काठमाडौं- २०४६ सालको उदारीकरणसँगै नेपालमा निजी क्षेत्रले विभिन्न क्षेत्रमा लगानीका पखेटा विस्तार गरेको थियो। सोहीअनुसार पर्यटनका क्षेत्रमा पनि लगानी भयो। तत्कालीन समयमा विश्वस्तरीय पूर्वाधार निर्माण भए।
त्यसअघिको बन्द व्यवस्थामा राजपरिवार तथा निकटहरूले मात्र यस्ता क्षेत्रमा लगानी गरेका थिए। यसमा पर्यटन तथा उड्डयन उद्योग पनि थियो। खुला भएसँगै साना होटलसँगै ठूला पाँचतारे होटल पनि सञ्चालनमा आए। विश्वस्तरीय स्ट्यान्डर्डका होटलका कारणले विदेशी पर्यटकहरूमा नेपालमा बसाइको विश्वसनीय वातावरण बनाए। तर २०५२ सालदेखि सुरु भएको द्वन्द्वका कारणले नयाँ ठूला परियोजना त आएनन्, भएका पनि बन्द भए।
२०५० को दशकदेखि २०७० को सुरुवातसम्म पनि होटल तथा पर्यटन क्षेत्रमा सीमित तथा परम्परागत लगानीमात्र थियो। त्यो बीचमा ठूला परियोजना त आएनन् तर साना र आवश्यक परियोजना भने आइरहेका थिए। पर्यटनमात्र व्यवसाय भएकाहरूले परियोजना सञ्चालन गरेका थिए।
नेपालमा शान्ति प्रक्रिया सुरू भएसँगै आर्थिक तथा पूर्वाधाारको विकास हुने र त्यसले गर्दा पर्यटन आगमन बढ्ने अनुमान धेरैको भयो। सरकारले पनि पर्यटनलाई प्राथमिकता दिँदै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल परियोजना त्यही समयमा सुरु गरेको थियो।
आन्तरिक राजमार्गसँगै अन्य पूर्वाधारमा लगानी गर्ने महात्वकांक्षी परियोजना सुरु भएपछि लगानीकर्ताहरूले पर्यटनमा भविष्य देख्न थाले। यही कारणले उद्योगी व्यवसायीहरूले होटल परियोजनामा लगानी गरे।
गएको एक दशकमा आधा दर्जनभन्दा बढी पाँचतारे होटल परियोजना सञ्चालनमा आइसकेका छन्। त्यस्तै पहिलोपटक काठमाडौंबाहिर धेरे पाँचतारे होटल निर्माण भए। काठमाडौंमा मात्र केन्द्रित लगानी काठमाडौं बाहिर पनि गयो।
गएको दशकमा मात्र होटल क्षेत्रमै एक खर्बभन्दा बढी लगानी भएको छ। यो लगानी र विश्वस्तरीय पूर्वाधार निर्माण हुनुमा पहिलेदेखि नै पर्यटनलाई मुख्य व्यवसाय बनाएकाहरूबाट मात्र सम्भव भएको होइन। पछिल्लो समय अन्य उद्योग व्यवसायमा सफलता हात पारेकाहरूले नयाँ लगानीको स्रोतका रुपमा पर्यटनलाई छाने र त्यसमा पनि होटलमा उनीहरूको लगानी भयो। सयौँ यस्ता सफल उद्योगी व्यवसायी छन् जसले पहिलोपटक होटलमा ठूलो स्केलमा लगानी गरे।
यही कारणले गर्दा पछिल्लो दशवर्षमा ठूला होटल तथा रिसोर्ट परियोजनाको संख्यामा वृद्धि भएको छ। २०६८ सालमा नेपालमा कुल ८२७ वटा होटल थिए। त्यसमा १०६ वटा तारे होटल थिए। तर अहिले यो संख्या बढेर १६८ वटा पुगेको छ। रिसोर्टहरू पनि यस्तैगरि बढेका छन्।
गएको दशकमा थपिएका होटलको बेड तथा कोठा संख्या झन धेरै छ। पहिलेको तुलनामा ठूला होटलमा लगानी बढेको प्रतिफल कोठा र बेडमा देखिएको छ। बेडको संख्या दोबर बढेको छ। किनभने पछिल्लो दशकमा आधा दर्जन त पाँचतारे होटल नै थपिएका छन्। त्यस्तै स्तरीय होटल तथा रिसोर्ट पनि उल्लेख्यनीय संख्यामा थपिएका छन्।
होटल तथा रिसोर्टमा देखिएको यो उत्साहको एउटामात्र कारण हो नयाँ उद्यमी व्यवसायीहरूको प्रवेश। उत्पादनमूलक उद्योगमा विरासत बनाएका मारवाडी समूहले पनि होटलमा लगानी बढाएका छन्। यस्तै एउटा समूह हो एमएस समूह। स्टिल, चीनी, धागोजस्ता उद्योगमा सफलता हात पारेको यो समूहका सञ्चालक शशिकान्त अग्रवालले पछिल्लो समय होटलमा लगानीमात्र गरेका छैनन् अझै विस्तार गरिरहेका छन्।
अग्रवालले म्यारियटका दुई ब्रान्डमा होटल सञ्चालन गरिरहेका छन् भने म्यारियटकै अर्को ब्रान्डमा नयाँ होटल ल्याउने घोषणा गरेका छन्। १ सय १० कोठा रहेको ठमेलमा फेयरफिल्ड होटल र नक्सालमा पाँचतारे होटल म्यारियट काठमाडौं सञ्चालनमा छ। पछिल्लो समय काठमाडौंको चर्चित पाँचतारे होटल म्यारियटसँगै अग्रवालले नै मोक्सी काठमाडौं होटल निर्माणको काम अघि बढाएका छन्।
नेपालको सबैभन्दा ठूलो तथा सफल औद्योगिक घराना चौधरी समूहले नेपालमात्र नभएर विदेशमा पनि होटल सञ्जाल विस्तार गरिरहेको छ। चौधरी समूहले चितवनमा मेघौली सेराई, द फर्न सञ्चालन गरिरहेको छ। त्यस्तै काठमाडौंमा एनई समूहसँगको साझेदारीमा भिभान्ता छ भने समिट होटल निर्माणाधीन रहेको छ। समिट होटलकै ठाउँमा लक्जरी ब्रान्ड सेन्ट रेगिज ल्याउने तयारी यो समूहले गरिरहेको छ।
चौधरीसँगै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको एनई समूहले पनि होटलमा आक्रामक लगानी गरिरहेको छ। सोल्टी, भिभान्तादेखि समिसम्म यो समूहले लगानी गरेको छ।
उद्योग तथा व्यापारमा सफल शंकर समूहले काठमाडौंमा हिल्टन होटल निर्माण गरिरहेको छ भने पोखरामा वेलनेस होटलको निर्माण कार्य अघि बढाएको छ। शंकर समूहजस्तै अन्य धेरै औद्योगिक समूह तथा घरानाले पछिल्लो समय होटलमा लगानी बढाइरहेका छन्।
वित्तीय क्षेत्रमा लगानी विस्तार गर्दै बेग्लै पहिचान बनाएको आईएमई समूहले पनि फरक मोडलमा होटलमा लगानी विस्तार गर्दै आएको छ। केबलकारसहितको होटल तथा रिसोर्टमा लगानी गर्दै आइएको यो समूहले काठमाडौंमा चन्द्रागिरि रिसोर्ट सञ्चालन गरिरहेको छ। यो समूहले त्यस्तै चन्द्रागिरिजस्तै नेपालका सातै प्रदेशमा परियोजना अघि बढाइरहेको छ।
गैरआवासीय नेपाल संघका पूर्वअध्यक्ष शेष घलेले काठमाडौंमै शेराटन होटल निर्माण गरिरहेका छन्। बैंकर पृथ्वीबहादुर पाँडेले काठमाडौंमा पाँचतारे होटल अलफ्ट सञ्चालनमा ल्याइसके भने नगरकोटमा अर्को परियोजना विकास गरिरहेका छन्।
अटोमोबाइल्स, शिक्षा, रियल स्टेट व्यवसायमा जमिरहेका अरुण चौधरीले चितवनमा टाइगरल्यान्ड सफारी रिसोर्ट सञ्चालन गरिरहेका छन् भने काठमाडौंमा पाँचतारे होटल निर्माण गरिरहेका छन्। त्यस्तै वेलनेस होटलमा पनि उनको लगानी छ।
गोल्यान समूहले काठमाडौंमा ह्यात प्लेस सञ्चालनमा ल्याइसकेको छ भने सेञ्चुरी समूहले विराटनगरमा दुईवटा होटल चलाइरहेको छ। अटोमोबाइल तथा वित्तीय संस्थामा लगानी रहेको अग्नी इन्कर्पोरेटले पनि दुईवटा होटलमा लगानी गरेको छ। सूर्य नेपालले पनि होटल परियोजनामा लगानी अघि बढाउने घोषणा गरिसकेको छ।
लगभग सबै सफल उद्यमी व्यवासायीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा होटलमा लगानी गरिरहेका छन्। यसैको प्रतिफलस्वरुप ठूला र स्तरीय होटलको संख्यामा वृद्धि भएको छ।
आखिर होटलमा आकर्षण किन बढ्यो?
होटलमा लगानी गर्न उद्योगी व्यवसायी आकर्षित हुनुको मुख्य दुईवटा कारण हुन्। पहिलो भविष्य, दोस्रो सुरक्षित लगानी। अन्य उद्योगको तुलनामा न्यून नाफा हुने भएपनि यसमा उनीहरूको लगानी भने अझ बढिरहेको छ।
होटलमा लगानी भनेको जग्गा मुख्य हो। जग्गामा जति लगानी गरेपनि नाफा नै नभए पनि जग्गाको भाउ घट्दैन, अझ बढ्छ। यसले गर्दा एक प्रकारको सुरक्षित लगानी हो। यस्तो सुरक्षित लगानी पनि हुने अर्कोतिर नेटवर्किङको थलो पनि हुने।
होटलमा ग्ल्यामर र नेटवर्किङ पनि हुने भएकाले धेरैको आकर्षण देखिन्छ। तर पनि यसमा ठूलो लगानी हुने भएकाले खाली यसकै लागि आएको भन्न मिल्दैन।
होटलमा लगानी बढ्नुको मुख्य कारण हो भविष्य। नेपालमा विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत पर्यटन हो। रेमिट्यान्सपछि पर्यटन नै हो। तर अहिले पर्यटकको संख्या खासै उल्लेखनीय नभए पनि सरकारले जसरी पनि भए पनि पर्यटनलाई नै केन्द्रमा राख्नुपर्ने र सोहीअनुसार पूर्वाधार बनिरहेकाले गर्दा लगानीका लागि उनीहरू उत्प्रेरित भएका हुन्।
पर्यटन तथा होटलमा लगानीको मुख्य उत्प्रेरक भनेको त्यसमा भविष्य देखिनु नै भएको आईएमई समूहका अध्यक्ष चन्द्र ढकाल बताउँछन्। जताबाट हेरे पनि नेपालको अर्थतन्त्रको भविष्य पर्यटन हो। रोजगरी सिर्जनादेखि विदेशी मुद्रा आर्जनसम्मका लागि पर्यटनमा सरकारी ध्यानाकर्षण हुनैपर्ने अवस्था रहेको ढकालको भनाइ छ।
‘अहिले गरेको लगानीको प्रतिफल भोलि आउने पक्कै पनि होइन तर एउटा समय अन्तरमा पर्यटन नेपालको मुख्य स्रोत हो। यदि यस्तो भएमा सबैको ध्यानाकर्षण हुने छ। यो भविष्यमुखी लगानी हो’ ढकालले भने।
यदि १० वर्षपछि गएर सरकारले बनाउनुपर्ने सबै पूर्वाधार बन्ने तर बस्ने होटलको अभाव हुन नहुने भएकाले सरकार र निजी क्षेत्रले पूर्वाधार सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ छ।
पछिल्लो १० वर्षमा होटलमा भएको कर्पोरेट लगानी प्रभाव बैंकिङ लगानीमा पनि देखिएको छ। पछिल्लो पाँच वर्षमा मात्र होटलमा बैंकहरूले १ खर्ब बढी ऋण लगानी गरेका छन्। गएको पाँच वर्षमै खुद ऋण ८० अर्ब बढेको छ।
बैंकिङ क्षेत्रको लगानी होटलमा बढ्ने भनेकै ठूला परियोजनाका कारणले हो। होटलमा प्रतिफल देखेरै बैंकहरूले लगानी गर्छन्।
होटल ठूलामात्र होइन विदेशी चेन पनि उत्तिकै आइरहेका छन्। यही कारणले गर्दा नेपालमा पछिल्लो समय विश्वभर सञ्चालनमा रहेका होटल ब्रान्ड आएका छन्।
ठूलो लगानी होटल तथा पर्यटनमा आउनु समग्र क्षेत्रकै लागि सुखद भएको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहको भनाइ छ। ‘ठूलो लगानी भन्नेवित्तिकै उनीहरूले लगानीको प्रतिफल लिनका लागि पनि उत्तिकै बिजनेस चाहिन्छ। त्यसका लागि उनीहरू आफैले प्रायस गर्छन् र अन्तत: देशमा पर्यटक आउँछन्’ उनले भने।
जतिसुकै होटलमा कर्पोरेट लगानी ओहिरिए पनि यो जोखिमरहित भने छैन। अहिलेसम्म जसरी लगानी आइरहेको छ यो आजभन्दा २० वर्ष पहिलेको गार्मेन्टमा आएजस्तो हुनसक्ने धेरैले औँल्याएका छन्।
जसले पनि अलिकति पैसा हुनेवित्तिकै होटल खोलिहाल्ने अहिलेको प्रवृत्तिले यदि भविष्यमा भनेजस्तो पर्यटक नआएमा परियोजनामात्र डुब्ने छैनन् समग्र बैंकिङ क्षेत्र पनि जोखिमा पर्नेतर्फ पनि सचेत हुनुपर्ने व्यवासायीहरूकै भनाइ छ।
हाल नेपालमा १७ वटा पाँचतारे होटल दर्ता छन्। १०९ वटा साधारण रिसोर्ट छन्। ३७ वटा एकतारे होटल छन् भने ४३ वटा दुईतारे होटल छन्। पर्यटन विभागमा हालसम्म ३४ तीनतारे २७ वटा चारतारे होटल निर्माण छन्। त्यस्तै नेपालमा एकमात्र पाँचतारे डिलक्स होटल मेची क्राउन छ भने तीनवटा डिलक्स पाँचतारे रिसोर्ट, दुईवटा लक्जरी रिसोर्ट र चारवटा हेरिटेज बुटिक होटल छन्।
यी सबै स्तरीय होटल तथा रिसोर्टमा १२ हजार ६ सय ५४ कोठा छन् भने २० हजार ७ सय ८४ बेड छन्। यीबाहेक पर्यटकलाई सेवा दिनेगरि खुलेका तर विभागबाट स्तरीकरण नगराएका सयौँ होटल पनि छन्। पर्यटकीय क्षेत्रमा खुलेका यस्ता सयौँ होटल छन् जसले अहिलेसम्म स्तरीकरण गराएका छैनन्।