आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

धान रोप्ने समयमा पानी नपरेपछि खडेरीको चिन्तामा किसान

images
images
images
धान रोप्ने समयमा पानी नपरेपछि खडेरीको चिन्तामा किसान
फाइल तस्बिर

असार सकिनै लाग्दासम्म धान पाँच/छ हजार हेक्टरमात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले जनाएको छ। रोपिएको धानको रोपो पनि पछि पानी नपुग्दा पहेँलिँदै गएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादवले बताए।

images
images

महोत्तरी- असारे पानीमा रुझ्दै धान रोप्नुपर्ने बेलामा पानी नपरेकाले यहाँका किसान धान लगाउन नपाएपछि चिन्तित छन्। मध्य असारअघि धानको शाही (बीउ) रोपाइँ सकेर अहिले रोपो गोड्ने बेला धानको गाबो नै लाउन नपाएका यहाँका किसान खडेरीको चिन्ताले पिरोलिएका हुन्।

images
images
images

'अई बेर मुँहमे माड लगवाक कोनो उपाय नई सुधैय। (यसपालि मुखमा माड लाग्ने केही उपाय देखिन्न)', लामो सास फेर्दै महोत्तरीको भंगाहा-४ रामनगरका ६५ वर्षीय किसान गोविन्दलाल खाँ थारुले भने, 'धानके गबो नई रोपायल, परिवारक प्रतिपाल केना होतै (धानको गबो नै लगाउन पाइएन, जहान परिवारको गुजारा केले होला?)'

images

असार मास (महिना) मा चैत/बैशाखको जस्तो हुरहुरे बतासले धुलो उडाउनु खडेरी (अनिकाल) को कूलक्षण भएको थारुको चिन्ता छ। उनीजस्तै यहाँका आम किसान अहिले मुख्यबाली भनिने धान लगाउन नपाएपछि चिन्तामा छन्।

images

'अखाढ अन्तिम भगेल, ऐखनधैर रोप हरियाके चाही, मुदा अईबेर पाइनक अभावमे रोपनीए नई भसकल। (असार सकिनै लाग्यो, यतिखेर धानको रोपो हरियो भएर लहलहाउनु पर्ने हो, तर यसपालि पानी नभएर रोपाइँनै गर्न सकिएन)', स्थानीय ७० वर्षीय रघुवर महराले पीडा पोखे। झमझम असारे झरिमा रुझ्दै धान रोप्नु, गोड्नुपर्ने बेला प्रचण्ड घामले घरबाट निस्कन नसकिने भएको उनको भनाइ थियो।

images
images

'अहिले त पहिलो रोपो लहलहाएर हरियो देखिनुपर्थ्यो। यतिबेलासम्म हामीले त धानको गब नै हाल्न पाएका छैनौँ', भंगाहा-४ रामनगरका ६५ वर्षीय किसान हरिदेव साहले भने, 'मुख्यबाली धान नै लाउन नपाएपछि घरपरिवार/लालाबालाको प्रतिपाल खै कसरी गर्नेहोला?' गत मंगलबार रातिदेखि परेको पानीले अब झरी पर्ला भन्ने आशा जगाए पनि पानी पर्न नसकेर चिन्ता थपिएको उनको भनाइ थियो।

'ढिलै भए पनि झरी लाग्लाजस्तो लागेको थियो, मंगलबारदेखि परेको पानी बुधबार मध्यान्हपूर्व हटेर टन्टलापुर घाम लाग्यो', मटिहानी-३ का किसान इलियास राइनले भने, 'अब धान रोप्न पाइने आश छाडे हुनेभयो।' असार सकिनै लाग्दासम्म बीउ रोप लाउन नसकिएको धानबाट उत्पाद पनि राम्रो नहुने उनले बताए।

यता हिउँदे धानखेतीमा जेठ मध्यअघि ब्याड राख्ने, असार मध्यअघि शाही (बीउ) रोप सक्ने र साउन मध्यअघि खरुअन (कलम,बीउ रोपको धान गाँजिएपछि उखेलेर रोपिने) तालिका छ । यसपालि पानीको अभावका कारण किसानले राम्ररी ब्याड राख्न नपाएको बताउँछन्। धानको हिले ब्याड राम्रो मानिए पनि पानी नभएपछि घर नजिक घुर्‍यानमा थोरथार राखिएको धुले बीउ पनि पानी बेगर पहेंलिएर धेरैजसो सुकेको किसानको दुःखेसो छ।

'अब त पानी परेपनि त्यो बीउ रोप्ने/नरोप्ने विचार गर्नपर्ने भएको छ। बीउमा हाँगा फाटिसकेकाले त्यति छिप्पिएको बीउ रोपेर के फल आउँला?' बलवा नगरपालिका-११ भलनीका जगत यादवले भने।

'वर्षाकाल (याम) भनिने असारमा दिनभरि प्रचण्ड घाम र रातभरि आकासमा झलमल्ल तारा देखिन्छन्', जलेश्वर नगरपालिका-६ का ८५ वर्षीय महेश्वर रायले भने, 'अहिलेको दिन लक्षणले त असारको भनक नै दिँदैन।' महाकवि कालिदासले आफ्नो कालजयी कृति मेघदूतम्मा असार सङ्क्रान्तिका दिन नै आकाशमा पानी ल्याउने मेघ (बादल) देखिने चर्चा गरेको साहित्यमा रुचि राख्ने रायले स्मरण गरे।

'महाकवि कालिदासले ऋतु लक्षणका आधारमा असार लाग्नासाथै मेघ मडारिने र वर्षा सुरु हुने सन्दर्भ आफ्नो कृति मेघदूतम्मा जोड्नुभएको छ', रायले भने, 'अब ती ऋतु विचार सान्दर्भिक देखिन, बुझिन छाडे।' नेपाल सरकारको सहसचिवबाट अवकाश लिएका रायले अवकाश पछिको जीवनलाई खेतीसँग जोड्ने योजना बनाए पनि मौसमले साथ नदिएको बताए। प्राकृतिक सम्पदा, वनजंगल, पाखापहरा, नदी, खोल्साखोल्सी र नदी उकास क्षेत्रमाथि अनियन्त्रित खेलवाडले पुराना ऋतु लक्षणका मान्यता खण्डित हुँदै गएका उनको भनाइ थियो।

यसपालि गत हिउँददेखि नै खडेरीको लक्षण देखिएको पाका किसान बताउँछन्। हिउँदभरि पानी नपरेर बितेपछि पानीका स्रोतका मूहान (नदी, खोल्साखोल्सी, इनार, बोरिङ, चापाकल, जरुवा) चैतदेखि सुक्दै गएका स्थानीय बताउँछन्। पानी अभावका कारण खेतीमा मात्र नभई पिउन पनि धेरै ठाउँमा खानेपानीको हाहाकार परेको थियो।

सिँचाइको प्रबन्ध नहुनु, समयमा बीउ, मल नपाउनु र खेतीपातीका लागि सुलभ ऋण नपाउनुलगायत समस्या किसानले झेल्दै आएका बर्दिबास-९ पशुपतिनगर टोकीटोलका किसान रामचन्द्र थापा मगरले बताए। 'तीन तहका सरकार भए पनि किसानका हितमा उल्लेखनीय कुनै काम हुन सकेको छैन। सरकारले बर्सेनि बजेटमार्फत किसानका सहुलियतका लागि घोषणा गरेका कार्यान्वयको पक्ष फितलो छ', उनले भने।

जिल्लामा करिब ७१ हजार हेक्टर खेतीयोग्य जग्गा रहेमध्ये ५० हजार हेक्टरको सेरोफेरो धान खेतीका लागि उपयुक्त मानिएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले जनाएको छ। जिल्लाका कुल खेतीयोग्य जग्गामध्ये मुस्किलले १० प्रतिशत मात्र सिञ्चित (कुलो, नहरको पानी लाग्ने) छ। यसबाहेक सबै जग्गा आकासे पानीको भरमा खेती गर्नुपर्ने हुँदा किसानले जुनसुकै बालीको उपयुक्त बेलामा खेती लगाउन पाएका छैनन्।

'उ...ल हेर्नुहोस्, हाम्रो ठाउँ त सिञ्चित भनिएको छ नि!', बर्दिबास नगरपालिकाका ७० वर्षिय किसान नरबहादुर पुलामीले भने, 'प्रचण्ड घामले मुखको थुक त सुकाउने भयो, पानीको मुहान के टिक्थ्यो?' पानीको मूहान सुकेर कुलो चल्न छाडेपछि कमिलाका ताँती हिँडेका उनले देखाए।

असार सकिनै लाग्दासम्म धान पाँच/छ हजार हेक्टरमात्र रोपाइँ भएको केन्द्रले जनाएको छ। रोपिएको धानको रोपो पनि पछि पानी नपुग्दा पहेँलिँदै गएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादवले बताए। उनले सिञ्चित जग्गामा पनि घामका कारण पानीका स्रोत सुकेकाले धान रोपाइँ पछि परेको बताए।

चुरे पर्वत श्रेणीबाट झर्ने रातु, बडहरी, भब्सी, जंघा, मरहा, गणन्ता, ओक्सी, बिग्ही, खयरमारा, टुटेश्वर र बाँकेलगायत नदी जिल्ला भएर बग्दै एकअर्कोमा मिसिएर भारतको सीतामढी जिल्ला पुग्दछन्। जिल्लाको पूर्व-पश्चिम चौडाइभित्र प्रत्येक दुई किलोमिटरभित्र नदी परे पनि किसानको खेतमा पानी पुर्‍याउन नसकिएकामा यहाँका किसान कटाक्ष गर्छन्।

जिल्लाभित्रका नदीबाट खेतबारीमा पानी पुर्‍याउने सपना कुनै तहका सरकारले आफूहरुलाई देखाउन नसकेका भंगाहा नगरपालिका-४ का किसान चन्देश्वर राय दनुवारको गुनासो छ। जिल्लाको मुख्यबाली धान प्रतिकूल मौसमले लगाउन नपाएपछि यसपालि अन्नको संकट बढ्ने उनले बताए।

कृषि ज्ञान केन्द्र महोत्तरीका कृषि विज्ञले अझै पनि पानी परे नयाँ बीउ राखेर १५ दिनभित्र रोपाइँ गर्न सकिने बताएका छन्। पानी नपरे कम पानीमा गर्न सकिने धान बाली लगाउने तयारी गर्नुपर्ने विज्ञको सुझाव छ। हिँउदे लहरे तरकारी, कात्तिक लाग्दै गहुँ लगाउने तयारी गर्नुपर्ने भन्दै अन्य हिउँदे तरकारी बाली लगाए जाडो मौसम लागेपछि सिँचाइको अभावका कारण बाली डढ्ने स्थिति नरहने वरिष्ठ कृषि विकास अधिकृत डा यादवले बताए।

सर्वसाधारण किसानले भने आफ्ना जनप्रतिनिधिलाई सिँचाइका लागी पानीको व्यवस्थाका लागि विकल्पको खोजी गर्न आग्रह गरेका छन्। 'सबै कुराको मुख्य जरो हाम्रा लागि खेती नै हो भन्ने कुरा हाम्रा जनप्रतिनिधिले बुझिदिन पर्‍यो', गौशाला नगरपालिकाको बटौवाका किसान लक्ष्मी महतोले भने, 'खेतीका लागि सिँचाइ पहिलो प्राथमिकतामा पर्छ, यसको विभिन्न विकल्पबारे तीनै तहका सरकारले खोजी गर्नुपर्‍यो।'

'पछिल्ला छ वर्षयता स्थानीय तहमा जनताका प्रतिनिधि आएका छन्। जनताका मर्का र समस्या तत्कालै बुझ्न, हेर्न सक्ने स्थानीय तहले पहलकदमी लिई दिनुपर्‍यो', बर्दिबास-९ पशुपतिनगरका किसान नथुनी महतोले बताए। जिल्लाका १५ स्थानीय तहले कृषि लक्षित विभिन्न योजना घोषणा गरे पनि सिँचाइको उचित प्रबन्ध हुन नसक्दासम्म सबै योजनाहरु प्रभावकारी बन्न नसक्ने उनको भनाइ छ।

स्थानीय तहले फलफूलका बिरुवा बाँड्ने, नमुना बीउबिजन  दिने र पशुपालक किसानलाई घाँसका बीउ/बिरुवा दिने गरे पनि दीर्घकालिन समस्या समाधानका लागि पहल नभएको भङगाहा-४ का किसान सत्यनारायण यादवले बताए। उनले स्थानीय तहले किसानलाई आत्मनिर्भर बनाउन कृषि अभियान सञ्चालन गरी किसानलाई पनि उक्त अभियानमा सहभागी गराउनुपर्नेमा जोड दिए।

यसपालि असार सकिनै लाग्दासम्म राम्ररी पानी नपरेर धान बाली लगाउन नपाएपछि किसानले आफ्नो ठाउँलाई ‘सुख्खा खडेरीग्रस्त क्षेत्र’ घोषणा गरेर कृषिका अन्य अनुकूल योजना अघि बढाउन स्थानीय सरकार तथा जनप्रतिनिधिसँग माग गरेका छन्। 'खडेरीग्रस्त क्षेत्र घोषणा गरेपछि यहाँका किसानलाई तत्काल राहत प्याकेज दिनुपर्‍यो। किसानका ब्याज मिनाहा गर्न, अब गर्नसकिने खेतीबारे प्राविधिक परामर्श र अनुदानमा रकम दिई कृषिमा लाग्न प्ररित गर्नुपर्छ', अखिल नेपाल किसान महासंघ महोत्तरीका संयोजक पर्शुराम ठाकुरले भने। उनले केन्द्रीय सरकारसम्म किसानका माग पुर्‍याउन स्थानीय तह तथा जनप्रतिनिधिलाई आग्रह गरे। रासस

images

प्रकाशित : सोमबार, असार २५ २०८०११:०४

प्रतिक्रिया दिनुहोस