शनिबार, असोज ५ गते २०८१    
images
images

एक वर्षमा ५२ लाख रूपैयाँ बराबरको दूध बिक्री 

images
बुधबार, असार २० २०८०
images
images
एक वर्षमा ५२ लाख रूपैयाँ बराबरको दूध बिक्री 

कर्णाली प्रदेश सरकारमार्फत पशु सेवा कार्यालय दैलेखले डेरीमार्फत दूध बिक्री गरेका किसानले वर्षभरि बिक्री गरेको दूधलाई आधार मानेर प्रतिलिटर ५ रूपैयाँ थप अनुदान प्रदान गरेको छ।

images
images

दैलेख- नारायण नगरपालिका क्षेत्रका तीन टोलका किसानले एक वर्षमा ५२ लाख रूपैयाँ बराबरको दूध बिक्री गरेका छन्। नारायण-११ विन्ध्यवासिनी, नारायण-६ बिजौरा र नारायण -३ कालीमाटीका किसानले एक वर्षमा ८० हजार लिटर दूध स्थानीय डेरी उद्योगलाई बिक्री गरेका हुन्। किसानले यसवर्षको गत जेठसम्म मात्रै ५२ लाख पैसा बुझेका छन्।

images
images
images

‘ल्याक्टोमिटर’का आधारमा जाँच गरेर राष्ट्र सेवक बहुउद्देश्यीय सहकारी संस्थाले दूध घरबाटै खरिद गरेको थियो। स्थानीय सहकारीले घरबाटै दूध लिएपछि बजारमा बिक्री गर्न जाने समयको बचत भएको किसानले जनाएका छन्। नारायण- ३ का दूध उत्पादक किसान मनिषा कठायतले कालीमाटीबाट सदरमुकाम दूध बिक्री गर्न जाँदा-आउँदा तीन घण्टा बचत हुने र उक्त समयमा भैँसीलाई घाँस काट्न सक्ने बताइन्।

डेरीले प्रतिलिटर ६० रूपैयाँका दरले किसानलाई पैसा प्रदान गर्ने गरेको छ। नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले तीन वर्षदेखि किसानलाई अनुदानमा भैँसी वितरण कार्य सुरु भएसँगै किसानले दूध बिक्री गरेर लाखौँ आम्दानी लिन सफल भएको बताए। उनले भने, 'डेरीमा मात्र बिक्री गर्ने किसानले ५२ लाख पाए।' 

नारायण नगरपालिकाबाट मात्र वार्षिक करिब एक करोड रूपैयाँ बढी रकमको दूध किसानले बिक्री गर्ने गरेको उनको भनाइ छ। नगरपालिकाले यस वर्ष मात्रै किसानलाई १४ भैँसी अनुदानमा वितरण गरेको छ।

images

दूध उत्पादनलाई प्रभावकारी बनाउने अभियान अन्तर्गत प्रदेश सरकार, नारायण नगरपालिका र पशुसेवा कार्यालय दैलेखले विगत तीन वर्षदेखि भैँसी वितरण कार्यक्रम सञ्चालन गरेका थिए। केही स्थानमा वितरण गरेका भैँसीबाट प्रतिफल प्राप्त हुन नसकेको भए पनि सक्रिय किसानले दूध बिक्री गरेर राम्रो आम्दानी लिन सफल भएका पशु सेवा कार्यालयका प्रमुख भीमबहादुर विष्टले बताए।

किसानले २५ प्रतिशत रकम जम्मा गरेर भैँसी खरिद गरेका पशु शाखा दैलेखका चित्र प्याकुरेलले जानकारी दिए। कर्णाली प्रदेश सरकारमार्फत पशु सेवा कार्यालय दैलेखले डेरीमार्फत दूध बिक्री गरेका किसानले वर्षभरि बिक्री गरेको दूधलाई आधार मानेर प्रतिलिटर ५ रूपैयाँ थप अनुदान प्रदान गरेको छ।

दैलेखका तीनवटा टोलबाट मात्रै बिक्री गरेको दूधको विवरणलाई आधार मानेर ८० हजार लिटर दूधको प्रतिलिटर ५ रूपैयाँका दरले चार लाख रूपैयाँ थप अनुदान रकम वितरण गरिएको हो। किसानको घरमै पुगेर अनुदानको रकम वितरण गरिएको राष्ट्रसेवक सहकारी संस्था दैलेखका अध्यक्ष लालबहादुर खड्काले बताए।

किसानहरूलाई थप उत्साह प्रदान गर्न प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल किसानको घरमै पुगेका छन्। सरकारले प्रदान गरेको उत्पादनमा आधारित अनुदान पैसा वितरण गर्न उनी नारायण -३ कालीमाटीका किसानको घरमा पुगे। सो अवसरमा उनले अब हरेक क्षेत्रमा उत्पादनका आधारमा किसानलाई अनुदान दिनुपर्ने कामलाई सरकारले अझै प्रभावकारी बनाउने बताए। रासस


प्रकाशित : बुधबार, असार २० २०८००८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend