शनिबार, असोज ५ गते २०८१    
images
images

ललितपुर महानगरका ६१ हजार घर ‘मेट्रिक’ ठेगाना प्रणालीमा

images
बुधबार, असार २० २०८०
images
images
ललितपुर महानगरका ६१ हजार घर ‘मेट्रिक’ ठेगाना प्रणालीमा

अब ललितपुर महानगरमा तपाईंले भेट्न चाहेको व्यक्तिको घर नम्बर र सडकको नाम थाहा पाउनुभयो भने तपाईँ त्यहाँ सजिलै पुग्न सक्नुहुन्छ।

images
images

पाटन- ललितपुर महानगरका- ६० हजार नौ सय ८८ घर मेट्रिक ठेगाना प्रणालीमा प्रविष्ट भएका छन्। ललितपुर महानगरभित्रका सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण सम्पन्न समेत भएको छ।

images
images
images

भौगोलिक सूचना प्रणाली (जिआई एस) अधिकृत उत्तम कार्कीले महानगरपालिकाका २९ वटै वडाका ६० हजार नौ सय ८८ घरलाई सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण गरिएको जानकारी दिए। २०७४ सालमा सम्पन्न दोस्रो नगरसभाले सडक सञ्जाल तथा मेट्रिक ठेगाना प्रणाली अनुसार घर नम्बर वितरण गर्ने निर्णय गरेको थियो।

अब ललितपुर महानगरमा तपाईंले भेट्न चाहेको व्यक्तिको घर नम्बर र सडकको नाम थाहा पाउनुभयो भने ललितपुर महानगरभित्रको घरमा तपाईँ सजिलै पुग्न सक्नुहुन्छ। 'महानगरभित्र एकल बसोबास, संयुक्त आवास, व्यावसायिक भवन, कार्यालय तथा संस्था, मठमन्दिर लगायत सम्पूर्ण स्थायी तथा अस्थायी संरचनासहित ९१ हजार तीन सय ९९ संरचना तथ्यांकमा ‘रेकर्ड’ भएका छन्। हामीले स्थायी संरचना र बसोबास भएका घरलाई मात्रै घर नम्बर वितरण गरेका छौँ। अस्थायी संरचना रेकर्डमा मात्रै छन्,'अधिकृत कार्कीले भने।

महानगरका २९ वडामध्ये सबैभन्दा बढी वडा नं १४ मा तीन हजार आठ सय ९३ घरमा रहेका छन् भने सबै भन्दा कम वडा नं १ मा एक हजार एक सय ३५ घर रहेका छन्। घर नम्बर वितरणसँगै महानगरभित्रका एक हजार दुई सय ८५ मुख्य सडकको नामाकरण गरेर मेट्रिक प्रणालीमा समावेश भएको उनले बताए। महानगरभित्र सबै सडक तथा खण्ड सडकको संख्या नौ हजार नौ सय २० रहेको जनाइएको छ।

images

महानगरले नगरपालिकाभित्र सुशासन कायम गर्दै प्रदान गरिने सेवा सुविधालाई व्यवस्थित गर्न भौगोलिक सूचना प्रणालीमा आधारित घर नम्बर वितरण भएको बताइएको छ। महानगरप्रमुख चिरीबाबु महर्जनले भने, 'यो स्मार्ट सिटीको मुख्य आधारतत्व हो। यसबाट महानगरले उठाउने राजस्व समयमै उठाउन सहज हुनेदेखि नगरवासीले पाउने सेवा सुविधासम्म समयमै प्रदान गर्न सहज हुन्छ।'

सडक सञ्जालमा आधारित घर नम्बर लागू गर्दा सडकको मुख्य चोकबाट दायाँतर्फ जोर नम्बर र बायाँतर्फ विजोर नम्बर प्रदान गरिएको छ। मुख्य चोकबाट नाप्न सुरु गरी घरको मूल चोकसम्मको दुरी जति हुन्छ, त्यसकै आधारमा नम्बर वितरण गरिएको अधिकृत उत्तम कार्कीले बताए।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले यो प्रणालीलाई व्यवस्थित गर्न र कार्यान्वयनलाई प्रभावकारी बनाउँदै आउने समस्या समाधान गर्न महानगरपालिकामा छुट्टै भौगोलिक सूचना प्रणाली (जीआईएस) युनिट स्थापना गर्ने जानकारी दिए।

महानगरले एक वर्षभित्र सम्पन्न गर्नेगरी कार्ययोजना बनाएर २०७७ पुस २३ गते जियोस्पासियल सिस्टम प्रा लि, नेष्ट प्रालि र इन्डोभेटिभ कन्सर्न प्रालिसँग सम्झौता गरेको थियो। कोरोना महामारीको कारण समयमा काम सम्पन्न हुन नसकेपछि ६/६ महिना गरेर एक वर्षको अवधि थपेको थियो। 

सम्झौताअनुसार २०७९ पुस २२ गते सम्पन्न भएको परियोजनाको उपलब्धि सहितको विवरण जियोस्पासियल सिस्टम प्रालि नेष्ट प्रालि र इन्डोभेटिभ कन्सर्न प्रालिका प्रतिनिधिले आज ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेका हुन्। रासस


प्रकाशित : बुधबार, असार २० २०८००७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend