काठमाडौं- उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्य ठमेल २४ सै घण्टा खुला हुने भएको छ। पर्यटकलाई सेवा सुविधा दिने गरी रात्रीकालीन व्यवसाय सञ्चालनको तयारी थालिएको हो।
नेपालमा आउने पर्यटकको रोजाइमा पर्ने पर्यटकीय गन्तव्य काठमाडौंको ठमेल क्षेत्रमा होटेलहरूको संख्या थपिएको छ। कोरोना भाइरस (कोभिड-१९)का कारण थाती राखेका होटेल पूर्वाधार बनाउने योजनालाई व्यवसायीहरूले पुनः अघि बढाएसँगै ठमेल क्षेत्रमा होटेलको संख्या थपिएको हो।
सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’को रूपमा मनाउने घोषणा गरेसँगै भ्रमण वर्षलक्षित गरेर ठमेल क्षेत्रमा होटेल तथा रेस्टुँरा व्यवसाय सञ्चालन गर्ने योजना व्यवसायीले बनाएका थिए तर सन् २०२० को पूर्वसन्ध्यामै विश्वव्यापी रूपमा कोरोना भाइरस देखिएको र जसले गर्दा व्यवसायीले योजना थाती राखेका थिए। कोरोना भाइरस न्यूनीकरण भएसँगै व्यवसायीहरूले लगानी बढाउँदा यो क्षेत्रमा उक्त संख्यामा होटेल थपिएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए।
सरकारले सन् २०१९ मा सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो। त्यसलाई लक्षित गरेर नै व्यवसायीहरूले होटेल तथा रेस्टुँरा व्यवसायमा लगानी थप्ने तथा गर्ने योजना अघि सारेका थिए। भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक ल्याउने महत्वकांक्षी घोषणा गरेको थियो। त्यसलाई लक्षित गरेर व्यवसायीले लगानी गर्ने तयारी गरेका थिए। तर त्यही समयमा देखिएको कोरोना भाइरस (कोभिड-१९)का कारण व्यवसायीहरूले आफ्ना परियोजनाहरू ‘होल्ड’ गरेका थिए।
‘कोभिड न्यूनीकरण भएपछि पूर्वाधारहरू धमाधम थपिएका छन्’, शर्माले भने, ‘कतिपय निर्माणाधिन अवस्थामा छन्, व्यवसायीहरूले रोकेर राखेका पूर्वाधारहरू बनाउँदा यहाँ थप ४० प्रतिशत क्षमता विस्तार भएको हो।’ कोरोनाकै बीच तथा यो भाइरस साम्य हुँदै गर्दा यो क्षेत्रमा पाँच तारे होटेल, होटेल अलफ्ट, होटेल बाराहीदेखि पर्यटकीय स्तरका काठमाडौं आगान्तुक होटेल, कैलाशकुट, सुर्य होटेललगायत थपिएका छन्।
कोरोना भाइरसपछि यो क्षेत्रमा रहेका विभिन्न व्यवसायको तथ्यांक संकलन गर्ने काम जारी रहेको उनले बताए। ‘सोही तथ्यांक संकलनका क्रममा हाल यो क्षेत्रमा कुल ५७३ वटा होटेल व्यवसाय सञ्चालनमा रहेको पाइएको छ,’ शर्माले, ‘कोरोनाअघि अर्थात् सन् २०१९ सम्ममा यो क्षेत्रमा ३७३ वटा होटेलहरू सञ्चालनमा थिए।’ उनका अनुसार यसमा पाँचतारे स्तरका होटेलदेखि पर्यटकीय स्तरका होटेलहरू पर्छन्।
होटेलहरूमा लगानी थपिँदा क्षमतासमेत विस्तार भएको छ। जसले गर्दा हाल दैनिक ३५ हजार पर्यटकलाई सेवा दिनसक्ने क्षमतामा यो क्षेत्रमा होटेलहरू पुगेको उनको भनाइ छ। यद्यपी होटेल पूर्वाधार बढे पनि पर्यटक भने पर्याप्त आएको अवस्था भने छैन। कोभिडअघि यो क्षेत्रमा दैनिक सरदर ५ हजार देखि ७ हजारसम्म पर्यटकले भिजिट गर्थे। परिषद्का अनुसार हाल भने अहिले यस्तो संख्या दैनिक ४ हजारदेखि ५ हजारसम्म छ।
मुलुकमा आउने पर्यटकको संख्या बढेसँगै ठमेलमा आउने पर्यटकको पनि संख्या बढेको छ। ‘यद्यपी यो पर्याप्त भने होइन,’ शर्माले भने, ‘अहिले यहाँका होटेलहरूको अकुपेन्सी नै ४० देखि ५० प्रतिशतसम्म छ तर पर्यटकीय सिजनको अन्तीमसम्ममा ७५ प्रतिशतदेखि ८० प्रतिशतसम्म पुग्ने हाम्रो आँकलन छ।’ ठमेलमा अहिले पाँचतारेदेखि पर्यटकीय स्तरका गरेर ५ सय ७३ होटेलहरू सञ्चालनमा छन्। कोरोना भाइरस आएको सन् २०२० देखि यताका वर्षहरूको तुलनामा सन् २०२३ को सुरुवातदेखि नै नेपालमा पर्यटक आगमन बढेको छ।
‘एउटा होटेलमा कम्तीमा ३० वटा कोठाको हिसाब गरेका हुन्छौँ, त्यस आधारमा दैनिक ३४ हजार ३८० जना पर्यटकलाई सेवा दिने क्षमता छ, यहाँ आउने पर्यटक कम्तिमा २ देखि ३ दिनसम्म बस्छन्’ शर्माले भने। सेप्टेम्बर तेस्रो सातादेखि नेपालमा पर्यटकीय सिजन पनि सुरु भएकाले यो क्षेत्रमा पनि पर्यटक आगमन र बसाइ बढ्नेमा यो क्षेत्रका व्यवसायी आशावादी देखिन्छन्।
प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटक सुरक्षा, २४ घण्टा नै पर्यटकलाई सेवा सुविधा दिने गरी रात्रीकालीन व्यवसाय सञ्चालनका विषयमा पनि परिषद्ले तयारी गरेको छ। आइतबार ठमेल क्षेत्रका होटेल व्यवसायी, महानगरिय प्रहरी वृत्त दरबारमार्ग र सोह्रखुट्टेका प्रहरी प्रमुखहरूको उपस्थितिमा परिषद् र होटेल एशोसिएसन नेपाल (हान)ले अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन्।
सो अवसरमा हानका महासचिव साजन शाक्यले पर्यटकको प्रायः बनेको ठमेलमा उनीहरू ढुक्क भएर घुम्न पाउने वातावरण बनाउन सहकार्य आवश्यक रहेको बताए। कोभिडअघिको तुलनामा यो क्षेत्रमा होटेल तथा रेस्टुँराको संख्या बढ्नुका साथै ट्राभल कम्पनीहरू पनि थपिएको भन्दै उनले रात्रीकालीन व्यवसायका लागि पनि प्रहरी-व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड दिए।
यस्तै महानगरिय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख चतुर्भुज ओझाले ठमेल पर्यटन र यहाँको व्यवसायलाई सघाउन प्रहरी प्रशासन लागि पर्ने बताए। कानून नमिचिने गरी व्यवसायलाई सघाउने भन्दै ओझाले भने, ‘व्यवसायीहरूले पनि कानूनको पालना गर्नैपर्छ, छिटो छिटो लाभ लिनेभन्दा पनि कानूनकै अधिनमा रहेर काम गरौँ र पर्यटन प्रवर्द्धन र सुरक्षामा सहकार्य गरौँ।’