काठमाडौं- चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ९५ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ। चालु आवको ८ महिनासम्ममा प्रतिव्यक्ति विद्युत् खपत ३ सय २५ किलोवाट घण्टाबाट ३ सय ५१ किलोवाट घण्टा पुगेको छ।
०७९ असारको तुलनामा हालसम्म कुल जडित विद्युत क्षमता २१.७ प्रतिशतले वृद्धि भइ ६ सय ६६ मेगावाट पुगेको छ। असारसम्म कुल जडित विद्युत क्षमता २ हजार एक सय ९० मेगावाट रहेको थियो।
यस्तै ०७९ फागुनसम्म राष्ट्रिय प्रसारण लाइन (६६ के.भी. र सोभन्दा माथि) ५ हजार ६ सय ६९ सर्किट किलोमिटर पुगेको छ। साथै वितरण लाइन (३३ के.भी. र सो भन्दा कम) १ लाख ३६ हजार ५ सय ९५ सर्किट किलोमिटर पुगेको छ।
सो अवधिमा भारतबाट एक हजार ११ गिगावाट घण्टा विद्युत् आयात भएको छ भने एक हजार ५३ गिगावाट घण्टा बराबरको विद्युत् निर्यात भएको छ। आर्थिक वर्ष २०७८/७९ मा विद्युतको माग पूर्तिका लागि भारतबाट कुल एक हजार ५ सय ४३ गिगावाट घण्टा विद्युत् आयात भएको थियो भने ४ सय ९३ गिगावाट घण्टा विद्युत् निर्यात भएको थियो।
आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म ५७ विद्युत आयोजनाहरू सम्पन्न भई कुल ८ सय ११ मेगावाट थप जलविद्युत उत्पादन हुनेछ। आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न हुने ३६ आयोजनाबाट थप ७ सय ५४ मेगावाट जलविद्युत् उत्पादन हुने अनुमान छ।
०७९ फागुनसम्म प्रसारणतर्फका ४ र वितरणतर्फका ३ गरी ७ सबस्टेसन सञ्चालनमा आएका छन्। निर्माण सम्पन्न भइ त्यसैगरी,१३२ के.भी.का विभिन्न प्रसारण लाइनका १०५ सर्किट किलोमिटर विस्तार भएको छ। सबस्टेसनको क्षमता ७ हजार १ सय ४९ एमभीएबाट ८ हजार ६४ एमभीए पुगेको छ।
सामुदायिक संस्था बाहेक विद्युत् उपयोग गर्ने ग्राहकको संख्या २०७९ फागुनसम्म ५२ लाख २९ हजार पुगेको छ। २०७९ असारसम्म यस्तो संख्या ५० लाख ६२ हजार रहेको थियो। सामुदायिक संस्था अन्तर्गत विद्युत उपयोग गर्ने ग्राहकको संख्या करिब ५ लाख ५० हजार रहेको छ।
आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म ५ हजार ७ सय ७२ गिगावाट घण्टा बराबर विद्युत् खपत भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ६ हजार ७ सय ८९ गिगावाट घण्टा बराबर विद्युत् खपत भएको छ। आर्थिक वर्ष २०७८/७९ मा यस्तो खपत ९ हजार ३ सय १७ गिगावाट घण्टा रहेको थियो।
आर्थिक वर्ष २०७९/८० को फागुनसम्म गार्हस्थ्य, औद्योगिक, व्यापारिक, निर्यात र अन्य क्षेत्रमा विद्युत खपत क्रमशः ३६.६ प्रतिशत, ३०.७ प्रतिशत, ६.७ प्रतिशत, १५.९ प्रतिशत र १९.१ प्रतिशत रहेको छ।
जलविद्युत क्षेत्रमा लिइएको नीतिगत अग्रसरता र लगानी बढोत्तरीले विद्युत क्षेत्रमा देश आत्मनिर्भर हुँदै गएको छ। जलविद्युतको उत्पादन बढ्न गइ सर्वसुलभ गुणात्मक विद्युतीय ऊर्जाको विस्तार भएको छ।