शनिबार, असोज ५ गते २०८१    
images
images

रिब्दिकोटमा दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार भत्ता

images
बुधबार, असार २० २०८०
images
images
रिब्दिकोटमा दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार भत्ता

काम गर्ने जनशक्ति अभाव हुन थालेपछि जनसंख्या बढाउन गाउँपालिकाले दुईभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई पाँच हजार रूपैयाँ भत्ता दिने कार्यक्रम ल्याएको हो।

images
images

रामपुर- पाल्पाको रिब्दिकोट गाउँपालिकाले गाउँमा बसेर काम गर्ने जनशक्ति अभाव हुन थालेपछि नयाँ कार्यक्रम ल्याएको छ।

images
images
images

गाउँपालिका-१ को कार्यालयले दुईभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई पाँच हजार रूपैयाँ भत्ता दिने कार्यक्रम ल्याएको हो। आगामी आर्थिक वर्ष २०८०/८१ देखि लागु हुने गरी वडामा दुई सन्तानभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई बच्चाको जन्मदर्ता गर्न वडा कार्यालयमा आउँदा पाँच हजार रूपैयाँ प्रोत्साहनस्वरुप भत्ता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।

'गाउँमा बस्ने युवा जनशक्ति विदेश पलायन हुँदा गाउँ नै रित्तिने अवस्थामा छ भने खेतीयोग्य जमिन बाझिदै गएका छन्', उनले भने, 'गाउँमा बसेर केही उद्यम, व्यवसाय गर्ने, आयस्रोत लिने तथा गाउँ बस्तीविहीन अवस्थामा नपुगोस् भनेर प्रोत्साहनस्वरुप भत्ता दिने नीति ल्याएका छौँ।' 

'गाउँमा जनसंख्या घट्दै गएर काम गर्ने जनशक्तिको अभाव हुन थालेको छ। अधिकांश बजेट कृषि क्षेत्रका लागि विनियोजन भएका छन्। कृषिमा काम गर्ने जनशक्तिको कमी हुँदा कार्यान्वयन पक्ष फितलो देखिएको छ। खेतबारी बाझिएका छन्। गाउँमा जनसंख्या सन्तुलित बनाउँदै काम गर्ने जनशक्तिलाई गाउँमै टिकाइ राख्नका लागि ‘दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रूपैयाँ भत्ता’ को नीति ल्याइएको हो', वडा कार्यालयले उल्लेख गरेको छ।

images

'शिक्षा, स्वास्थ्य जस्ता अत्यावश्यक क्षेत्रमा राज्यले लगानी गरिदियो भने गाउँमा बसेका नागरिकले खेतीयोग्य जमिनमा खेती गरेर जीविकोपार्जन गर्न सक्छन्। पठनपाठन, स्वास्थ्योपचारमा राज्यले लगानी गरिदियो भने गाउँको जनशक्ति बाहिर जाने स्थिति आउँदैन', वडाध्यक्ष पोखरेलले भने। वडाले ल्याएको उक्त कार्यक्रम गाउँसभामा पारित भएको छ। उनका अनुसार दुईभन्दा माथि जति सन्तान जन्माए पनि जन्मदर्ता गर्न आउने परिवारलाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ।

यस वडामा विसं २०७८ को जनसंख्या अनुसार छ सय १५ घरधुरी रहेको छ भने करिब दुई हजार जनसंख्या बसोबास गर्छन्। विसं २०६८ को जनगणनाअनुसार वडामा दुई हजार तीन सय ३४ जनसंख्याको बसोबास रहेको वडा कार्यालयले जनाएको छ। पालिकाभरिमा विसं २०७८ को जनगणनाअनुसार १५ हजार जनसंख्या थियो भने विसं २०६८ मा १८ हजार जनसंख्याको बसोबास रहेको थियो। एक दशकको अवधिमा तीन हजार जनसंख्या घटेका पालिकाले जनाएको छ।

गाउँबाट शिक्षा, स्वास्थ्य, रोजगारीलगायत कारणले सहर जाने क्रम बढेकाले पनि गाउँमा बसोबास गर्नेको संख्यामा कमी आएको स्थानीय बताउँछन्। गाउँमा ज्येष्ठ नागरिक र अधिकांश महिला मात्रै छन्।

आव २०८०/८१ को नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्यमा राज्यको लगानी हुनुपर्नेमा जोड दिँदै गाउँमै बसेर अध्ययन गर्ने, विभिन्न पेसा, व्यवसाय तथा उद्यम गर्नेलगायत कुरा समेटिएकाले स्थानीयमा थप आकर्षण बढ्ने वडाको अपेक्षा छ। रासस


प्रकाशित : बुधबार, असार २० २०८००८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend