शनिबार, असोज ५ गते २०८१    
images
images

घरबासले बदलिँदै बोटे समुदायको जीवनशैली

images
बुधबार, असार २० २०८०
images
images
घरबासले बदलिँदै बोटे समुदायको जीवनशैली

होमस्टे सञ्चालनमा आएपछि स्थानीयले तरकारी खेतीसँगै कुखुरा, हाँस, बाख्रा र माछापालनलाई व्यावसायिक बनाउन थालेका छन्। गाउँमा समूह गठन गरेर रकम संकलन गर्ने र व्यवसाय गर्न चाहनेलाई छ प्रतिशत ब्याजमा ऋणसमेत दिने व्यवस्था गरिएको छ।

images
images

भरतपुर- जल, जमिन र जंगलमा आश्रित चितवनको माडीका बोटे समुदाय अहिले आफ्नो घरबास (होमस्टे) मा आउने पाहुनालाई स्वागत गर्न व्यस्त छन्। बोटे समुदायको पुर्ख्यौली पेसा खोलामा माछा मार्ने र डुंगा चलाउने भए पनि अहिले घरबास सञ्चालन गरेर जीवनशैली परिवर्तन गरिरहेका छन्।

images
images
images

माडी नगरपालिका-१ वनकट्टा बोटे टोलमा आउने पर्यटकलाई यहाँका बोटे समुदायले आफ्नो संस्कृतिअनुसार ‘बिन्ती बाटी’ (मान्यजन तथा पाहुनालाई गरिने सम्मान) गरेर पाहुनालाई स्वागत गर्दछन्। घरबास सञ्चालन गरेपछि उनीहरुलाई बिन्ती बाटीसँगै बोटे होमस्टेमा आउने पाहुनाको स्वागत गर्न भ्याइनभ्याइ छ।

माडी नगरपालिका-१ की रीताले बोटे हिजोआज कामका लागि खोलानाला र वनजंगल जानु नपरेको बताइन्। घरबासमा आउने पाहुनाको स्वागत, सत्कार र मीठा परिकार बनाउने काममा दैनिकी बित्ने गरेको भन्दै उनले अब दुःखका दिन क्रमशः हट्दै गएको बताइन्। 'गुजारा चलाउनका लागि माछा मार्न जाने, जंगलमा घाँस-दाउरा खोज्ने र निहुरो टिप्ने काम गर्नुपर्थ्यो', उनले भनिन्, 'आर्थिक अभावका कारण परिवारसहितको जीवन चलाउन धौ-धौ थियो, घरबास सञ्चालनमा आएपछि अहिले जीविकोपार्जनमा सहज भएको छ।'

रीताको मात्र होइन गाउँका अन्य महिलाको पनि अहिले घरबासको व्यवस्थापन र पाहुनाको स्वागतसत्कारमा दैनिकी बित्ने गरेको छ। बोटे टोलका फुलमाया बोटेले घरबास सञ्चालनबाट आएको रकमले जीवनमा परिवर्तन ल्याएको बताइन्। 'यहाँबाट हुने आयआर्जनले छोराछोरीलाई विद्यालय पढाउने, घरव्यवहार चलाउनेलगायत काममा खर्च गर्न धेरै सजिलो भएको छ', उनले भनिन्।

images

बोटे सामुदायिक होमस्टेका कोषाध्यक्ष जगनारायण बोटेले विसं २०७५ मा निर्माण सुरु गरेर विसं २०७७ देखि घरबास सञ्चालनमा ल्याएको बताए। 'चितवन राष्ट्रिय निकुञ्जले जनचेतनामूलक कार्यक्रम गरेपछि घरबास निर्माणमा लागेका हौँ', उनले भने, 'पहिला वन्यजन्तुबाट पीडित बनेका हामी अहिले वन्यजन्तु देखाएर पर्यटक भित्र्याउने गरेका छौँ।' उनले निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत दिगो जीविकोपार्जनसम्बन्धी तालिम लिएको घरबास सञ्चालन गरिएको जानकारी दिए।

माडीको रिउ नदी तरेपछि मूल सडकको सेरुवा गेटबाट एक हजार पाँच सय मिटरको दुरीमा पश्चिमतर्फ लागेपछि बोटे सामुदायिक घरबास पुगिन्छ। घरबास बनाउन माडी नगरपालिका, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, तराई भूपरिधि कार्यक्रम (ताल) ले आर्थिक सहयोग गरेका छन्। १० लाख रूपैयाँभन्दा बढी खर्च गरेर सुविधासम्पन्न दुईकोठे होमस्टे बनाइएको छ। सो क्षेत्रमा १२ वटा होमस्टे सञ्चालित छन्।

यहाँका होमस्टेमा एक रातमा ६० जनासम्म अटाउने कोषाध्यक्ष जगनारायणले जानकारी दिए। उनका अनुसार यहाँ आउने पाहुनालाई हाँसका विभिन्न परिकारका साथै स्थानीय उत्पादन साग, निहुरोको तरकारी, माछाको आचार, घोंगी, बाँसको तामाको चोखाजस्ता स्थानीय र आफ्नो जातिसँग जोडिएका परिकार खुवाउने गर्दछन्।

'होमस्टेमा बसेका पाहुनालाई मनोरञ्जन दिन नाचगानलगायत सांस्कृतिक कार्यक्रम हुन्छ। सोहोर्ना, जगिया, गोलेनी, सोल्टी-सोलोटना, सोरठी, मारुनीलगायत कला र नाच प्रदर्शन गरिन्छ', जगनारायणले भने। उनका अनुसार जगिया, सोहोर्ना, गोलेनी बोटे समुदायको परम्परागत संस्कृति झल्कने नाँच हुन्। 

घरबास खुलेपछि बोटेको लोपोन्मुख संस्कृति संरक्षणमा टेवा पुगेको कोषाध्यक्ष जगनारायणको भनाइ थियो। पाहुनालाई होमस्टेबाट पाँच सय मिटर पर रहेको गोद्दकनाथ मन्दिर, एक किलोमिटर पर रहेको पाँचपाण्डव, डेढ किलोमिटर पर रहेको अष्टशिव लिंग, चार किलोमिटर पर रहेको परशुराम कुण्डसम्म भ्रमण गराउने गरिएको उनले बताए।

घरबासको अझै प्रचार-प्रसार गर्न सके आन्तरिक र बाह्य पर्यटक अझै बढ्ने जगनारायणको भनाइ थियो। यस अवधिमा पाँच हजार बढीले घरबासबाट सेवा लिएको भन्दै उनले काठमाडौं, पोखरालगायत स्थानबाट यहाँ पर्यटक आउने गरेको बताए। 'कतिपय चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने विदेशी पनि आएका छन्', उनले भने, 'पहिचान झल्कने घर र संस्कार-संस्कृतिले उनीहरुलाई आकर्षित गरेको छ।'

होमस्टे सञ्चालनमा आएपछि स्थानीयले तरकारी खेतीसँगै कुखुरा, हाँस, बाख्रा र माछापालनलाई व्यावसायिक बनाउन थालेका छन्। गाउँमा समूह गठन गरेर रकम संकलन गर्ने र व्यवसाय गर्न चाहनेलाई छ प्रतिशत ब्याजमा ऋणसमेत दिने व्यवस्था गरिएको छ। यसले लघुवित्तको समस्याबाट यहाँका बासिन्दाले छुट्कारा पाउँदै जान थालेको तराई भूपरिधि कार्यक्रम (ताल) का कार्यक्रम संयोजक प्रेम पौडेलले बताए। उनले कार्यक्रममार्फत स्थानीयलाई विभिन्न आयआर्जनका काममा सहयोग गरिरहेको बताए।

पाँचपाण्डव मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष नारायण सापकोटाले घरबास निर्माणका लागि मध्यवर्तीले पनि आवश्यक सहयोग गरेको बताए। उनले घरबास निर्माणपछि यहाँका बोटे समुदायका मानिस जंगल जाने क्रम कम भएको र मानव-वन्यजन्तुबीचको द्वन्द्व पनि कम भएको बताए।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना मध्यवर्ती क्षेत्रका नगरिकको जीविकोपार्जन र आयआर्जनलाई व्यवस्थित बनाउन घरबासले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले निकुञ्जसँग जोडिएका बस्तीका आदिवासी र पछाडि परेका समुदायलाई घरबासमार्फत आयआर्जन सिर्जना गर्नका लागि निरन्तर सहयोग गरिने बताए। रासस


प्रकाशित : बुधबार, असार २० २०८००६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend