यात्राका लागि विशेष हुन्छ धेरैथोक मिल्नुपर्ने अनुकुलता। त्यसमा जोडिन्छ समय, खर्चपर्च र साथ। कोभिड महामारी कम हुँदै जाँदा अनुकुलता मिलेका आन्तरिक पर्यटकको चहलपहल देशभर बढीरहेकै छ।
अब त अलि चिसो पनि लाग्यो। स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदा घुम्नपायक मौसम भने कहिल्यै जाँदैन। यो यात्राका तस्बिरहरू एक वर्षअघि कोरोना महामारी केही थामिँदाको हो। यात्रा खप्तडदेखि रारासम्मको भए पनि यहाँ विशेष गरी त्यसबीचमा पर्ने विभिन्न दृश्यहरू प्रस्तुत भएको छ।
बझाङको दारुगाउँ (मेलतडी), लोखडा हुँदै खप्तड राष्ट्रिय निकुञ्ज पुन्न सकिन्छ। त्यहाँबाट छेडेदहको काँडा, बाजुराको डोगडी, जडाङ, मार्तडी, कोल्टी, धुलाचौर, बाजुरा र मुगुको सीमाना झुँगाला, मुगुको रातापानी हुँदै जेउडैखोला पुग्न सकिन्छ। त्यहाँबाट माझघट्ट हुँदै रारा पुग्न सकिन्छ। यी दृश्य ६ दिनको पैदल यात्रामा समेटिएका फरक भूगोल, फरक जीवन हुन्।