शनिबार, साउन १२ गते २०८१    
images
images
images

फल लाग्ने समयमा सेतो गवारोले सुक्न थाले कफीका बिरुवा, समस्यामा किसान

images
बिहीबार , जेठ १८ २०८०
images
images
फल लाग्ने समयमा सेतो गवारोले सुक्न थाले कफीका बिरुवा, समस्यामा किसान

कफीका लागि आवश्यक पर्ने छहारीकोसमेत उपलब्धता नहुँदा बिरुवा सुक्न थालेका छन्।

images

तम्घास- गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या देखिएको छ। कफीले फल दिने समयमा सेतो गवारोले बिरुवा सुक्न थालेपछि किसान समस्यामा परेका हुन्। 

images
images

कफीका लागि आवश्यक पर्ने छहारीकोसमेत उपलब्धता नहुँदा बिरुवा मर्ने र कम उत्पादन हुने समस्या देखिएको छ।

images

'तीन वर्षमा कफीले फल दिन्छ, तर गवारोले गर्दा फल दिने बेला बिरुवा नै मर्छ', मदाने गाउँपालिका-३ सिर्सेनीका कफी कृषक नारायण अर्यालले भने, 'गवारो बढी हुँदा र छहारी नहुँदा समस्या परेको छ ।' 

अर्का किसान दमन्ता अर्यालले बिरुवामा किरा लाग्ने, बिरुवा मर्ने जस्ता समस्या देखिएको बताइन्। कफीमा पहिले सानो जाली लगाएको र अहिले ठूलो लगाए पनि बिरुवाका मुन्टा भाँचिने समस्या भएको अर्यालको भनाइ छ। 'सानैमा बिरुवा मर्ने समस्या भयो, बाँचेका केही बिरुवा अहिले हुर्कंदै छन्', अर्यालले भनिन्, 'पानी, मल र छहारी भएमा कफी उत्पादनमा वृद्धि हुने थियो।' 

images

सिर्सेनी लाम्पाटाका किसान प्रेम अर्यालले छहारी नहुँदा घामबाट र चिसोबाट विभिन्न प्रकारका रोग लागेको बताए। त्यस्तै उनले कफीका मुन्टा भाँच्चिने, असिना र शितबाट पनि कफीका बिरुवालाई असर गर्ने हुँदा अनिवार्यरुपमा छहारी आवश्यक पर्ने बताए। राज्यले छहारीका लागि गुणस्तरीय टनेलको व्यवस्था गरिदिए कफी उत्पादनमा वृद्धि गर्न सकिने उनको भनाइ छ।

कफीका लागि प्रसिद्ध जिल्ला गुल्मीमा यसको उत्पादन, उत्पादन गर्ने क्षेत्रफल र आबद्ध कृषक पनि बर्सेनि बढ्दै गएका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०७६/७७ मा एक हजार छ सय ४५ कृषकले एक सय ८२ हेक्टर क्षेत्रलफलमा कफी लगाउँदा २४ मेट्रिकटन उत्पादन भएको थियो। आव २०७७/७८ मा एक हजार छ सय ९५ कृषकले दुई सय पाँच हेक्टरमा गरेको कफी खेतीबाट २५ मेट्रिकटन उत्पादन भएको कार्यालयको तथ्यांक छ।

त्यसैगरी आव २०७८/७९ मा एक हजार सात सय ४० कृषकले दुई सय २५ हेक्टर क्षेत्रफलमा गरेको खेतीबाट २८ मेट्रिकटन कफी उत्पादन भएको थियो। चालु आवमा ३० मेट्रिकटन कफी उत्पादन हुने कार्यालयको अनुमान छ। चालु आवमा दुई सय ४१ हेक्टरमा एक हजार आठ सय पाँच कृषकले कफी खेती गरेको कार्यालय प्रमुख गंगाकुमारी पोखरेलले जानकारी दिए।

पोखरेलले कफीमा आइपर्ने विभिन्न समस्याको न्यूनीकरणका लागि तालिम सञ्चालन गरेको बताए। उनले मदाने-३ सिर्सेनीमा १५ हप्ते तालिम नै सञ्चालन गरी कफीको खाडल व्यवस्थापन, बिरुवा हुर्काउने तरिका, सेतो गवारोको समस्या र समाधानका उपाय, छहारीको महत्वलगायतका विषयमा तालिम दिएको बताए। 'सेतो गवारोबाट बच्ने उपाय भनेकै पेष्ट र सरसफाइ गर्ने हो', उनले भने, 'त्यसका लागि हामीले तालिमका साथसाथै विषादी पनि उपलब्ध गराएका छौँ।' रासस


प्रकाशित : बिहीबार , जेठ १८ २०८००७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend