शनिबार, असोज ५ गते २०८१    
images
images

वन्यजन्तुबाट हुने मानवीयदेखि खेतीबालीको क्षतिमा पाउने राहत रकम तोकियो, कस्तो क्षतिमा कति रकम?

बाँदरले बालीनाली क्षति गर्दा र ब्वाँसोले कुखुरा खाँदा पनि राहत पाइने

images
आइतबार, साउन १४ २०८०
images
images
वन्यजन्तुबाट हुने मानवीयदेखि खेतीबालीको क्षतिमा पाउने राहत रकम तोकियो, कस्तो क्षतिमा कति रकम?

अंगभंग भई जीवनभर गम्भीररूपले शारीरिक अशक्त हुने अवस्थाको व्यक्ति वा निजको हकवालालाई जिविकोपार्जनका लागि एकमुष्ट पाँच लाख रूपैयाँ दिनेसमेत निर्देशिकामा उल्लेख छ। मृत्यु भएको व्यक्तिको हकमा नजिकको हकवालालाई राहत दश लाख रूपैयाँ राहत दिइने छ।

images
images

काठमाडौं- सरकारले वन्यजन्तुबाट हुने जनधनको क्षतिबापतको राहत वितरण गर्ने प्रक्रियालाई सरल, सहज र व्यवस्थित गराउने भन्दै वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण निर्देशिका २०८० जारी गरेको छ। ८ प्रकारका क्षतिमा राहत उपलब्ध गराउने गरी निर्देशिका जारी भएको छ।

images
images
images

निर्देशिकामा वन्यजन्तु मानव बस्तीमा प्रवेश गरी गरेको आक्रमणबाट नेपाली नागरिकको मृत्यु भएमा, गम्भीर घाइते भएमा वा सामान्य घाइते भएमा राहत दिने विषय उल्लेख छ।

निर्देशिकामा राष्ट्रिय निकुञ्ज वा आरक्षबाहेक अन्य वन क्षेत्रमा प्रवेश गर्दा वन्यजन्तुको आक्रमणमा परी नेपाली नागरिकको मृत्यु भएमा, गम्भीर घाइते भएमा वा सामान्य घाइते भएमा पनि राहत उपलब्ध गराउने विषय समावेश गरिएको छ।

राष्ट्रिय निकुञ्ज वा आरक्षमा सरकारी काममा खटिएका कर्मचारी, वन तथा वन्यजन्तुको संरक्षण र व्यवस्थापनको काममा अनुमति लिई खटिएका वन हेरालु तथा कामदार वा अनुमतिप्राप्त प्रकृति पथप्रदर्शकलाई वन्यजन्तुले आक्रमण गरी मृत्यु भएमा, गम्भीर घाइते भएमा वा सामान्य घाइते भएमा राहत उपलब्ध हुने निर्देशिकामा उल्लेख छ।

images

यसैगरी सरकारी काममा खटिएका कर्मचारीलाई राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्रको कार्यालय वा चिडियाखानामा पालिएका, उद्धार गरिएका वा उपचारका लागि राखिएका वन्यजन्तुले क्षति पुर्‍याएमा पनि राहत उपलब्ध हुने छ।

साथै राष्ट्रिय निकुञ्ज वा आरक्षबाहेक अन्य क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परी घरपालुवा पशुको मृत्यु भएमा, निजी जमिनमा खनिएको पोखरीमा पालन गरेको माछा तथा खोरमा पालिएका कुखुरालाई वन्यजन्तुले क्षति पुर्‍याएमा, प्रयोगमा रहेको घर गोठमा वा घर गोठभित्र भण्डारण गरेको अन्नमा वन्यजन्तुले क्षति पुर्‍याएमा र  निजी जमिनमा लगाएको बालीमा वन्यजन्तुले क्षति पुर्‍याएमा पनि राहत पाउने निर्देशिकामा उल्लेख छ।

कस्तो मानवीय क्षतिमा कति राहत?

सामान्य घाइतेको हकमा घाइतेको प्रकृति हेरी पेस गरिएको प्रमाण, कागजात र स्वास्थ्य संस्थाको सिफारिसमा बिलबमोजिम उपचार खर्च बढीमा २० हजार रूपैयाँसम्म राहत दिने पनि निर्देशिकामा उल्लेख छ।

यसैगरी गम्भीर घाइतेको हकमा घाइतेको प्रकृति हेरी पेस गरिएको प्रमाण र कागजात र प्रचलित कानूनबमोजिम सञ्चालनमा रहेका अस्पतालका चिकित्सकको सिफारिसमा औषधि उपचारमा लागेको बिलबमोजिम उपचार खर्च बढीमा दुई लाख रूपैयाँसम्म राहत पाउने छन्।

तर, वन्यजन्तुबाट घाइते हुनेलाई औषधोपचार गर्दा दुई लाख रूपैयाँभन्दा बढी खर्च लाग्ने अवस्था भएमा नजिकको जुनसुकै अस्पतालमा आकस्मिक (इमरजेन्सी) उपचार गराउँदा लागेको खर्च र तत्पश्चात् सरकारी अस्पतालमा उपचार गराउँदा लागेको सम्पूर्ण खर्च त्यस्तो अस्पतालको चिकित्सकको सिफारिसमा उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ।

अंगभंग भई जीवनभर गम्भीररूपले शारीरिक अशक्त हुने अवस्थाको व्यक्ति वा निजको हकवालालाई जिविकोपार्जनका लागि एकमुष्ट पाँच लाख रूपैयाँ दिनेसमेत निर्देशिकामा उल्लेख छ। मृत्यु भएको व्यक्तिको हकमा नजिकको हकवालालाई राहत दश लाख रूपैयाँ राहत दिइने छ।

गम्भीर घाइते भई उपचाररत रहेको व्यक्तिको अस्पतालबाट डिस्चार्ज भएपश्चात् सोही कारणले ३५ दिनभित्र मृत्यु भएमा वा अस्पतालमा निरन्तर थलिएर मृत्यु भएमा मृतकको नजिकको हकवालाले उपचार खर्च तथा हकवालाले पाउने रकम पाउने छ।

घरपालुवा पशु, कुखुरा वा माछाको क्षतिबापत कति पाइन्छ राहत?

क) भैसी वा राँगो वा गोरु, उन्नत जातको गाई, घरपालुवा चौरी, घोडा, खच्चडको मृत्यु भएमा मूल्यांकनको आधारमा प्रति पशु ६० हजार रूपैयाँसम्म।

ख) खण्ड (क) मा उल्लेख भएका बाहेक अन्य पशुको मृत्यु भएमा पशुको प्रकार र मूल्यांकनको आधारमा प्रति पशु बढीमा दश हजार रूपैयाँसम्म।

ग) माछा वा कुखुराको क्षति भएमा मूल्यांकनको आधारमा वर्षको एकपटक बढीमा दश हजार रूपैयाँसम्म।

घरगोठ, अन्न वा बालीमा क्षति पुर्‍याएमा २० हजारसम्म राहत

क) घरगोठको क्षति भएमा मूल्यांकनको आधारमा बढीमा बीस हजार रूपैयाँसम्म।

ख) अन्नको क्षति भएमा मूल्यांकनको आधारमा बढीमा दश हजार रूपैयाँसम्म।

ग) बालीको क्षति भएमा मूल्यांकनको आधारमा एक मौसममा लगाएको बालीको एक पटक र वर्षमा दुई पटकमा नबढ्ने गरी बढीमा दश हजार रूपैयाँसम्म।

तर सरकारी तवरबाट पशु वा बालीको बीमा गरेको अवस्थामा पशुको क्षति वा बालीको क्षतिको राहत उपलब्ध गराउँदा बीमाबाट प्राप्त रकम कटाएर मात्र उपलब्ध गराउनुपर्ने निर्देशिकामा उल्लेख छ।

राहत उपलब्ध गराउँदा मानिसको मृत्यु भएको हकमा एक लाख रूपैयाँसम्म र गम्भीर घाइते भएको हकमा पचास हजार रूपैयाँसम्म पीडितलाई अग्रिम राहत उपलब्ध गराउन सकिने निर्देशिकामा उल्लेख छ।

निर्देशिकामा कुन जनावरले गरेको कस्तो क्षतिमा राहत पाउने भन्ने विषय उल्लेख गरिएको छ। बाँदरले बालीनाली क्षति गर्दा र ब्वाँसोले कुखुरा खाँदा पनि राहत पाइने निर्देशिकामा उल्लेख छ।

animal 4.jpg


प्रकाशित : आइतबार, साउन १४ २०८०१२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend