आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

रुप्से झरनामा बढे आन्तरिक पर्यटक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २ २०७९
images
रुप्से झरनामा बढे आन्तरिक पर्यटक
images
images

म्याग्दी- उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने आकर्षकस्थल रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण यहाँको रौनक बढ्दै गएको छ।

images
images
images

बेनी-जोमसोम-कोरला सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत पर्ने यस झरनामा रमाउन विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटकका कारण झरनामा भीड बढ्न थालेको छ। मुस्ताङ भ्रमणमा आउने प्रायः सबै पर्यटकले रुप्से झरनामा केही समय बिताउने गरेका छन्।

images
images

मोटरसाइकल र निजी तथा भाडाका सवारी साधनबाट मुस्ताङ आउने-जाने पर्यटकको रोजाइमा रुप्से झरना पनि पर्ने गरेको छ। दुई वर्षअघि आएको भीषण बाढी र गत वर्षको पहिराले रुप्से झरना नजिकका पर्यटकीय पूर्वाधार बगाएको थियो। अग्लो पहाडबाट खस्ने यस झरनामा नजिकका ढुङ्गा र झरनाको पानीमा पर्यटकले तस्बिर खिचाउने र टिकटक बनाउने गरेका छन्।

images
images

पूर्वाधार निर्माणसँगै चिटिक्क परेको रुप्से झरनालाई गत वर्ष बाढीले क्षति पुर्‍याए पनि कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएपछि रुप्सेमा रमाउन आएका पर्यटकका कारण यो झरना पुनः पुरानै लयमा फर्किएको हो। विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन्। उक्त झरना र अन्धगल्छीमा पर्यटकीय महत्वको भए पनि यसबाट स्थानीयवासीले उचित लाभ लिन भने सकिराखेका छैनन्। पर्यटकलाई निःशुल्क अवलोकन गर्न दिइँदा लाभ लिन नसकेको स्थानीयवासीले बताएका छन्।

झरनामा रमाउनका लागि आएका पर्यटक सडकमा नै गाडी रोकेर झरनाको अवलोकनमा मुग्ध बनेपछि सडकसमेत अवरुद्ध हुने गरेको छ। झरना र गल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग र अवलोकनका लागि भ्यू टावरका साथै अवलोकनकर्ताका लागि उचित बास र शौचालयको समेत व्यवस्था हुनुपर्ने पर्यटकको माग छ।

विसं १९७५ मा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिए पनि अहिले उक्त टिकट प्रचलनमा छैन। साविकको दाना गाविसले झरना र अन्धगल्छीको मुख्य भागसम्म पुग्ने पदमार्ग तथा भ्यू टावर निर्माण गरेको छ।

अन्नपूर्ण गाउँपालिका पूर्वप्रमुख क्या डमबहादुर पुनले आधारभूत आवश्यकताका पूर्वाधार विकासमा गाउँपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गरेर रुप्सेको सौन्दर्यलाई जीवन्त राख्ने योजना ल्याउनुपर्ने बताए। झरनामा कान्छा भूमेदेवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा स्थानीयवासीले बोका बलि चढाउने गर्छन्। झरनालाई धार्मिक दृष्टिकोणले समेत पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना देखिएको छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर २ २०७९०९:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend