शनिबार, साउन १२ गते २०८१    
images
images
images

२० करोड मेट्रिकटन क्षमताको झुम्लावाङ फलाम खानी उत्खननको जिम्मा निजी क्षेत्रलाई दिइने

धौवादी उत्खननमा अलमल भइरहँदा झुम्लावाङ निजी क्षेत्रलाई

images
शुक्रबार, वैशाख २८ २०८१
images
images
२० करोड मेट्रिकटन क्षमताको झुम्लावाङ फलाम खानी उत्खननको जिम्मा निजी क्षेत्रलाई दिइने

आयातित फलामको तुलनामा स्वदेशमै उत्खनन र प्रशोधन गरिएको फलाम सस्तो हुने भएकाले फाइदा हुने देखिएर पनि खानी उत्खनन द्रुत गतिमा अगाडि बढाउन लागिएको विभागले जनाएको छ।

images

काठमाडौं- सरकारले रुकुमपूर्वको झुम्लावाङ खानीमा रहेको फलाम निजी क्षेत्रसँगको साझेदारीमा उत्खनन गर्ने भएको छ। अध्ययन सकिएसँगै खानी तथा भूगर्भ विभागले बोलपत्र आह्वानको तयारी गरेको हो। 

images
images

सरकारले आफै गर्न नसक्ने देखिएपछि सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा उत्खननको तयारी गरिएको हो। विभागले नेपालको अहिलेसम्मकै ठूलो फलाम खानी मानिएको रुकुमपूर्वको झुम्लावाङबाट फलाम उत्खनन गर्ने तयारी अघि बढाइसकेको छ। 

images

विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार ल्याब परीक्षणको रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ। केही दिनभित्रै बोलपत्र आह्वान गरेर कम्पनी छनोट गरिने उनले बताए। ‘संकलित नमूनाबाट खानीमा ४५ प्रतिशत शुद्धता भएको मध्यम दर्जाको फलाम रहेको पुष्टि भएको छ,’ बाँस्कोटाले भने। स्वदेशकै निजी क्षेत्रका लागि आह्वान भएपनि विदेशी साझेदार ल्याउन पाउने गरी बोलपत्र आह्वान गर्न लागिएको हो।

नेपालमा रामेछापको ठोसे, नवलपरासीपूर्वको धौवादी, रोल्पाको जेलवाङ, रुकुम पूर्वको झुम्लावाङलगायत पहाडी क्षेत्रमा फलाम भेटिएको छ। तीमध्ये झुम्लावाङ फलामको निक्षेप मात्राको हिसाबले सबैभन्दा ठूलोसमेत देखिएको छ। जसमा एकसय हेक्टरमा २० करोड मेट्रिकटन निक्षेप रहेको अनुमान गरिएकोसमेत बाँस्कोटाले जानकारी दिए। 

images

गतवर्षको जेठदेखि खानी तथा भूगर्भ विभागको खनिज प्रवर्द्धन तथा प्रशोधन केन्द्रका भूवैज्ञानिक सौनिक भण्डारी नेतृत्वको टोलीले झुम्लावाङमा अध्ययन गरेको थियो। अध्ययन सम्पन्न हुँदा अहिलेसम्मकै सबैभन्दा ठूलो फलाम खानी रहेको अनुमानसहित अब उत्खननको प्रक्रिया सुरु गर्न लागेको बाँस्कोटाले जानकारी दिए।

विगतमा तामा खानीसमेत रहेको अनुमान गरिएको खानीमा तामा पनि हुनसक्ने तर त्यसको लागि छुट्टै अध्ययन आवश्यक पर्नेसमेत विभागको भनाइ छ। 

‘हामीले टोपोलोजिकल सर्वेक्षण, भौगोलिक नक्सांकन, नमूना परीक्षण र वातावरण अध्ययन गरेका छौँ। करिब १ हजार १ सय नमूना संकलन गरी परीक्षण गरिएको हो,’ उनले भने।  

सरकारले गरेको तेस्रो लगानी सम्मेलनमा समेत खानीको सोकेस गरिएको थियो। लगानी बोर्डबाट पनि आवेदन आउन सक्ने तर विभागले पनि छुट्टै आवेदन मागेर इच्छुक कम्पनीको आशय माग्न लागेकोसमेत विभागका सूचना अधिकारी बाँस्कोटाले जानकारी दिए।

'सरकारले आफैले उत्खननको काम गर्न असम्भव जस्तै देखियो, सरकारले गर्ने भन्दा झन ढिला मात्रै हुने भएकोले पीपीपी मोडलमा जान लागिएको हो' बाँस्कोटाले भने। विभिन्न चरणमा प्राविधिक अध्ययन सम्पन्न गरेकोले अब उत्खनन गर्न लागिएको उनको भनाइ छ। 

नेपालमा पेट्रोलियम पदार्थपछि दोस्रो ठूलो संख्याको आयात नै फलाम र स्टिल हुने भएकाले फलाम उत्खननले आन्तरिक बजारलाई टेवा पुग्ने बास्कोटाले बताउँछन्।

आयातित फलामको तुलनामा स्वदेशमै उत्खनन र प्रशोधन गरिएको फलाम सस्तो हुने भएकाले फाइदा हुने देखिएर पनि खानी उत्खनन द्रुत गतिमा अगाडि बढाउन लागिएको विभागले जनाएको छ।

उत्खनन अनुमति लिने संस्थाले अनुमति पाएको मितिले दुईवर्षभित्र उत्खनन सुरु गर्नुपर्ने सर्तसमेत विभागले राखेको छ। उत्खननको अवधि सामान्यतया १० वर्ष दिइने तयारीसमेत विभागको छ।  

खानी दाङको घोराहीबाट १६५ किलोमिटर टाढा छ। खानीस्थल नजिकै करिब एकसय घरधुरी रहेका छन्। हालसम्म स्थानीय, प्रदेश र संघीय तीनवटै सरकारसँग कुनै पनि बस्ती र बासिन्दाका लागि के गर्ने भन्ने स्पष्ट नीति देखिएको छैन।

कम्पनी खडा गर्दा पनि धौवादीको फलाम उत्खनन् हुन सकेन

सरकारले धौवादी फलाम कम्पनी खडा गरेको पनि पाँच वर्ष भइसकेको छ। फलाम उत्पादन सुरु गरेर २० देखि २५ प्रतिशत व्यापार घाटा प्रतिस्थापन गर्न लक्ष्यसहित पाँच वर्षअगाडि सरकारले धौवादी फलाम कम्पनी लिमिटेड गठन गरेको थियो।

सरकारले केही वर्षयताका बजेट कार्यक्रममा धौवादी फलाम खानीबाट व्यावसायिक रुपमा फलाम उत्पादन गर्ने घोषणा गर्दै आएको छ। 

केही दिनअगाडि सम्पन्न साधारणसभामा समेत अब निकट भविष्यमै फलाम उत्पादन गर्ने वाचा गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलाले सुनाए। कहिले कसरी सुरु हुन्छ भन्ने विषय चाहिँ यकीन छैन। अहिलेसम्मको कामको प्रगति हेर्दा फलाम उत्खनन् सुरु गर्न अझै धेरै समय लाग्ने  देखिन्छ।

अहिलेकै गतिमा काम गर्ने हो भने अझै वर्षौं कुर्नुपर्ने निश्चित छ। ९ करोड ९० लाख टन फलाम भए पनि ९ करोड ६० लाख टन उत्खनन् गर्न सकिने लक्ष्य राखिएको खानीबाट खर्बौं रुपैयाँ बराबरको आम्दानीमात्रै होइन ठूला उद्योगको कच्चापदार्थका लागि आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने छ।

नेपालमा वार्षिक २७ लाख टन फलामजन्य वस्तुको आयात हुने गर्दछ। धौवादीमा ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको फलामखानीबाट दैनिक १ हजार ५ सय टन फलाम उत्पादन गर्न सकिने विशेष सम्भाव्यता अध्ययन प्रतिवेदनले नै देखाइसकेको छ।मुलुकमै फलाम उत्पादन भए अहिले भइरहेको आयातमा एक चौथाइ कम गर्न सकिने कम्पनीको अनुमान छ।

खानी तथा भूगर्भ विभागले गरेको अध्ययनका क्रममा गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा पर्ने हुप्सेकोट गाउँपालिका-५ को पश्चिम नाम्जाकोटदेखि पूर्वी धौवादी उत्खनन् कार्यलाई अगाडि बढाइए पनि काम द्रुत गतिमा हुन नसकेको सरकारी अधिकारीहरू नै स्वीकार गर्छन्। 

विभागले गरेको अध्ययनका क्रममा हुप्सेकोटको धौवादीको १० किलोमिटर क्षेत्रमा फलामको ठूलो खानी पत्ता लागेसँगै मन्त्रिपरिषद्को विसं २०७६ भदौ ४ गतेको निर्णयबाट ‘धौवादी फलाम कम्पनी लिमिटेड’ स्थापना गरिएको थियो।


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८११४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend