शनिबार, असोज ५ गते २०८१    
images
images

पानी नपरे खेतीको चिन्ता, परे उठीवास हुने पीर

images
बुधबार, साउन १७ २०८०
images
images
पानी नपरे खेतीको चिन्ता, परे उठीवास हुने पीर

महोत्तरीको कुल खेतीयोग्य क्षेत्रफलमध्ये स्थायी सिँचाइ १० प्रतिशत जग्गामा पुगेको केन्द्रको तथ्यांकमा उल्लेख गरिएको छ। आकासे पानीको भरमा खेती गर्ने किसान पानी नपरेपछि धानको बीउ ब्याडमै सुक्न थालेको बताउँछन्।

images
images

महोत्तरी- मध्य साउन बितिसक्दासम्म खेतीका लागि पर्याप्त पानी नपरेपछि किसान चिन्तित छन्। खानेपानीको संकट झेलिरहेका यहाँका किसान आकाशतिर ताक्दै पानी पार्ने बादल देखिन्छ कि भन्ने आशमा छन्।

images
images
images

बर्खायाम सुरु भयो कि महोत्तरीका किसानलाई पानी पर्नेरनपर्ने पिरोलो बढ्छ। पानी नपर्दा खेती नहुने, खानेपानीको हाहाकार पर्ने, पानी बढी पर्दा घरखेत बाढीको कटान र डुबानमा पर्ने चिन्ताले सधैँ किसानलाई पिरलो हुन्छ।

यस वर्ष साउनको मध्य बितिसक्दासम्म पनि पानी नपरेपछि किसानले धान लगाउन पाएका छैनन् भने गर्मीका कारण अन्य बालीनाली र बोटबिरुवासमेत सुक्दै गएका छन्। खानेपानीका मुहान सुक्दा अहिले जिल्लाका कैयौँ गाउँरबस्तीमा खानेपानीको संकट बढेको छ। जिल्लामा हालसम्म ४० प्रतिशत मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी जनाएको छ।

केन्द्रका अनुसार कुल ७१ हजार हेक्टर जमिन खेतीयोग्य मानिएकामा करिब ५० हजार हेक्टर धान खेतीका लागि उपयुक्त मानिएको छ। जिल्लाको कुल खेतीयोग्य क्षेत्रफलमध्ये स्थायी सिँचाइ (कुलो/नहर) १० प्रतिशत जग्गामा पुगेको केन्द्रको तथ्यांकमा उल्लेख गरिएको छ। आकासे पानीको भरमा खेती गर्ने किसान पानी नपरेपछि धानको बीउ ब्याडमै सुक्न थालेको बताउँछन्।

images

सिँचाइ पुगेका स्थानमा पनि पानीका मुहान सक्न थालेको बर्दिबास-३ कालापानीका किसान नरबहादुर पुलामीले बताए। कलकल पानी बग्ने कुलोमा कमिलाका ताँती देखिने थालेका उनको भनाइ थियो। 'आकाशबाट पानी नपरेकाले कुलो तथा नहर सबै सुकेका छन्', पुलामीले भने, 'कुलोमा पानी ल्याउने नदी, खोल्साखोल्सी सबैमा धुलो उड्दैछ, अनि कहाँबाट पानी आउँछ र सिँचाइ हुन्छ!' 

उनका अनुसार गत वर्षको बर्खामा बाढी र डुबानले कैयौँं बस्तीका नागरिका विस्थापित भएका थिए। उनीहरु अझै पनि पालमुनि बस्दैछन्। यस वर्ष साउनमध्य हुँदासम्म पनी खेती गर्ने पानी नपरेर चिन्ता थपेको उनको भनाइ छ।

भंगाहा-५ सीतापुरका शिवनाथ खत्वेले पानी नपरेपछि धान रोप्न नपाएको बताए। उनले कुलोबाट सिँचाइ गरी रोपाइँ गरिए पनि धानको रोपो खङ्रङ सुक्दै गएको बताए। पानी नपरेर खेती गर्न नपाएका खत्वेलाई कहिलेकाहीँ चुरे पाहाडमा बादल मडारिएको देख्नासाथ अब घर उठीवास हुनेभो भन्ने चिन्ताले गलाउँछ।

'आकासे पानीको भरमा खेती गर्नु पर्ने भएकाले पानी नपर्दा खेत बाँझो बस्ने पीर, बादल मडारिएको देख्दा भीषण वर्षाले बडहरी नदीमा बाढी आएर बस्ती नै बगाएर लान्छ भन्ने त्रासले छ', उनले भने। जताततै धान हरिया देखिने समयमा खडेरीले उजाड बनाएको उनको भनाइ थियो।

धनुषाको सीमासँगै रहेको उक्त बस्ती नजिकको बडहरी नदीमा धनुषातर्फ खोरिया-सीतापुरसम्म तटबन्ध छ। महोत्तरी सुुरु भएपछि साँघुरिएको तटबन्धमा ठुलो पानी पर्दा आउने बाढीको बेगका कारण बस्ती जोखिममा परेको धतियाटोलका शोभित खत्वेले बताए। 'पानी नपरे खेतीको चिन्ता, पानी परे बाढी र डुबानले उठीवास हुने चिन्ता छ', उनले भने। उनका अनुसार धतियाटोल बडहरी नदीको अहिलेको बहाव क्षेत्रबाट एक सय मिटर दुरीमा पर्दछ।

एक दशकअघि एक किलोमिटर टाढाको नदीले धार फेर्दै बस्ती नजिकै आइपुगेको भन्दै नियन्त्रणका विकल्प नखोज्दा बस्ती नै जोखिममा परेको झौली भण्डारी मालीले बताइन्। बडहरि नदी वारीपारी बाँध बनाएर खेतीका लागि सिँचाइको व्यवस्था हुनुपर्ने उनको भनाइ थियो।

'माथि बाँध बाँधेपछि नदीमा आउने बाढीले ल्याउने मलिलो माटो खेतमा पुर्‍याए उब्जनी बढ्छ', किशोरी सिंह राजपूतले भनिन्, 'गत वर्षको बर्खेभेलले खेत पुरै कटान गरेको छ।' नदी नियन्त्रणका उपाय खोजी सिँचाइको प्रबन्ध गर्न सके उत्पादन वृद्धि हुनुका साथै बस्ती सुरक्षित हुने उनको भनाइ थियो।

बडहरि नदीले पछिल्ला १० वर्षयता बस्तीका ७० बिघाभन्दा बढी उर्बर जग्गा कटान गरेको जोगिन्दर यादवले बताए। 'विभिन्न ठाउँमा बाँध, कुलो बनाई सिँचाइका प्रबन्ध भएका समाचार आए पनि हाम्रोतिर भने सधैँ आकासे पानीको भरमा बस्नुपरेको छ', उनले भने, 'स्थानीय सरकारको यसतर्फ ध्यान जान सकेको छैन।'

‘जनताको तटबन्ध कार्यक्रम’ अन्तर्गत रातु, बडहरीलगायत नदीका ठाउँठाउँमा बाँध बाँधिए पनि भंगाहा नगरपालिका-३, ४ र ५ मा बाँध बाँधिएको छैन। यहाँका जनप्रतिनिधिले नागरिकको सुरक्षाका लागि पहल गर्नुपर्ने स्थानीयको माग छ। 

भंगाहा नगरपालिकाका एक दर्जनभन्दा बढी बस्ती बडहरी र रातु नदी कटानको उच्च जोखिममा छन्। धतियाटोल, रामनगर, सिद्धपुर बडहरीको र टोका, पलार, रामनगर, सिङ्ग्याही, हतिसर्वा, बखरी, कविलाशा, सग्रामपुर र मजरासहितका बस्ती रातु नदीको कटान जोखिममा छन्।

जोखिमपूर्ण बस्तीलाई दीर्घकालीन रुपमा बचाउनका लागि तटबन्ध र सिँचाइ कार्यक्रमबारे प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराइएको भंगाहा नगरप्रमुख सञ्जीवकुमार साहले बताए। 'यस्ता योजनाका लागि प्रदेश र केन्द्र सरकारको साथ खोजिएका छौँ', उनले भने। रासस


प्रकाशित : बुधबार, साउन १७ २०८०१०:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend