घट्न थालेको छ। 

images
images

ब्याजदर बढेको समयमा बैंकको मुद्दती निक्षेप लगानी बढाएकाले बीमा कम्पनीहरूले नाफामा वृद्धि भएको हो। राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको तुलनामा संस्थागत निक्षेपकर्तालाई दिने ब्याजदरको अन्तर चालु आर्थिक वर्षको दोस्रो मौद्रिक समीक्षाभन्दा अगाडि २ प्रतिशत कायम गरेको थियो।

तरलता बढी भएको भन्दै बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर निरन्तररुपमा घटाउन थालेपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपको अन्तर १ प्रतिशतले कायम गरेर संस्थागत मुद्दती निक्षेपकर्तालाई राहत दिएको छ।

बैंकिङ प्रणालीमा तरलता अभाव भएको भन्दै बैंक वित्तीय संस्थाले गत असोजसम्म निरन्तररुपमा मुद्दती निक्षेपको ब्याजदर बढाएका थिए। 

यसका साथै अधिकांश बैंकहरूले मुद्दती निक्षेप तान्नका लागि १० वर्षमा १० गुणा मुद्दती निक्षेपको स्किमसमेत ल्याएका थिए। बीमा कम्पनीहरूले प्रिमयमबाट प्राप्त लगानी बढी ब्याजदर भएका बैंकहरूको मुद्दतीमा लगानी गरी उच्चरुपमा ब्याज आम्दानी गरेका छन्। 

ब्याजदर बढेका कारण बैंकहरूको खुद ब्याज आम्दानी घटेपनि बीमा कम्पनीको आम्दानी बढेको छ। दुई वर्ष अगाडि बीमाहरूले मुद्दती निक्षेपमा गरेको लगानीको प्रतिफलका साथै बीमा कम्पनीहरूबीच भएको मर्जर एक्विजिसन, पुँजी वृद्धिका लागि जग्गा तथा सेयर बिक्री लगायतका कारणले बढेको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रले बताए। 

'विगतमा इन्स्योरेन्स कम्पनीहरूले मुद्दती निक्षेपमा गरेका लगानीको ब्याज आम्दानीले बीमा क्षेत्रको नाफा बढेको हो', क्षेत्रीले भने।

विगतको लगानीले नाफा बढाएपनि इन्स्योरेन्स कम्पनीको वास्तविक आम्दानी नबढेकाले नाफामा स्थायित्वको सम्भावना कम रहेको उनी बताउँछन्। 

'विगतमा भएको लगानी, जग्गा र सेयर बिक्री साथै मर्ज तथा एक्विजिसनले इन्स्योरेन्स कम्पनीको नाफा बढेको जस्तो देखिएको हो। तर बीमा कम्पनीहरूको वास्तविक आम्दानी अन्डरराइटिङ कमिसन र इन्स्योरेन्स प्रिमियमहरू बढेको छैन। विगतका वर्षमा बढेको मुद्दती निक्षेपको ब्याजदर पनि घटिरहेकाले बीमा कम्पनीको अहिलेको नाफा दिगो नहुन सक्छ', क्षेत्रीले भने।

बैंकहरूको मुद्दती निक्षेप मात्रै नभएर विगत ५ वर्षमा इन्स्योरेन्स कम्पनीहरूले विभिन्न क्षेत्रहरूमा गरेको लगानीको प्रतिफल आउन थालेकाले नाफा बढेको शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे बताउँछन्। कतिपय इन्स्योरेन्स कम्पनीहरू मर्ज भएर एकीकृत वित्तीय विवरण प्रकाशन गरेकाले पनि नाफामा वृद्धि देखिएको उनले बताए। 

'इन्स्योरेन्स कम्पनीहरूले दीर्घकालीन लगानीबाट प्रतिफल प्राप्त भएकाले नाफा बढेको हुनसक्छ। कतिपय मर्जर भएका इन्स्योरेन्स कम्पनीले आफ्नो एकीकृत वित्तीय विवरण प्रकाशन गरेकाले पनि नाफामा वृद्धि देखिएको हुनसक्छ। कतिपय इन्स्योरेन्स कम्पनी पुँजी वृद्धिका लागि आफ्नो सेयर बिक्री गरिरहेका छन्, यसले पनि नाफा बढाएको छ', पाण्डेले भने।

बीमा कम्पनीहरूको अल्पकालीन र दीर्घकालीन लगानीका योजना बनाएर लगानी गरेको र बीमाको फैलावट बढ्दै गएकाले पनि नाफामा वृद्धि देखिएको पाण्डेले बताए।

जीवन बीमा कम्पनीहरूले बैंकहरूको मुद्दती निक्षेपमा गरेको लगानीको प्रतिफल पाएपनि निर्जीवन बीमाले भने यसबाट लाभ प्राप्त नगरेको उनले बताए। निर्जीवन बीमाहरूले अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमा लगानी गरिरहेकोको उनको दाबी छ। 

अधिकांश बीमा कम्पनीहरूको नाफामा वृद्धि

अधिकांश बीमा कम्पनीहरूको वित्तीय प्रतिवेदन सार्वजनिक भइसकेको छ। वित्तीय विवतरण प्रकाशन गर्नेहरूमध्ये निको इन्स्योरेन्स कम्पनीबाहेक अधिकांश बीमा कम्पनीहरूको नाफामा वृद्धि देखिएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा यस कम्पनीले ४९ करोड १२ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो। 

गत वर्षको यसै अवधिमा ३० करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालु आर्थिक वर्षको सोही अवधिमा ४७ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको तेस्रो त्रैमासमा ३० करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको शिखर इन्स्योरेन्स कम्पनीले ३९ करोड रुपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको तेस्रो त्रैमासमा १६ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा २० करोड रुपैयाँ खुद नाफा गरेको छ।

एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा यस इन्स्योरेन्स कम्पनीले १३ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको थियो।

गत वर्षको यसै अवधिमा २३ करोड खुद नाफा गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष ६० करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको तेस्रो त्रैमासमा ३० करोड खुद नाफा गरेको नेपाल इन्स्योरेन्स कम्पनीले ६१ करोड ४४ लाख रुपैयाँ खुद नाफा गरेको छ। 

१९ करोड ४७  लाख रुपैयाँ गत वर्षको चैत मसान्तसम्म खुद नाफा गरेको एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ६९ करोड ११ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ।

मेटलाइफ इन्स्योरेन्स कम्पनीले पनि गत वर्षको तेस्रो त्रैमासको तुलनामा खुद नाफा बढाउन सफल भएको छ। गत वर्ष चैत मसान्तसम्ममा २१ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको मेटलाइफले चालु आर्थिक वर्षको सोही अवधिमा २७ करोड रुपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको चैत मसान्तको तुलनामा ओरिएण्डले पनि नाफा बढाएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस कम्पनीले  ४६ करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको छ।

नेको इन्स्योरेन्सको भने गत वर्ष यसै अवधिको तुलनामा खुद नाफा घटेको छ। गत वर्ष  चैत मसान्तसम्ममा ३८ करोड ३९ लाख खुद नाफा गरेको नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको यस अवधिमा ३७ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ।

यस्तै युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले पनि गत वर्षको तेस्रो त्रैमासको तुलनामा आफ्नो नाफा बढाएको छ। यस्तै हिमालयन रिइन्स्योरेन्स कम्पनीको पनि गत वर्षको तुलनामा खुद नाफा बढेको छ।


प्रकाशित : आइतबार, वैशाख ३० २०८११४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend