काठमाडौं- फुटबल खेलमा मात्र सीमित छैन। समाजका विभिन्न आयामको प्रभाव देखिने फुटबल लामो समयदेखि त आर्थिक-सामाजिक उन्नतिको ऐना बनिरहेको छ। विश्वव्यापीकरणमा उदाउँदो आर्थिक शक्ति कतारले फुटबलमार्फत विश्वलाई क्षमता देखाएको धेरै भएको छैन। त्यसबाहेक विश्वभर राष्ट्रिय लिग फुटबलको अर्थतन्त्र त बेजोडको देखिँदै आएकै छ।
अहिले फुटबल फेरिएको छ। खेलबाहेक सांस्कृतिक र भावनात्मक सम्पदाको अंशबाट बढेर वित्तीय आयाम बलियो बन्दै गइरहेको छ। अर्थतन्त्र र फुटबलबीचको सम्बन्ध थप स्पष्ट भइरहेका छन्। व्यवसायका रुपमा देखिने वर्तमान फुटबल विश्वव्यापी आर्थिक अवस्थाबाट प्रभावित हुने गरेको छ। त्यसमा पनि आर्थिक क्षमताको पुछारतिर रहेका देशहरूमा त अर्थतन्त्रको प्रभावले फुटबल बजार कमजोर छ।
सन् २०१० को दशकमा फुटबल क्षेत्रको आर्थिक विकास विश्व अर्थतन्त्रको अन्य क्षेत्रसँगको तुलनामा दोबरभन्दा बढी रहेको इन्टरनेशनल सेन्टर फर स्पोर्टस स्टडिजको अध्ययनले देखाएको थियो। विश्व अर्थव्यवस्थामा फुटबल ५७औँ स्थानमा रहेको देखाएको अध्ययनले त्यसको वृद्धि उच्च रहेको जनाएको थियो। कोरोना महामारीपछि भने फुटबल पनि मारमा नै रह्यो। विश्व अर्थतन्त्रमा देखिएको महामारीको असरले अब्बल भनिएका युरोपियन क्लबहरूसमेत आजित भइरहेका छन्। यस्तोमा नेपाली फुटबल लिगमा पनि अर्थतन्त्रको कमजोर छायाले अवस्था नाजुक छ।
खेलको टिकट बिक्री, प्रायोजक र टेलिभिजन प्रसारण अधिकारजस्ता क्षेत्रबाट फुटबलमा आम्दानीका माध्यमहरू बन्छन्। त्यसपछाडिका विभिन्न क्षेत्रसँगको चासोसमेत फुटबलमा जोडिने गरेकै छ। आम्दानीका अन्य पाटाहरूको खोजी गरिरहेको विश्व फुटबलले नयाँ-नयाँ बाटोहरू पनि भेटिरहेकै छ। तर नेपाली फुटबलमा भने मुख्य प्रायोजकबिना नै पहिलो श्रेणिको लिग फुटबल चलिरहेको छ।
लिगमा सम्भावित प्रायोजकसँग कुराकानी अघि बढिरहँदा सहमतिसम्म पुग्न नसक्नु र खेलाडीहरू पनि सामान्य सम्झौतामा सीमित हुनपुग्नुमा अहिले अर्थतन्त्रमा देखिएको समग्र समस्या नै कारण रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई बताउँछन्।
‘अहिलेको आर्थिक मन्दीजस्तो अवस्थाले विशेष असर व्यावसायिक बनिसकेको फुटबलमा नै परेको छ। आर्थिक समस्याकै बीच जसोतसो लिग सञ्चालन भइरहेको छ। अहिले कर्पोरेट क्षेत्रबाट सहयोग पाउन सक्ने अवस्था नै देखिएको छैन’ उनले भने।
अहिलेकै जस्तो अर्थतन्त्रको समस्या आगामी वर्षसम्म लम्बिएमा लिग सञ्चालन नै कठिन हुने उनको भनाइ छ। ‘अहिले पनि फिफा र एएफसीको सहयोगबिना त हामी अगाडि बढ्नै सक्ने थिएनौँ, अर्को वर्षसम्म यही अवस्था रहे अगाडि बढ्न सम्भव नै देखिँदैन’, उनी भन्छन् ‘मुख्यत: देशको समग्र आर्थिक अवस्थाकै असर फुटबलमा पनि देखिएको हो। अब जे जति उपलब्ध भएका छन् त्यसलाई नै प्राथमिकीकरण गरेर अगाडि बढ्नुको विकल्प छैन।’
यसअघिकै प्रायोजक कतार एयरवेजसँग यसपटक पनि सम्झौता हुनेमा एन्फा नेतृत्व ढुक्कजस्तै भएर बसेको थियो। तर अन्तिम सम्झौतानजिक कुराकानी पुगिसकेको भनिएको विषय अन्योलमा पर्यो। जसले पहिलो श्रेणिको लिग फुटबल कर्मकाण्डी रुपमा मात्र चलिरहेको छ। यसमा फुटबलसम्बद्ध कतिपयहरू भने एन्फा नेतृत्वको कमजोरीले काम हुन नसकेको आरोप लगाउँछन्। एन्फा नेतृत्व भने समग्र देशको अवस्था नै कमजोर रहेका बेला एन्फाले मात्र छुट्टै केही गर्न नसक्ने बताउँछ।
‘मुख्य प्रायोजनका लागि कतार एयरवेजले निरन्तरताको लागि पोजेटिभ रेस्पोन्स नै गरेको थियो। तर उच्च नेतृत्वबाट कुरा फेरिएको भन्ने आएको छ। अब एक/दुई दिनमा कतारसँगको कुरा टुंग्याएर अघि बढ्छौँ’, राई भन्छन् ‘अन्यतिर पनि साना-साना भए पनि स्पोन्सरलाई कन्भिन्स गरेर अघि बढ्नेगरी एन्फाले काम गरिरहेको छ।’
एन्फा नेतृत्वले राष्ट्रिय अर्थतन्त्रमा देखिएको समस्यातर्फ इङ्गित गरेर आफूहरूको 'कमजोरी लुकाउने अवसर' पाइरहेको छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै अर्थतन्त्र शिथिल भएको स्वीकार गरेको छ। राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार मन्दी देखिएका क्षेत्रलाई राहत दिने राष्ट्र बैंकले घोषणा गरेको छ। यसको अर्थ केन्द्रीय बैंकले समेत अर्थतन्त्रमा मन्दीको संकेत गरेको छ।
यद्यपि अर्थतन्त्र मन्दीमा गएको भनेर अहिलेसम्म सरकारले प्रष्ट भाषामा व्यक्त गरेको भने छैन। संसारभर प्रायजसो लगातार दुई त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक र उच्च मूल्यवृद्धिको अवस्थालाई मन्दीका रुपमा विश्लेषण गरिन्छ। यो हिसाबले हेर्दा नेपाली अर्थतन्त्रमा पछिल्लो एक त्रैमास ऋणात्मक भएको छ।
बजारलाई चलायमान बनाउने क्षेत्र भने मन्दीमा नै देखिएका छन्। कतिपय क्षेत्र लगातार तीन त्रैमासदेखि ऋणात्मक भइरहेका छन्। बजार तथा सेवासँग जोडिएका यस्ता क्षेत्रमा देखिएको मन्दीको असर रोजगारी तथा सहरी क्षेत्रको जीवनशैलीमा समेत देखिएको छ।
नेपालको उत्पादनमूलक क्षेत्र पछिल्लो दुई त्रैमासदेखि ऋणात्मक भइरहेको छ। उत्पादनमूलक उद्योग र तिनको व्यापार सुक्दा यसको असर समग्रमा देखिएको छ। उत्पादनमूलकसँगै निर्माण क्षेत्र पनि दुई त्रैमासदेखि ऋणात्मक छ।
नेपाली बजारलाई चलायमान बनाउने अर्को क्षेत्र हो थोक तथा खुद्रा व्यापार। विदेशबाट वस्तु आयात गर्ने र त्यसलाई बजारमा बिक्री गरी व्यापार गर्ने धेरै ठूलो उद्योग रहेको छ। समग्र अर्थतन्त्रमा यस्तो व्यापार गर्ने क्षेत्रको हिस्सा १६ प्रतिशतभन्दा माथि छ। यही क्षेत्र पछिल्लो त्रैमासमा ९ प्रतिशतले ऋणात्मक छ।
अर्थतन्त्रको यही अवस्थाले लिगको प्रायोजनमा मात्र होइन क्लबहरूले पनि प्रायोजक भेट्न मुस्किल देखिएको छ। केहीले पुरानै प्रायोजकसँग निरन्तरता दिएका छन् भने केही क्लबले लिग आधा भइसक्दा बल्ल प्रायोजक भेटिरहेका छन्। यसअघि ३० लाख रूपैयाँभन्दा बढीको प्रायोजक भेटिरहेका क्लबहरूका लागि अहिले सबैभन्दा ठूलो सम्झौता नै १० लाख रूपैयासम्म मात्र रहेको संलग्न क्लबहरू नै स्वीकार्छन्। साविक विजेता मच्छिन्द्र र अहिले लिग बिजेताको प्रतिस्पर्धामा देखिएको चर्च ब्वाइज युनाइटेडले सर्वाधिक १० लाख रूपैयाँको प्रायोजक भेट्दा अन्य क्लबहरू तीन लाख रूपैयाँको सम्झौतामा पनि सीमित भइरहेका छन्।
सातदोबाटो युथ क्लबले टाइटल स्पोन्सरका रुपमा रोयल ब्लू र चर्च ब्याइज युनाइटेडले अपी पावर कम्पनीसँग सम्झौता गरेको छ। मच्छिन्द्र फुटबल क्लबले पेपे पिजासँग मुख्य स्पोन्सरको निरन्तरता दिएको छ। मच्छिन्द्रले नै को-स्पोन्सरका रुपमा म्याक्स टाइगर र अलआउटसँग सम्झौता गरेको छ। स्पोन्सरका रुपमा सशस्त्र प्रहरीको एपीएफ क्लबले महिन्द्रा, न्यू रोड टिम एनआरटीले शिखर इन्स्युरेन्स र खुमलटारले बतास ग्रुपसँग सम्झौता गरेको छ।
को-स्पोन्सरका रुपमा मनाङ मर्स्याङ्दी क्लबले टोयोटासँग, संकटा क्लबले हिमालयन बैंकसँग सम्झौता गरेका छन् भने ललितपुरका टिमलाई ललितपुर महानगरपालिका र काठमाडौंका क्लबलाई काठमाडौं महानगरपालिकाले पनि सहयोग गरेका छन्। यसबाहेक केही क्लबहरूले खेल सामग्री र अन्य किटहरू उपलब्ध गराउनेगरी विभिन्न सम्झौता पनि गरेका छन्।
क्लबहरूको यही अवस्थाले आर्थिक क्षमता सुधार गर्न खेलाडीहरू विदेशिने क्रम पनि बढिरहेको छ। राष्ट्रिय टिममा नै रहेका खेलाडीहरूसमेत विदेशिने क्रम बढिरहँदा राज्यका लागि खेलाडीको अवस्थाले प्रभाव परेको देखिँदैन। सामान्य जीवनयापनकै संघर्षले विदेशिएका खेलाडीलाई नेपालमा नै राख्नसक्ने योजना न एन्फासँग छ न त नेपाल सरकारले नै केही योजना बनाएको देखिन्छ।
कामका लागि विदेशिएका नेपाली खेलाडीको नाम हरेक दिन थपिइरहेको छ। रेजिन धिमाल, सुजल श्रेष्ठ, सुनिल बल, दिनेश राजवंशी, सुमन लामा, जगजित श्रेष्ठ, एलन न्यौपाने, दर्शन गुरुङ तेज तामाङ, सन्तोष तामाङ, आशिष लामा, अभिषेक रिजाल, सुमन अर्यालजस्ता दर्जनौँ खेलाडी सुरक्षित भविष्यका लागि विदेशिएका छन्। अहिले नेपालमा रहेकाहरू पनि धेरैजसो त बाहिरिने प्रक्रियामा नै रहेका छन्। हुन पनि राज्यसँग मात्र होइन हरेक खेलाडीले आफैसँग प्रश्न गरिरहेका छन्- ‘यसरी खेलेर के हुन्छ?’
‘ए’ डिभिजन लिगमा खेलिरहेका नेपाली खेलाडीहरू लिगभरिका लागि ५० हजार रूपैयाँदेखि २ लाख ५० हजार रूपैयाँसम्ममा क्लबहरूसँगको सम्झौतामा छन्। ‘राष्ट्रिय टिममा खेलिरहेका हामी केही खेलाडीले लिगमा २ लाखभन्दा माथि पाएका छौँ भने अन्य खेलाडीहरूको अवस्था त झनै कमजोर छ’, राष्ट्रिय टिमका एक खेलाडीले भने, ‘अहिलेको अवस्थामा अन्य व्यवसायिक लिगहरू पनि निश्चित छैनन्। भएकै लिगमा पनि सामान्य सम्झौताले खेलाडी टिक्नसक्ने अवस्था छैन।’
‘ए’ डिभिजन लिगमा रहेका १४ क्लबहरूमा आवद्ध भएका केही विदेशी खेलाडीहरूले भने नेपाली खेलाडीको तुलनामा राम्रै रकम पाइरहेका देखिन्छन्। उदाहरणका लागि लिगको साविक विजेता मच्छिन्द्रले भुटानी खेलाडी चेन्चो ग्याल्सेनलाई ५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। भुटानी रोनाल्डोको नामले दक्षिण एसियाली फुटबलमा चर्चामा रहेका चेन्चो नै नेपाली लिगका लागि अहिले उदाहरणीय सम्झौता गर्न सफल खेलाडी हुन्। तर उनी चोटका कारण लिग छाडेर गइसकेका छन्। अन्य विदेशी खेलाडीहरू १ हजारदेखि ३ हजार अमेरिकी डलरसम्मको सम्झौता गर्नेहरू छन्।
देशमा सधैँ उपेक्षामा परिरहेको खेल क्षेत्रबाट खेलाडी पलायन रोक्ने र खेलेरै बाँच्नसक्ने वातावरण बनाउनतिर लाग्नुपर्ने समयमा अर्थतन्त्रको कमजोर छायाले नेपाली फुटबललाई छोपिरहेको छ। यस्तोमा नेतृत्व वर्ग ‘सबैतिर यस्तै अवस्था छ’ भन्दै उम्किन भने पाउनु हुँदैन।