सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

पहिरो पन्छाउन नसक्दा नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात ठप्प

images
मंगलबार, असार १९ २०८०
images
images
पहिरो पन्छाउन नसक्दा नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात ठप्प
फाइल तस्बिर।

अविरल वर्षाका कारण विभिन्न खण्डमा पहिरो खसेसँगै गत बिहीबारदेखि सदरमुकामसँग नवलपुरको पहाडी क्षेत्रको यातायात सम्पर्क पूर्णरूपमा टुटेको छ। पहिरो पन्छाउने प्रयास गरिएको भए पनि पानी पर्ने र पहिरो झर्ने क्रम नरोकिँदा समस्या भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।

images
images

त्रिवेणी- पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुन सकेको छैन। जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ-ठाउँमा पहिरो खसेर यातायात पूर्णरूपमा अवरुद्ध भएको हो।

images
images
images

दलदले-कुसोत-पोखरी खण्डअन्तर्गत कुमसोत-पोखरी खण्डमा खसेको पहिरो पन्छाउन नसक्दा यातायात सञ्चालनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद पौडेलले बताए।

images
images

अविरल वर्षाका कारण विभिन्न खण्डमा पहिरो खसेसँगै गत बिहीबारदेखि सदरमुकामसँग नवलपुरको पहाडी क्षेत्रको यातायात सम्पर्क पूर्णरूपमा टुटेको छ। जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने पालिका बौदीकाली, बुलिङटार र हुप्सेकोटका केही क्षेत्रका लागि मुख्य मार्गका रूपमा रहेको खण्डमा पहिरो खसेपछि ती क्षेत्रमा कुनै सवारी सञ्चालन हुन सकेका छैनन्।

images
images
images

पहिरो पन्छाउने प्रयास गरिएको भए पनि पानी पर्ने र पहिरो झर्ने क्रम नरोकिँदा समस्या भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। 'पहिरो पन्छाउन निरन्तर प्रयास भइरहेको छ, तर विभिन्न क्षेत्रमा धेरै पहिरो खसेको छ, पानी पर्ने र पहिरो झर्ने क्रम पनि रोकिएको छैन, यसैले पहिरो पन्छाउन समस्या भएको छ', उनले भने।

दलदले-कुमसोत-पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका-५ पांगेर र पोखरी खण्डमा खसेको पहिरो हटाउन समस्या भएको उनले बताए। पोखरीबाट डेढगाउँ जाने खण्डमा समेत यातायात सञ्चालन हुन सकेका छैनन्। पहाडी क्षेत्रको मुख्य मार्गका रूपमा सडकखण्ड बन्दा भएसँगै पहाडी क्षेत्रका बासिन्दालाई सदरमुकाम आउनसमेत समस्या भएको छ। पहिराले बाटो बन्द भएपछि जिल्लाको सदरमुकाममा कुनै अत्यावश्यक काम परे डेढगाउँ-भिमाद-खैरेनी-मुग्लिङ-नारायणगढ हुँदै घुमेर आउनुपर्ने बाध्यता सिर्जना भएको बौदीकाली-५ बबकका स्थानीय गेसबहादुर श्रेष्ठले बताए।

पहाडी क्षेत्रका लागि विकल्पको मार्गका रूपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट-बुलिङटार खण्डसमेत पहिराले अवरुद्ध हुँदा थप समस्या सिर्जना भएको उनको भनाइ छ। जिल्लाको पहाडी क्षेत्रका बासिन्दालाई वर्षायाममा कुनै समस्या परे कावासोती आउने बाटो बन्द हुने हुँदा भिमाद, खैरेनी पुग्नुपर्ने बाध्यता छ।

नवलपुरको पहाडी क्षेत्रमा बर्सेनि वर्षायाममा बाटो पहिराले बन्द हुँदा यस क्षेत्रका बासिन्दा समस्यामा पर्ने गरेका छन्। जिल्लाको सदरमुकाम जोड्ने मूल सडकखण्डको समयमै स्तरोन्नति हुन नसक्दा समस्या सधैँ उस्तै रहेको बुलिङटारका स्थानीय टोलबहादुर रानाले बताए। रासस


प्रकाशित : मंगलबार, असार १९ २०८००६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend