आइतबार, जेठ १३ गते २०८१    
images
images

मौरीपालनमा सफल रामकुमारी

images
आइतबार, जेठ २१ २०८०
images
images
मौरीपालनमा सफल रामकुमारी

रामकुमारी खत्रीले मौरीपालनमा तीन दशक बिताएकी छिन्। उनीसँग अन्य कृषकले परामर्श समेत लिने गरेका छन्।

images
images

डडुवा- म्याग्दीको बेनी नगरपालिका-५ डडुवाकी रामकुमारी खत्रीले ३० वर्षअघि मौरीपालन सुरू गर्दा तत्कालीन कृषि विकास कार्यालयमा यससम्बन्धी कार्यक्रम थिएन।

images
images
images

विसं २०५० मा रेडियो नेपालबाट प्रसारण हुने कृषि कार्यक्रम सुनेर मौरी पाल्ने योजना बनाएकी रामकुमारी कार्यालयमा पुग्दा कार्यक्रम नभएको बताएपछि प्राविधिक सल्लाह मात्र लिएर फर्किएकी थिइन्। 'त्यतिबेला अहिलेजस्तो पुस्तक पढ्ने, भिडियो हेर्ने सुविधा थिएन, रेडियोमा सुनेको भरमा मौरी पाल्न थालेकी थिएँ', उनले भनिन्, 'राम्रो ज्ञान भएका प्राविधिक जनशक्ति भेट्टाउन पनि मुस्किल थियो, त्यस्तो अवस्थामा मौरीपालन गर्नु मेरा लागि चुनौती थियो, तर सफल भएँ।'

images

तीन वटा काठको घारबाट मौरीपालन सुरू गरेकी उनीसँग हाल ८० देखि एक सय आधुनिक घारमा मौरी टुट्दैनन्। अप्ठ्यारा र समस्याबाट सिक्दै उनले मौरीपालनमा तीन दशक बिताएकी छिन्। मौरीपालन सफल भएपछि बसाइँसराइ गरेर चितवन जाने रामकुमारीको परिवारको योजना रोकिएको छ।

images
images

डडुवाका साथै छिमेकी गाउँ कुहुँ र जिल्लाका विभिन्न ठाउँका कृषकलाई मौरीपालनमा आकर्षित गराउन तथा विस्तार गर्न उनको महत्वपूर्ण भूमिका छ। डडुवाका साथै उनले भिरमुनि र तोरीपानीमा रहेका आफन्तको जग्गामा घारसहितको मौरी लगेर पालेकी छिन्।

images
images

उनी मौरीपालन व्यवसायबाटै परिवारलाई आत्मनिर्भर बनाउन सकेकामा सन्तुष्ट छिन्। 'चार छोराछोरीलाई बेनी र काठमाडौंमा क्याम्पस पढाउन श्रीमानको जागिरले मात्र सम्भव थिएन', उनले भनिन्, 'छोराछोरी पढाउने र घरखर्च चलाउने स्रोत मौरी नै हो।'

सेरेना जातको मौरी पालेकी रामकुमारीले घारसहितको मौरी र मह दुवै बिक्री गर्दै आएकी छिन्। खत्री सञ्चालक रहेको सिद्धिविनायक मौरीपालन केन्द्र म्याग्दी मौरीको स्रोत केन्द्र पनि हो। उनले वार्षिक एक सय घारसहित मौरी र एक मौसममा एक सय किलोग्रामसम्म मह उत्पादन गर्छिन्।

मौरीसहितका घार १० हजार र महलाई प्रतिकिलो एक हजार सात सय रूपैयाँका दरले बेच्ने गरेकी छिन्। 'यसपालि घारसहितका मौरी बेच्नलाई ५० घार मौरी छुट्याएर राखेको छु, बजारको खोजी भइरहेको छ', उनले भनिन्, 'मौरी बेच्नलाई मह निकालिएन, मह जति पनि बिक्री हुन्छ, यसपालि पालिका र कृषि ज्ञान केन्द्रमा मौरीसहितका घार वितरण गर्ने कार्यक्रम कम भएकाले बिक्री नभएको हो।'

गाउँघरका साथै जिल्ला सदरमुकाम बेनी बजार र विदेशमा रहेकाले कोसेलीका रुपमा मह किनेर लैजाने गर्छन्। जापान, कोरिया, अष्ट्रेलियामा रहेका आफन्तलाई डडुवाको मह किनेर कोसेली पठाउने गरेका छन्। मौरीपालन गर्ने नयाँ कृषक घारसहितको मौरीका ग्राहक हुन्। 

रामकुमारीले डडुवाकै बालबहादुर विकले बनाएको घार किनेर त्यसमा मौरी राखेर कृषकलाई बेच्ने गरेकी छिन्। खत्रीसँग मौरी पाल्ने कृषकले परामर्श लिने गर्छन्। स्वादिलो, पोषिलो र शक्तिवद्र्धक मह धार्मिक कार्यमा पनि प्रयोग हुन्छ। चरन अभाव, अस्वस्थ प्रतिस्पर्धा र सीमित बजारलाई उनले मौरीपालनको चुनौतीका रुपमा लिएकी छिन्। रासस 


प्रकाशित : आइतबार, जेठ २१ २०८००७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend