शनिबार, असोज ५ गते २०८१    
images
images

अर्थ समिति बैठक : सांसदले सुनाए आफैले मल नपाएको समस्या, वितरण प्रभावकारी बनाउन जोड

खरिद प्रक्रिया छोट्याऔँ : मन्त्री भुसाल

images
बिहीबार , असार २१ २०८०
images
images
अर्थ समिति बैठक : सांसदले सुनाए आफैले मल नपाएको समस्या, वितरण प्रभावकारी बनाउन जोड
images
images

काठमाडौं- बजारमा रासायनिक मलको अभाव हुन नदिन वितरण प्रणाली नै प्रभावकारी बनाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन्। सिंहदरबारमा आज बसेको अर्थ समितिको बैठकमा बोल्दै सांसदहरूले मलको आयात र वितरणको व्यवस्थापन प्रभावकारी हुनुपर्ने बताएका हुन्।

images
images
images

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कृषिमा निर्भर अर्थतन्त्र भएको मुलुकका किसानले सधैँ मलको अभाव भोग्नुपर्ने अवस्थाको समाधान छिटो हुनुपर्नेमा जोड दिए। 'सधैँ मलको अभाव देखिन्छ, आत्मनिर्भर अर्थतन्त्रको कुरा गर्दैगर्दा उर्वर जमिन सुक्खा बन्दै गएका छन्, कालोबजारी, वितरण प्रणालीजस्ता क्षेत्रमा समस्या देखिएका छन्, यसलाई छिट्टै टुंगो लगाऔँ, नीतिगत समस्या भए समाधान गरौँ र कानूनी प्रक्रिया फुकाउँदै जाऔँ', उनले भने।

त्यस्तै सांसद विष्णुप्रसाद पौडेलले मलको सम्बन्धमा देखिएका समस्या हल गर्न तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गरी कार्यान्वयनमा जानुपर्ने बताए। उनले हाम्रो मागको यकिन गरी आवश्यक परे आपूर्ति व्यवस्था सहज बनाउन कानूनी अड्चन भए त्यसलाई फुकाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए। त्यस्तै दीर्घकालीनरूपमा रासायनिक मल कारखानामा स्थापना गर्न सबै क्षेत्रमा छलफल गरी छिट्टै समाधानमा जानुपर्ने उनको भनाइ छ।

बैठकमा सांसद गंगा कार्कीले बिचौलिया र वितरण प्रणाली व्यवस्थित बनाउन र नीतिगत तथा संरचनागत सुधारका काम पूरा गरी किसानलाई सहज मल पाउने व्यवस्थ गर्नुपर्नेमा जोड दिइन्।

images

त्यस्तै सांसद रामनाथ अधिकारीले मल अभावको तत्कालीन समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँदै उपलब्ध रहेका मलको सही व्यवस्थापन र वितरणमा ध्यान दिन अनुरोध गरे। 'छलफलमा आउँदा सबै ठीक सुनिन्छ, व्यवहारमा मल छैन, किन रहेछ, म आफैँ किसान हुँ, आफैँले मल पाएको छैन, मेरो भागमा १० किलो आउँछ रे यो हाम्रो कस्तो वितरण प्रणाली, यसलाई सुधार गर्नुपर्छ', सांसद अधिकारीले भने।

सांसद दीपक खड्काले रासायनिक मल वितरणमा बिचौलियाको प्रभाव रहेको उल्लेख गर्दै त्यसलाई तत्कालै समाधान गर्नुपर्ने बताए। त्यस्तै सांसद विराजभक्त श्रेष्ठले रासायनिक मलमा मात्रै निर्भर हुने कि हाम्रो परम्परागत र जैविक मलमा जानेबारे विचार गर्नुपर्ने बताए। सांसद नारायणी शर्माले बजार व्यवस्थापन अझै प्रभावकारी बनाई असमान वितरण प्रणाली सुधार हुनुपर्ने बताए।

बैठकमा सांसद सूर्य थापाले मलको व्यवस्थापनका सम्बन्धमा बजेटको सुनिश्चितता अझै हुन नसकेको टिप्पणी गरे। बैठकमा ज्येष्ठ सदस्यका रूपमा समितिको अध्यक्षता गरेका सांसद विनोद चौधरीले मल सर्वसाधारण नागरिकसँग प्रत्यक्ष जोडिएको विषयवस्तु भएकाले सरकारले समयमै यसको समाधानमा ध्यान दिनुपर्ने बताए।

रासायनिक मलको आपूर्ति, जैविक तथा प्रांगारिक मलको अवस्थाबारे अध्ययन तथा कार्यान्वयन, तस्करी तथा बिचौलियाको समाधानजस्ता क्षेत्रमा सरकारको ध्यान जानुपर्ने सांसद चौधरीले बताए।

खरिद प्रक्रिया छोट्याऔँ : मन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले मल अभाव हुन नदिन खरिद प्रक्रियालाई छोटो बनाउनुपर्ने बताए।

बैठकमा मन्त्री भुसालले अहिलेको खरिद प्रक्रियालाई सहज र छोटो बनाउन आवश्यक ऐन र नियमावलीमा संशोधन गर्नुपर्ने, खरिद प्रक्रिया नियमित हुन जिटुजीमै जानुपर्ने तथा मल अभाव हुन नदिन बजेट समयमै सुनिश्चित हुनुपर्नेमा जोड दिए। त्यस्तै सरकार रासायनिक मलका साथै जैविक मलको व्यवस्थाका सम्बन्धमासमेत अगाडि बढेको उनले बताए। रासस


प्रकाशित : बिहीबार , असार २१ २०८०१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend