शनिबार, असोज ५ गते २०८१    
images
images

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै, ११ महिनामा साढे सात लाखले लिए श्रम स्वीकृति

images
बुधबार, असार २० २०८०
images
images
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै, ११ महिनामा साढे सात लाखले लिए श्रम स्वीकृति

श्रम स्वीकृति लिएर प्रत्येक महिना कम्तीमा पनि ६० हजारभन्दा बढी युवाहरु वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुग्ने गरेका छन्। नेपालबाट वैदेशिक रोजगारीका लागि सबैभन्दा धेरै मलेसिया तथा खाडी मुलुक जाने गरेका छन्। पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो रहेको छ।

images
images

काठमाडौं- पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको संख्या बढ्दै गएको छ। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या करिब सात लाख ४० हजार रहेको छ। उक्त संख्या दिनैपिच्छे बढ्दै गएको विभागले जनाएको हो।

images
images
images

अघिल्लो आर्थिक वर्षमा झन्डै ६ लाख ३० हजार जनाले नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए। विभागले आर्थिक वर्ष २०५०/५१ यता वैदेशिक रोजगारीमा जानेको तथ्यांक अद्यावधिक गर्दै आएकामा चालु आर्थिक वर्षमा यसरी श्रम स्वीकृति लिनेको संख्या बढ्दो देखिएको जनाएको हो। नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्याले नयाँ रेकर्ड बनाएको बताइएको छ। चालु आर्थिक वर्षको ११ महिनामा झन्डै साढे सात लाख जनाले श्रम स्वीकृति लिएका हुन्।

वैदेशिक रोजगारीका लागि नेपालीहरु सबैभन्दा धेरै मलेसिया तथा खाडी मुलुक जाने गरेका र चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या सात लाख ४० हजार पुगेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए। उनका अनुसार पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो रहेको र वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता युरोपेली मुलुकमा नेपालीहरु जाने गरेका छन्।

श्रम स्वीकृति लिएर प्रत्येक महिना कम्तीमा पनि ६० हजारभन्दा बढी युवाहरु वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुग्ने गरेको निर्देशक सुवेदीले बताए। उनका अनुसार गएको फागुनमा वैदेशिक रोजगारमा ६१ हजार आठ सय ४५ जना गएको देखिन्छ। यसमध्ये युरोप जानेको संख्या धेरै छ। चैतमा वैदेशिक रोजगारीका लागि ६१ हजार चार सय ७८  युवाले श्रम स्वीकृति लिएका थिए। यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो। गत बैशाख महिनामा ५४ हजारभन्दा बढी युवा बाहिरिएका थिए। बैशाखमा विश्वका ९० वटा देशमा ५४ हजार चार सय ५७ जना रोजगारीका लागि गएको विभागको तथ्यांकमा उल्लेख छ।

images

असार महिना पुनः श्रम स्वीकृति लिएर २१ हजार १७ जना विदेशिएका छन् भने ३३ हजार चार सय ४० जनाले नयाँ श्रम स्वीकृति लिएर विदेशिएका छन्। विदेशिनेमा ४९ हजार पाँच सय नौ पुरुष र चार हजार नौ सय ४८ महिला छन्। पछिल्लो समय नेपाली युवाको आकर्षण बढ्दै गइरहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, नियमित र मर्यादित बनाउने योजना पनि सरकारले अघि सारेको विभागको भनाइ छ।

यस्तै सीपयुक्त जनशक्ति विकास गरी रोजगारी र स्वरोजगार वृद्धि गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको योजना रहेको छ। आन्तरिक रोजगारी पनि प्रवर्द्धन गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने लक्ष्य लिइएको मन्त्रालयले जनाएको छ।

यसैगरी गएको दुई महिनामा नेपालमा काम गर्न झन्डै एक हजार चार सय विदेशी नागरिकले श्रम स्वीकृति लिएका श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निमित्त महानिर्देशक मणिनाथ गोपले जानकारी दिए। उनका अनुसार गएको बैशाख महिनामा नौ सय ७४ र  जेठ महिनामा चार सय २२ जना गरी दुई महिनाको अवधिमा नेपालमा काम गर्नका लागि एक हजार तीन सय ९६विदेशी नागरिकले नयाँ श्रम स्वीकृति लिएका थिए।  यस्तै गएको बैशाख र जेठ महिनामा चार सय ५८ विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गराएका थिए। रासस


प्रकाशित : बुधबार, असार २० २०८००८:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend