शनिबार, असोज ५ गते २०८१    
images
images

नारायणी नदीका जोखिमयुक्त ठाउँमा तटबन्ध

images
आइतबार, साउन १४ २०८०
images
images
नारायणी नदीका जोखिमयुक्त ठाउँमा तटबन्ध

विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै-थोरै काम हुँदै आएकामा रकमको निकासासँगै गत वर्षबाट नदी किनारका भरतपुर महानगरपालिकातर्फका अधिकांश भू-भागमा काम थालिएको हो। पाँच खण्ड बनाएर काम गरिएको छ।

images
images

चितवन- पश्चिम चितवनवासीलाई हरेक वर्षातमा दुःख दिँदै आएको नारायणी नदीको जोखिमयुक्त ठाउँमा तटबन्धन गरिएको छ।बहुवर्षे आयोजनाका रुपमा तटबन्धको ठेक्का लगाइएको भए पनि बाढीको जोखिम भएको ठाउँलाई प्राथमिकतामा राखेर काम गरिएको हो। नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शंकर बुढाथोकीका अनुसार नदीको जोखिमयुक्त ठाउँलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको छ। 

images
images
images

नदीको भरतपुरतर्फको ३५ किलोमिटरमध्ये २२ किलोमिटर क्षेत्रमा अहिले तटबन्ध गरिँदै छ। अत्यन्त जोखिमपूर्ण देखिएको बाह्रघरे, गाजीपुर, हीरापुर, सिसई, भगडी, बालुवा जस्ता गतवर्षमा बाढी छिरेका ठाउँमा तटबन्ध गरिएको उनले बताए।

विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै-थोरै काम हुँदै आएकामा रकमको निकासासँगै गत वर्षबाट नदी किनारका भरतपुर महानगरपालिकातर्फका अधिकांश भू-भागमा काम थालिएको हो। पाँच खण्ड बनाएर काम गरिएको छ। तीमध्ये नारायणी नदी बीच मोडलको काम सम्पन्न भइसकेको छ।

बुढाथोकीका अनुसार समग्रमा ३५ प्रतिशत काम सम्पन्न भएको छ। नारायणी नदीको महानगरतर्फ सिसइबाट बलुवासम्मको तटबन्धका लागि ३८ करोड रूपैयाँमा ठेक्का सम्झौता भई काम भइरहेको छ।

images

सो खण्डमा १५ प्रतिशत काम सम्पन्न भएको छ। पाँच दशमलव सात किलोमिटर उक्त खण्डको सिसइ र भगडी क्षेत्र उच्च जोखिममा छन्। बुढाथोकीका अनुसार सिसइको लगभग काम सम्पन्न भएको छ भने भगडीको अतिजोखिम ठाउँको काम भएको छ। गाँजीपुरबाट हीरापुरसम्मको ४८ करोड रूपैयाँमा ठेक्का सम्झौता भई काम भइरहेको छ। सो खण्डको १८ प्रतिशत काम सम्पन्न भएको छ। पाँच किलोमिटर लामो उक्त खण्डको गाँजीपुर र हीरापुरको बढी जोखिमपूर्ण ठाउँमा काम भएको हो।

रामघाटबाट काभ्रेघाटसम्मको एक अर्ब १५ करोड रूपैयाँमा ठेक्का सम्झौता भई काम भइरहेको छ। सो खण्डमा ३५ प्रतिशत काम सम्पन्न भएको छ। पाँच किलोमिटर लामो यस खण्डको जोखिमपूर्ण मानिएको भगेरीथान र बाह्रघरेमा काम गरिसकिएको छ। 

बालुवाबाट गोलाघाटसम्मको सात किलोमिटरमध्ये दुई दशमलव पाँच किलोमिटर नयाँ तटबन्ध र अन्य मर्मतसम्भारको काम भइरहेको छ। यसका लागि २३ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको हो। त्यसको ५५ प्रतिशत काम सम्पन्न भइसकेको छ। बालुवा क्षेत्रको काम सम्पन्न भएको छ भने गोलाघाट क्षेत्र बाँकी छ। बुढाथोकीले बढी जोखिमपूर्ण ठाउँमा काम सम्पन्न भइसकेको उनले जानकारी दिए।

नारायणी नदी नारायणगढस्थित पुलबाट पूर्वतर्फको सिबीचको काम सम्पन्न भइसकेको छ। तटबन्ध बहुवर्षीय आयोजनाका रूपमा काम अघि बढाइएको हो। विगत १० वर्षदेखि तटबन्ध बनाउन थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धमा एकैपटक रु पाँच अर्बको काम अघि बढाइएको हो। यसमध्ये भरतपुर र नवलपरासी दुवैतर्फ यस बजेटबाट काम हुँदैछ।

आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म एक अर्ब ८३ करोड रूपैयाँ मात्र विनियोजन हुँदा काम प्रभावकारी हुन सकेको थिएन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटीय क्षेत्रमा निरीक्षणपश्चात् यसवर्ष बाढीको जोखिम कम हुने बताइन्। तटबन्धका सबै क्षेत्रमा स्थलगत निरीक्षणपछि उनले स्थानीयलाई यो वर्षातमा केही जोखिम रहे पनि आउँदो वर्षबाट ढुक्क हुन सकिने उनले बताइन्। 

तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर लागिपरेकै कारण काम भएको उनको भनाइ छ। उनले भनिन्, 'यस वर्ष बाढी पूरै छेक्न नसकिए पनि आगामी वर्षबाट पश्चिम चितवनवासी नारायणी नदीको बाढीबाट सुरक्षित हुने छन्।' उनले तटबन्धको गुरुयोजना निर्माणदेखि महानगरको सक्रिय भूमिका रहेको जनाउँदै तत्कालीन समयमा यसै क्षेत्रबाट निर्वाचित हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहयोगले काम भएको बताइन्। तीन वर्षको ठेक्का भए पनि पहिलो वर्ष नै ३५ प्रतिशत काम सम्पन्न भइसकेकाले निर्धारित समयमै काम सम्पन्न हुनेमा ढुक्क रहन उनले आग्रह गरिन्।

नदी तटीय क्षेत्रलाई पर्यटकीय मार्ग बनाउने महानगरको योजना छ। हाल तटबन्धपश्चात् हरियालीसमेत बनाइँदै छ। महानगर प्रमुख दाहाल तटबन्धको क्षेत्रमा पुग्दा सम्बन्धित वडाका वडाध्यक्षसहित स्थानीयले खुसी व्यक्त गरेका थिए। गएका वर्षमा बर्सातको समयमा नदी तटीय क्षेत्रका बासिन्दा रातको समयमा सुत्न पाउँदैनथे। स्थानीय घरायसी सामग्री र बालबालिका बोकेर विद्यालयमा शरण लिन पुग्ने गर्दथे। यसवर्ष बाढी आइनसके पनि अब आउने बाढीले दुःख कम दिने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : आइतबार, साउन १४ २०८०१०:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend