आइतबार, भदौ २३ गते २०८१    
images
images

प्यासेन्जर कारको बजार हिस्सा : पहिलो टाटा, दोस्रो बीवाईडी हुँदा अन्य ब्रान्डको स्थान कहाँ?

प्रिमियम ईभी ल्याएको किया समग्रमा सातौँ धेरै बिक्री गर्ने ब्रान्ड, ईभी नहुनेको हिस्सा गुम्दै

images
शुक्रबार, वैशाख २१ २०८१
images
images
प्यासेन्जर कारको बजार हिस्सा : पहिलो टाटा, दोस्रो बीवाईडी हुँदा अन्य ब्रान्डको स्थान कहाँ?

२०२२ मा नेपाली बजारमा कुल १० हजार २ सय ९३ वटा कार बिक्री भएकोमा विद्युतीयको संख्या २ हजार २ सय ४० वटा थियो। २०२३ मा कार बिक्री वृद्धि भएर कुल ११ हजार ८ सय ७२ वटा पुगेको तथ्यांक छ। यसमा विद्युतीय कारको संख्या ६ हजार ७ सय ६१ वटा रहेको छ।

images
images

काठमाडौं- नेपाली कार बजारमा विद्युतीयको प्रभाव उल्लेख्य रुपमा बढ्दै गएको छ। यही कारण आईसी (इन्टरनल कम्बस्चन) इन्जिन कारमात्र बिक्री गर्ने कम्पनीहरूको संख्यामा कमी आएको छ भने ईभी बिक्रेताहरूको उदय भएको छ। 

images
images
images

विगतमा सुजुकी र हुन्डाईबीच शीर्षस्थानका लागि प्रतिस्पर्धा हुन्थ्यो भने अहिले त्यो स्थानमा विद्युतीय कार बिक्रेताहरू पुगेका छन्।

नेपाली बजारमा कार चढ्ने उपभोक्ताको संख्या बढ्दै गइरहेको भए पनि विगतमा वार्षिक २२ हजार वटासम्म प्यासेन्जर कार बिक्री भएकोमा अहिले त्यो संख्या करिब आधाले घटेको छ। 

कोरोना महामारीयता नेपाली कार बजार लयमा फर्कन सकेको छैन। यो बीचमा सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै आईसी इन्जिन कारको आयातमा प्रतिबन्ध लगाएको थियो।

images

त्यस्तै अहिले पनि सरकारले मौद्रिक उपकरणको प्रयोग गरेर आईसी इन्जिन सवारीमा बैंक तथा वित्तीय संस्थाले गर्ने लगानीमा कडाइ रहेको छ। अहिले पनि आईसी सवारी किन्न ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ भने यसको 'रिस्क वेइटेज' ईभीको भन्दा धेरै रहेको छ। 

२०२२ मा नेपाली बजारमा कुल १० हजार २ सय ९३ वटा कार बिक्री भएकोमा विद्युतीयको संख्या २ हजार २ सय ४० वटा थियो। २०२३ मा कार बिक्री वृद्धि भएर कुल ११ हजार ८ सय ७२ वटा पुगेको तथ्यांक छ। यसमा विद्युतीय कारको संख्या ६ हजार ७ सय ६१ वटा रहेको छ। 

२०२३ मा कुल सवारी बिक्रीमा विद्युतीय सवारीको हिस्सा ५७ प्रतिशत पुगेको हो। विद्युतीय सवारी प्रयोगलाई सरकारले प्राथमिकता दिएको र विभिन्न ब्रान्डका प्रतिस्पर्धी मोडलहरू बजारमा उपलब्ध भएकाले बढेको हो।

विद्युतीय सवारी 'मेन स्ट्रिम' बन्दै गएकाले नेपाली कार बजारमा नयाँ सिनारियो देखिएको छ। विगतमा प्यासेन्जर कार सेगमेन्टमा ५\६ नम्बरमा रहेको टाटा बजार हिस्साका आधारमा पहिलो स्थानमा पुग्दा नयाँ ब्रान्ड बीवाईडीले दोस्रो स्थान लिएको छ। विद्युतीय सवारी नभएका कारण र भएर पनि पर्याप्त बिक्री नहुने मोडल भएका कारण विगतमा पहिलो तथा दोस्रो भएका ब्रान्डहरू चौथो तथा पाँचौँ स्थानमा पुगेका छन्।

प्यासेन्जर कार बिक्रीमा आएको लामो अन्तरालपछि टाटा मोटर्स नेपाली बजारमा शीर्ष स्थानमा पुगेको हो। २०२२ र २०२३ दुवै वर्ष प्यासेन्जर कार बिक्रीमा टाटा मोटर्स पहिलो स्थानमा रहेको छ। 

२०२२ मा टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदीले कुल २ हजार २ सय ९६ वटा कार बिक्री गरेको थियो। त्यस्तै २०२३ मा कम्पनीले २ हजार ९ सय २७ वटा कार बिक्री गरेको तथ्यांक छ। 

२०२३ मा टाटापछि कार बिक्रीमा बीवाईडी दोस्रो स्थानमा पुग्न सफल भएको छ। उक्त वर्ष बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले २ हजार १ सय ७७ वटा कार बिक्री गरेको हो। बीवाईडीका सबै विद्युतीय कार हुन्। 

तेस्रो स्थानमा विद्युतीय र आईसी इन्जिन कार बिक्री गर्ने हुन्डाई रहेको छ। २०२३ मा हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले १ हजार ३ सय २५ वटा कार बिक्री गरेको हो। 

चौथो स्थानमा भारतीय कम्पनी महिन्द्रा रहेको छ। २०२३ मा महिन्द्राका १ हजार २ सय ७४ वटा एसयूभी र एमपीभी बिक्री भएका हुन्। महिन्द्रका सवारी अग्नी इनकर्पोरेटेड बिक्री गर्दै आएको छ। महिन्द्राका विद्युतीय कार हाल नेपालमा बिक्रीका लागि उपलब्ध छैन भने कम्पनीको एक्सयूभी ४०० ईभी भित्रिने क्रममा रहेको छ। 

प्यासेन्जर कार धेरै बिक्री गर्ने ब्रान्डको पाँचौँ स्थानमा एमजी रहेको छ। २०२३ मा एमजीका १ हजार १ सय ३९ वटा कार बिक्री भएका छन्। पारामाउन्ट मोटर्सले एमजीका सवारी बिक्री गर्दै आएको छ भने एमजीका विद्युतीय र आईसी इन्जिन सवारी उपलब्ध छन्। 

त्यस्तै छौटौँ स्थानमा सुजुकी रहेको छ। सीजी मोटोकर्पले २०२३ मा ८ सय ५७ वटा कार बिक्री गरेको हो। विद्युतीय कार उपलब्ध नहुँदा सुजुकीको बिक्री हिस्सा उल्लेख्य रुपमा कमी आएको छ। सुजुकीमात्र नभइ ईभी नहुने ब्रान्डले आफ्नो ब्रान्ड हिस्सा गुमाइरहेका छन्। 

सातौँ धेरै कार बिक्री हुने ब्रान्डमा किया रहेको छ। कियाले २०२३ मा नेपाली बजारमा ५ सय ६६ वटा कार बिक्री गरेको हो। कन्टिनेन्टल ट्रेडिङले बिक्री गर्दै आएको कियाका विद्युतीय तथा आईसी इन्जिन कार उपलब्ध छ। तर हाल कियाको प्रिमियम विद्युतीय कार ईभी सिक्समात्र उपलब्ध रहेको छ।

यसैगरी आठौँ धेरै बिक्री हुने ब्रान्डमा निसान रहेको छ। २०२३ मा निसानका ३ सय ६८ वटा कार बिक्री भएको छ। पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको निसानको लिफ विद्युतीय कार उपलब्ध भएपनि यसको बिक्री सुस्त रहेको छ। 

नवौँ धेरै प्यासेन्जर कार बिक्री गर्नेमा होजोन अटोमो निटा ब्रान्ड रहेको छ। २०२३ मा निटाका २ सय ६५ वटा कार आयात भएको हो। सीजी मोटर्सले ल्याएको निटा ब्रान्डका विद्युतीय कार मात्र उपलब्ध छन्। 

यसैगरी दशौँ र एघारौँ स्थानमा क्रमशः सेरेस र टोयोटा रहेकोक छ। २०२३ मा यी दुई ब्रान्डले क्रमशः १ सय ७७ र १ सय ७२ वटा कार बिक्री गरेका थिए। सेरेस ब्रान्ड एमएडब्लू वृद्धि अटोकर्पले र टोयोटा युनाइटेड ट्रेडर्स सिन्डिकेटले बिक्री गर्दै आएको छ। सेरेससँग ईभीमात्र छ भने टोयोटाको ईभी नेपाली बजारमा उपलब्ध छैन। 

अन्य सबै ब्रान्डका कार २ सय वटाभन्दा कम संख्यामा बिक्री भएका हुन्। आयात भएको सबैजसो सवारी बिक्री भइसकेका छन् भने केही संख्या स्टकमा रहेका छन्। यहाँ उल्लेख गरिएको तथ्यांकमा मिनि, एसयूभी, एमपीभी, पिकअपलगायत सबै सेगमेन्टका कारको तथ्यांक समावेश गरिएको छ। 

२०२२ मा धेरै बिक्री हुने ब्रान्ड र संख्या 

टाटा- २२९६

महिन्द्रा- १८६०

हुन्डाई- १५८१

सुजुकी- १२३५

किया- ९९०

निसान- ५२९

टोयोटा- ३२५

इसुजु- २०७

बीवाईडी- १४२

रेनो- १४२

निटा- १४२

एमजी- ११९

स्कोडा- ११७

फोटोन- ८५

मित्सुबिसी- ८३

फक्सवागन- ८०

फोर्ड- ४२

जिप- ४२

ड्याटसन- ३८

प्रोटोन- ३०

जेएसी- २३

जीडब्लूएम- २१

बीएमडब्लू- २१

चेरी- १४

चाङगन- १३

टेस्ला- १३

हेनरी- १३

होन्डा-

अन्य- २८३

२०२३ मा धेरै बिक्री हुने ब्रान्ड र संख्या 

टाटा- २९२७

बीवाईडी- २१७७

हुन्डाई- १३२५

महिन्द्रा- १२७४

एमजी- ११३९

सुजुकी- ८५७

किया- ५६६

निसान- ३६८

निटा- २६५

सेरेस- १७७

टोयोटा- १७२

सिट्रोन- ११४

जीडब्लूएम- ६०

स्कोडा- ४०

होन्डा- ३५

फक्सवागन- ३१

जिप- ३१

विलिङ- २५

फोर्ड- २१

रेनो- १९

फोटोन- १९

मित्सुबिसी- १३

टेस्ला- १३

हेनरी- १२

बीएमडब्लू- १०

अन्य- १६२


प्रकाशित : शुक्रबार, वैशाख २१ २०८११२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend